४७ वर्षपछि औपचारिक रुपमै ईयूबाट बाहिरियो बेलायत

शनिबार, माघ १८, २०७६



लन्डन । युरोपियन युनियन (ईयू)बात बेलायत औपचारिक रुपमा अलगिएको छ । ईयूको सदस्य बनेको ४७ वर्षपछि बेलायत औपचारिक रुपमा बाहिरिएको हो ।

सन् २०१६ देखि तीन प्रधानमन्त्री, ब्रेक्जिटका विषयमा संसदमा कैयौंपटक मतदान र करिब साढे तीन वर्षको लामो संघर्षपश्चात बेलायत ग्रीनवीच समय अनुसार शुक्रबार राति ११ बजे अर्थात नेपाली समय अनुसार शनिबार बिहान ४: ४५ बजे औपचरिक रुपमा ईयूबाट बाहिरिएको हो ।  यससँगै बेलायत ईयूबाट बाहिरिने पहिलो मुलुक समेत बनेको छ ।

 प्रधानमन्त्री बोरिस जोनसनले  बेलायत ईयूबाट अलग भएपछि “नयाँ युगको सुरुवात” लाई स्वागत गरेका छन् । उनले भने, “यो धेरै मानिसहरुका लागि आशा र उमंगको एक आश्चर्यको क्षण हो जसको बारेमा उनीहरुले कहिल्यै सोचेका थिएनन् ।” उनले अझ थपे, “निश्चित रूपमा एक तेस्रो समूह पनि छ जो सबैभन्दा अधिक चिन्तामा थियो आखिर यो राजनीतिक गतिरोध कहिले सकिन्छ या सकिँदैन भनेर । म सबैको भावनाको कदर गर्छु र मेरो यो खास जिम्मेवारी देशलाई अघि बढाउनु हो ।”

प्रधानमन्त्री जोन्‍सनले ईयूका २७ मुलुकसँगको सम्बन्धलाई “वास्तविक राष्ट्रिय नवीकरण र परिवर्तनको क्षण” का रूपमासमेत व्याख्या गरेका छन् ।

ईयूबाट बेलायत अलग भएपछि देशका विभिन्‍न ठाउँमा स्वागत र्‍याली निकालिएका छन् भने केहीस्थानमा विरोधहरुसमेत भएको छ । ईयूबाट आजैदेखि बेलायतको झण्डा हटाइएको छ ।

बेलायतले ११ महिना संक्रमणकालीन अवधिको सामना गर्नुपर्ने छ । सन् २०२० को डिसेम्बरसम्ममा बेलायतमा केही ईयूका कानुनहरु लागु हुनेछन् । उक्त समयमा नियमको व्यापार, यात्रा र व्यवसायसम्बन्धी अधिकांश कानूनलाई पालना गर्नुपर्नेछ ।  यो विषयमा ईयू र बेलायतबीच यसअघि नै सम्झौता भइसकेको छ ।

बहिर्गमन हुनभन्दा करिब एक घण्टा पहिले प्रधानमन्त्री बोरिस जोसनले अर्को हप्ता बेलायतको भावी व्यापार सम्झौताको लागि वार्ता प्राथमिकताहरू खुलासा गर्ने अपेक्षा गरिएको छ ।

जोन्सनले आफ्नै एजेन्डालाई डिसेम्बरमा निर्वाचित भएपछि बेलायतलाई आफ्नै कार्यकालमा स्वतन्त्र बनाउन सफल भएका छन् । जोन्सन सन् २०१६ देखि नै बेलायतलाई अलग गर्नुपर्ने पक्षको नेतृत्व गर्दै आएका थिए ।

यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले संयुक्त अधिराज्यसँग सकेसम्म राम्रो सम्बन्ध कायम होस भन्ने चाहेको बताएका छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments