सिनेटले दियो ट्रम्पलाई महाभियोगबाट सफाई

बिहिबार, माघ २३, २०७६



एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । डेमोक्रेटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित भएपनि अमेरिकी सिनेटबाट महाअभियोगको प्रस्ताव बिफल भएको हो । सिनेटमा रिपब्लिकनको बर्चस्व रहेको छ ।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२ र विपक्षमा ४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३ र विपक्षमा ४७ मत पाएका थिए ।

विपक्षी डेमोक्रेटहरुले गत डिसेम्बरमा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वार जोए बाइडनलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि महाअभियोग लगाएका थिए।

आगामी नोभम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उनी महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्। सिनेटमा गएराति भएको मतदानले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका विषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्रेटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो ।

नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोजिरहेका ट्रम्पले आफूमाथि लागेका आरोप गलत रहेको बताउँदै आएका छन् ।

ट्रम्पको चुनावी अभियानले एक वक्तव्यमा भनेको छ, ‘राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त भएका छन् र यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो। केही नगर्ने डेमोक्रेटहरूलाई थाहा छ कि उनीहरूले ट्रम्पलाई उछिन्न सक्दैनन् त्यसैले उनीहरूले महाभियोग लगाएका थिए।’

माथिल्लो सदन सिनेटबाट महाभियोग पारित हुन दुई तिहाई मत आवश्यक पर्छ ।

संसद्‌को तल्लो सदनकी डेमोक्रेटिक सभामुख न्यान्सी पेलोसीले भने ट्रम्प अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको भन्दै सिनेटका रिपब्लिकनहरूले कानुनहिनतालाई सामान्यीकरण गरेको प्रतिक्रिया दिएकी छन् ।

सन् २०१२ मा राष्ट्रपति पदका उम्मेद्वार भइसकेका रिपब्लिकन सांसद मिट रोमनीले ट्रम्पमाथि लागेको शक्तिको दुरूपयोग अभियोगमा उनीविरूद्ध मत हालेका थिए।

डेमोक्रेटहरूले आशा गरे बमोजिम दुईजना मध्यमार्गी रिपब्लिकनहरू सुसन कोलिन्स र लीसा मोर्वास्कीले ट्रम्प विरूद्ध लाग्न रोमनीलाई साथ दिएनन् ।

सिनेटमा डेमोक्रेटतर्फका नेता चक सुमरले रिपब्लिकनहरूले सुनुवाइका क्रममा साक्षी झिकाउन अस्वीकार गरेकोले यो सफाइ मूल्यहीन भएको प्रतिक्रिया दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments