ट्रम्प बने दक्षिण कोरियाली भूमीमा पाइला राख्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति

सोमवार, असार १६, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको भूमीमा पाइला राख्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति भएका छन् । दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग  सीमावर्ती गैरसैन्य क्षेत्र पानमुनजोम पुगेर भेटवार्ता गरेका हुन् ।

पानमुनजोम पुगेका उनले उत्तर कोरियाली भूमिमा टेकेर किमसँग छलफल गरेसँगै यो भेटवार्तालाई ऐतिहासिक रुपमा हेरिएको छ । जी–२० शिखर सम्मेलनका लागि जापान आएका ट्रम्पको दक्षिण कोरिया भ्रमणको कार्यक्रम तय भएपनि उत्तर कोरियाली नेतासँग अकस्मात योजना बनेर भेट भएको हो ।

नेता किमले आफूले यस क्षेत्रमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट हुने कुरा आफूले नसोचेको बताएका छन् । अचानक अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग भेट गर्ने प्रस्ताव गरेपछि यो भेटवार्ता सम्भव भएको हो ।

ट्रम्प र किमबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा भेटवार्ता भएपनि कुनै सहमतिमा पुग्न नसकेर वार्ता अवरुद्ध भएपछि पहिलो पटक भेट भएको हो ।

पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले यो ‘ऐतिहासिक क्षण’ भएको र दुई कोरिया विभाजन भएको स्थान पार गरेर उत्तर कोरिया जाँदा आफूलाई गर्व लागेको बताएका छन् । दुई नेताबीचको भेटमा गत फेब्रुअरीदेखि अवरुद्ध रहेको दुई देशबीचको शिखरवार्ता पुनः शुरु गर्ने सहमति भएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata