उद्योग मन्त्रालयभित्रको भूमिगत कार्यालय

बुधबार, पुस २३, २०७६



माओवादी पृष्ठभूमिका भए पनि अत्यन्त सज्जन र भद्र मानिने नेता लेखराज भट्टले उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयको कार्यभार सम्हालेपछि उनको भद्रपनको फाइदा उठाउँदै एक व्यक्तिले काठमाडौंको ल्याण्डमार्क होटलबाट मन्त्रालयको काम गरिरहेको जानकारी प्राप्त भएको छ । दरबारमार्गस्थित ल्याण्डमार्क होटलबाट उद्योग मन्त्रालयको काम गर्ने इलामका प्रकाश ढकाल नामका व्यक्ति भएको खुलेको छ ।

ढकाल पहिले गणेशमान पुन आपूर्तिमन्त्री हुँदा पुनको पीएका रुपमा काम गर्थे । त्यसबेला नेपालका ठूला उद्यमी तथा व्यापारीहरुसँग राम्रो हिमचिम बनाएका उनले लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री भएपछि ल्याण्डमार्क होटलमै बसेर मन्त्रालयका अनौपचारिक काम गर्न थालेका छन् ।

ढकालले सुवास संङ्घइदेखि मनोज गोललगायतका व्यापारीहरुलाई होटलमा बोलाएर डील गर्ने गरेका छन् । पछिल्लो समयमा त्यहाँ उद्योग मन्त्रालयको सचिवसँग कर्मचारीहरुको आउजाउ हुन थालेको देखिएको छ । एक समयमा मन्त्री गणेशमान पुन ढकालको वरिपरि घुमिरहन्छन् र नचिन्नेहरुले उनी ढकालको बडीगार्ड भएको ठान्दछन् ।

प्रकाश ढकालले व्यापारीहरुसँग आफैंले लेखराजजीलाई केटीकाण्डबाट जोगाइदिएको हुनाले जे भन्यो त्यही गर्ने स्थितिमा रहेको भनी प्रभाव पार्ने गरेको सम्बद्ध व्यापारीको भनाइ छ । गणेशमान पुन आपूर्तिमन्त्री हुँदा निजी क्षेत्रलाई इन्धन आयातको लाइसेन्स दिने निर्णय गराउँदै दर्जनौं व्यक्तिबाट करोडौं रुपैयाँ उठाएको चर्चा चलेको थियो ।

यिनै ढकालले करोडौं रुपैयाँ लिएर जथाभावी लाइसेन्स वितरण गरेको सूचना पाएपछि सुशील कोइराला हटेर केपी ओली प्रधानमन्त्री बनेलगत्तै सरकारले सबै लाइसेन्स रद्द गरिदिएको थियो । ढकालले व्यापारीहरुबाट उठाएको रकम अझै फिर्ता गरिसकेका छैनन् । मन्त्री लेखराज भट्टबाट काम मिलाइदिएर रकम कट्टी गर्ने योजनाअनुसार ढकालले व्यापारीसँग कुरा मिलाएका छन् ।

कुनै राम्रो पृष्ठभूमि नभएका ढकालले आयल निगममा कति प्रभाव पारेका छन् त भने, आफ्नो घरमा काम गर्न राखेकी एक युवतिको तलबसमेत निगमबाटै बुझ्ने व्यवस्था मिलाइदिएका छन् । पूर्व राष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार सूर्य ढुंगेलसमेत यि ढकालबाट ठगिएको र हालसम्म फसेको दुई करोड रुपैयाँ उठाउन नसकेको बताइन्छ ।

जे होस् अहिले ल्याण्डमार्क होटलबाट समानान्तर उद्योग मन्त्रालय चलाइरहेका ढकालका क्रियाकलापप्रति लेखराज समयमै सचेत हुन सकेनन् भने, यसबाट भट्टको करियरमै ठूलो धक्का लाग्ने देखिन्छ । घटना र विचार साप्ताहिकबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments