शहीद पत्रकार सिंहको स्मृतिमा अक्षयकोष स्थापना हुने

सोमवार, पुस २८, २०७६



जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले दिवंगत सञ्चारकर्मी उमा सिंहको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ ।

उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कोषमा रु पाँच लाख प्रदान गरिने भिजिट मधेशद्वारा आइतबार जनकपुरमा आयोजित कार्यक्रममा जानकारी दिए । उनले ‘कर्मवीर योद्धा’ सिंहको स्मृतिमा अक्षयकोष स्थापना गरिने जानकारी दिँदै स्वतन्त्र तथा निष्पक्ष रुपमा कलम चलाउनेलाई सम्मान प्रदान गरिने बताए ।

जनकपुरस्थित रेडियो टुडेमा कार्यरत सिंहको २०६५ पुस २७ गते राति हत्या गरिएको थियो ।

सिरहाको महेशपुर गाउँकी उमाले लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता श्हूरु गरेकी थिइन् । पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने तथा राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा समेत टिप्पणी गर्न सक्ने क्षमता रहेको सिंहले मधेशमा पत्रकारिता क्षेत्रमा लाग्ने नवप्रवेशीहरुको लागि एउटा उदाहरण प्रस्तुत गरेर यो संसारबाट विदा भइन् ।

रेडियो टुडे, हिमालिनि म्यागजिनसहितका मिडियामा प्रायः महिला हिंसा र अन्यायमा परेकाबारे लेख्ने पत्रकार उमा सिंह सिरहा जिल्ला निवासी थिइन् ।

अहिलेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित गोविन्द कार्कीको घरमा डेरा लिएर बस्दै आएका उमा सिंहलाई २०६५ पुस २७ गते राती करिब ७ः३० बजेको समयमा एक समूहले आक्रमण गरेको थियो । आक्रमणकारीले सिंहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी सख्त घाइते बनाएका थिए । आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाम १ मिल्स एरियास्थित केयर मेडिकलमा उपचारको लागी ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई काठमाडौँ लग्ने क्रममा बाटोमै मृत्यु भएको थियो ।

रेडियो टुडेमा कार्यरत सिंहलाई उनकै भाउजू ललिता सिँहले जग्गाको लोभमा हत्या गराएको ठहर भइसकेको छ । यता, धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइ सकेको छ । यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए । धनुषा प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत् ज्यान सम्बन्धी महलको १३ /४ बमोजिम जन्मकैदको सजाय माग गरेको थियो । सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेपछि न्यायाधीश थापाले यादवलाई घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

२०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । ती दुवै जना अहिले जलेश्वर कारागारमा छन् । त्यसैगरी न्यायाधीश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments