आज उधौली पर्व, योमरी पूर्णिमा र धान्य पूर्णिमा मनाइँदै

बिहिबार, मंसिर २६, २०७६



काठमाडौं । आज उधौली पर्व,  युमरी पुन्हि(योमरी पूर्णिमा) र धान्य पूर्णिमा मनाईंदैछ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व मनाउने गरिएको छ ।

युमरी पुन्हि(योमरी पूर्णिमा) :

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । उपत्यकाका नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

सम्बन्धित छवि

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

धान्य पूर्णिमा :

पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ ।

धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

उधौली पर्व :

उसैगरी आजैका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो र अब खाद्यान्न अभाव नहोस् भनेर भूमेस्थान र साकेला स्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्त रूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।

किरात समुदायको संस्कृतिमा अध्ययनरत कीर्तिकुमार दुमी राईका अनुसार प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने चलन पनि हुन्छ । बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

लिम्बुहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किरातहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments