ट्रम्पमाथिको महाअभियोग छानविनका क्रममा सांसदद्वारा हुलहुज्जत

बिहिबार, कार्तिक ७, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको छानविन गरिरहेको संसदीय समितिमा रिपब्लिकन सांसदले हुलहुज्जत गरी अवरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेमोक्रेट सांसदहरुको नेतृत्वमा रहेको छानबिनको बन्दसत्रमा पेन्टागनकाएक वरिष्ठ विज्ञले बयान दिन लाग्दा २० भन्दा बढी रिपपब्लिकन सांसदहरूले हुलहुज्जत गरी अवरोध गरेका हुन् ।

रिपब्लिकन सांसदहरू समितिबाट बाहिर निस्किएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदले उनीहरूमाथि राष्ट्रिय सुरक्षामा सम्झौता गरेको आरोप लगाएका छन्। महाभियोगसम्बन्धी छानबिन गरिरहेको समितिले राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीबाट हटाउने प्रयास गरेको रिपब्लिकन सांसदहरूको आरोप छ । सो समितिमा दुवै दलका सांसद सदस्य रहेका छन् ।

डेमोक्रेटहरुले रिपब्लिकनहरूले रुस र चीनलाई सहयोग गरिरहेको आरोप समेत लगाएका छन् । हुलहुज्जतका कारण अवरोध भएपछि पाँच घण्टाको ढिला गरी समितिले एक साक्षी पेन्टागनकी लौरा कुपरसँग मात्रै बयान लिएको थियो ।

राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझमा कठोर हुन र त्यसविरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेपछि संसदमा यस्तो घटना भएको हो ।

डेमोक्रेटिक सांसद टेड ल्यूले ट्रम्पले भूतपूर्व उपराष्ट्रपति जोए बिडेनविरुद्ध अनुसन्धान गर्ने विषयमा ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई दबाब दिएकोबारे कुपरसँगको बयानले थुप्रै प्रमाणको खुलासा गर्ने भएकाले रिपब्लिकनहरू त्रसित भएको बताएका छन्।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा बिडेन ट्रम्पका सम्भावित प्रतिद्वन्द्वी हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments