तीन या चार हप्ताभित्र उत्तर कोरियासँग वार्ता हुन्छ– राष्ट्रपति ट्रम्प

आइतवार, बैशाख १६, २०७५



वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन् ।

मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ ।

यसअघि पनि उनले गत महिना मात्र उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रुपमा सफल हुने धारणा सार्वजनिक गरेका थिए ।

राष्ट्रपति ट्रम्पले यो घोषणा गरिरहँदा यता ह्वाइट हाउसले पनि सो वार्ताको पुष्टि गरेको छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको छ र सो वार्ताको मिति चाँडै तय गरिने छ ।

हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्धअन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समचार यसअघि नै आएको छ । यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग फोन वार्ता गरेका छन् ।

सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भएको फोनवार्तापछिको पछिल्लो प्रगतिको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसद्वारा प्रेषित एक विज्ञप्तिमा जनाइएको समाचारमा उल्लेख छ ।

सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले गएको शुक्रबार भएको दुई कोरियाली उच्च नेताबीचको सहमति र सम्झौताका साथै उत्तर कोरियाको पछिल्लो अडान र मनस्थितिको बारेमा कुराकानी गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

त्यसैगरी राष्ट्रपति ट्रम्पले यसै विषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबेसँग पनि फोन वार्ता गरेका छन् ।
शनिबार बिहान भएको सो वार्तामा विशेषगरी उत्तर कोरिया र दक्षिण कोरियाबीचको हालै भएको भेटवार्ता र सम्झौताका बारेमा कुराकानी भएको वासिङ्टनबाट प्राप्त भएको एक समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सिको कामना

उता चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताको सफलताको कामना गरेको प्राप्त अर्को एक समाचारमा जनाइएको छ ।

सो समाचारअनुसार यी दुई देशबीच हुने भनिएको आगामी वार्ता प्रगतिउन्मुख होस् भन्ने कामना गर्दै राष्ट्रपति सिले सो वार्ता छिट्टै आयोजना गर्न पनि आग्रह गरेका छन् ।

उनले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गरेको माचारमा जनाइएको छ ।

उत्तर कोरियाली नेता जापानसँग वार्ता गर्न इच्छुक

यसैगरी उत्तर कोरियाली नेता उन जापानसँग पनि वार्ता गर्न इच्छुक रहेको प्राप्त अर्को एक समाचारअनुसार जनाइएको छ ।

उत्तर कोरियाली नेता उन जापानसँग पनि कुनै पनि समयमा आफू वार्ता गर्न तयार रहेको कुरा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको वार्ताका क्रममा जनाएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति इनसँग गएको शुक्रबार भएको सो वार्ताका क्रममा उत्तर कोरियाली नेता उनले आफू जापानसँगको वार्ताका लागि इच्छुक रहेको र त्यसका लागि उत्तर कोरियाले आन्तरिक तयारी पनि गरेको जानकारी गराउनुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank