टर्की कुर्दमाथि आक्रमण रोक्न सहमत

शुक्रबार, कार्तिक १, २०७६



एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टर्की उत्तरी सिरियामा आफ्नो सैन्य अभियान रोक्न सहमत भएको बताएका छन् । यसबाट कुर्द नेतृत्वका लडाकूलाई पछि फर्किन सजिलो हुने उनको भनाई छ ।

अंकारामा पेन्सले टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानसँगको भेटपछि यो घोषणा गरेका हुन् । उनले टर्कीले आगामी ५ दिनका लागि सबै सैन्य अभियान स्थगित गरेको र अमेरिकाले कुर्द लडाकूलाई व्यवस्थित तरिकाले पछि फर्काउन सहयोग गर्ने बताए ।

अमेरिकाले टर्कीले कुर्द लडाकूलाई हटाएर ‘सेफ जोन’ बनाउन चाहेको क्षेत्रबाट हटाउन सहयोग गर्ने वचन दिएको हो । टर्कीले गत साता उत्तरी सिरियामा कुर्द लडाकूमाथि हमला शुरु गरेको थियो ।

टर्कीले आफ्नो आक्रमणको उद्देश्य कुर्द बललाई सीमा क्षेत्रबाट पछि धकेलेर सिरियाली शरणार्थीका लागि सुरक्षित स्थान बनाउने बताउँदै आएको छ । पेन्सको घोषणाअघि अमेरिकी राष्ट्रपतिले अर्दोगानसँगको सहमतिले लाखौंको ज्यान बच्ने भन्दै अर्दोगानलाई धन्यवाद दिएका थिए ।

टर्कीका विदेशमन्त्री मेभलुत चाभूलुतले कुर्द लडाकू सो क्षेत्रबाट हटेमा टर्कीले स्थायी रुपमा आक्रमण रोक्ने बताएका छन् ।टर्कीले सैन्य आक्रमण अन्त्य गरेमा टर्कीमाथि लगाएको आर्थिक प्रतिबन्ध हटाउने र थप प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि जनाएका छन् ।

अमेरिका र टर्कीबीचको बैठकलाई लिएर कुर्द लडाकूको कुनै प्रतिक्रिया आएको छैन । टर्कीले आक्रमण गरेपछि कुर्द लडाकूले सिरियाली सेनासँग सहमति गरेपछि सन् २०१२ पछि पहिलो पटक सरकारी सेना सो क्षेत्रमा उपस्थित भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata