तृप्त ताल

मङ्लबार, मंसिर १०, २०७६



मैले पाएँ
नीलो निम्ता–पत्र
तिम्रा छालहरूको
र बादलु कछारलाई क्षितिजमा

झुन्ड्याएर–मैले
हाम्फालेँ तिम्रो जलमाथि
डुबुल्की मारेँ तिम्रो
गहिर्याइभित्र आकाशजस्तै
सिङ्गै आकाशजस्तै नाङ्गै
समाविष्ट गर्यौ त तिमीले पनि
सम्पूर्ण मलाई आफूमा

आफूभित्र
कुहिरोहरू पन्छाएर
छालजस्तै उर्लिएर
तालजस्तै उदाङ्गिएर,
नाङ्गिएर
कति सन्तुष्ट हाँसो छर्दै छ अब
मेरो ज्वारमुक्त सूर्य तिम्रो अँगालोमा
अब मलाई मेरो चट्याङ चुटुङहरूले पोल्दैनन्
बिलाइसके तिम्रा अज्ञात कुराहरूभित्र
तिम्रा चञ्चल माछाहरू
अब तिम्रो शीत जललाई उनीहरूले
छिचोल्दैनन्।

उठेर फर्किनु परे अनि मैले आफ्नो
पूर्वस्थानमा अब म अशान्त हुन्न
असन्तुष्ट हुन्नँ,
कि म स्पष्ट देखिरहेछु
तिमी भित्र मेले कुँदेको
मेरो आफ्नो प्रतिबिम्ब
चलमलाई रहेको
मेरो आफ्नो छाया
सलबलाइरहेको।

– भूपी शेरचन

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata