तालिबानसँगको शान्ति सम्झौताबाट पछि हटे राष्ट्रपति ट्रम्प

आइतवार, भदौ २२, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको तालिवान समूहसँगको शान्ति प्रक्रिया रद्ध गरिएको घोषणा गरेका छन् ।

ट्रम्पले एक पछि अर्को ट्विट गर्दै क्याम्प डेभिड(मेरिल्याण्डमा रहेको अमेरिकी राष्ट्रपतिको रिट्रिटस्थल))मा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँगको एक गोप्य बैठकमा भाग लिने कार्यक्रम समेत रद्द गरेको जानकारी दिएका छन् ।

यसअघि अमेरिकी संझौताकार जाल्मे खालीजादले सैद्धान्तिक रुपमा शान्ति प्रक्रिया सहमतिको नजिक पुगेको जनाएका थिए ।

प्रस्तावित शान्ति सम्झौताअनुसार २० हप्ता सम्ममा ५ हजार ४०० अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गरिने जनाइएको बताइएको थियो । तर, सहमतिलाई अन्तिम रुप दिनका लागि राष्ट्रपति ट्रम्पबाट अनुमति लिन बाँकी रहेको संझौताकारले जनाएका थिए ।

गएको बिहीबार काबुलमा भएको बम बिस्फोटमा एक अमेरिकी सैनिकसहित करिब एक दर्जन मानिसको मृत्यु भएको थियो । बिहीबारको आक्रमणले अमेरिकासँगको सहमतिका बावजुद अफगानिस्तानमा हिंसा नरोकिने डर उत्पन्न भएको थियो ।

अमेरिकाले सन् २००१ मा अफगानिस्तानमा हस्तक्षेप गरेपछि सबैभन्दा बढी भूभागमा अहिले तालिवानको नियन्त्रण रहेको छ ।

सो समूहले अहिलेको अफगान सरकारलाई अमेरिकी ‘पपेट’ भनेर उसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अमेरिका र तालिवानबीच अफगान सरकारको सहभागिताबिना नै गएको सन् २०१८ देखि शान्ति प्रक्रिया चलिरहेकोे थियो । यस क्रममा दुई पक्षबीच कतारको दोहामा ८ चरणसम्मका वार्ता भएका थिए ।

हाल अफगानिस्तानमा १४ हजार अमेरिकी सेना र नेटो समर्थित ३९ राष्ट्रका १७ हजार सेना रहँदै आएका छन् । वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र सहमति नजिक पुगेको दुवै पक्षले हालै बताएका थिए ।

(बीबीसी तथा अन्य एजेन्सी)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata