ट्रकले ठक्कर दिँदा दुईको मृत्यु

आइतवार, पुस २०, २०७६



झापा  । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।

दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।

पन्ध्र सडक बालबालिकाको उद्धार

झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ । प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत दमकबाट एकैसाथ १५ सडक बालबालिकालाई उद्धार गरिएको हो ।

बालबालिकाको उद्धार गर्न प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित अधिकारी दमकको चोक, बजारका सडकमा पुग्नुभएको थियो । सडक बालबालिकालाई नेपाल प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रको सहयोगमा उद्धार गरिएको जनाइएको छ ।

उद्धार टोलीमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, दमक प्रहरी प्रमुख विजयराज पण्डितलगायत सहभागी थिए । प्रदेशलाई सडक बालबालिकामुक्त बनाउने अभियान शुक्रबार धरानबाट शुरु भएको र प्रदेशका मुख्य शहरमा त्यस अभियान सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव राईले बताए ।

उद्धार गरिएका सडक बालबालिकालाई पुनःस्थापना र पुनःवास कार्यक्रमअन्तर्गत पुनः सडकमा आउन नदिने अभियानको लक्ष्य रहेको उनको भनाइ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments