धनाढ्य कर्मचारी युनियन

शुक्रबार, भदौ २९, २०७५

काठमाडौं ।  कर्मचारीका ट्रेड युनियनहरू प्रशासन क्षेत्रमा शक्तिशाली मात्रै होइनन्, आर्थिक हिसाबले धनाढ्य समेत छन्। राजधानीको मुटु बबरमहलमा चार युनियनका साढे पाँच तलासम्मका भवन छन्।

तत्कालीन एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको सिंहदरबार दक्षिण गेटनजिकै एक रोपनी जग्गामा फैलिएको झन्डै साढे दुई करोडको ४ तले भवन छ। संगठनको विभिन्न बैंकमा २२ लाख ब्यालेन्स छ।

तत्कालीन माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको बबरमहल क्षेत्रमा नै झन्डै १ रोपनीमा बनेको १ करोड २५ लाखको ४ तले भवन छ। कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को बबरमहल वन परिसरमा झन्डै एक करोडको दुईतले भवन छ। युनियनले साढे तीन तलाको भवन बनाउने योजना राखेको छ।

बबरमहलको वन परिसरभित्रै मधेसी दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चको करोडौं मूल्यको साढे पाँचतले भवन छ। यो मञ्चले नियमविपरीत आफ्नो भवनमा राष्ट्रिय जनता पार्टीलाई भाडामा लगाइरहेको छ।

दलनिकट चार संगठनलाई सरकारले २०६८ सालमा भोगाधिकारसहित १÷१ रोपनी जमिन उपलब्ध गराएको थियो। आधिकारिक ट्रेड युनियनको भने आफ्नो जग्गा र घर छैन। उसलाई सरकारले सिंहदरबारभित्रै एउटा कोठा दिएर राखेको छ।

दलनिकट युनियन उच्च तहका राजनीतिक नेतृत्व, प्रशासकदेखि ठेकेदारहरूसम्म पहुँच र प्रभाव राख्छन्। आकर्षक ठाउँमा निकटका कर्मचारी सरुवा गर्ने तथा उनीहरूसँग नियमित मासिक रकम असुल्ने गरेको युनियन नेतृत्वमाथि आरोप छ। युनियन नेताहरू भने आम्दानीको स्रोत खुलाउन चाहँदैनन्।

करोडौंको भवन बनाउँदा उनीहरूले ठेकेदारसँग लाखौ रूपैया चन्दा लिने गरेको बताइन्छ। ट्रेड युनियनका नेताहरूले युनियनको लेखापरीक्षण नियमित गर्ने गरिएकाले पारदर्शी बनाइएको दाबी गरेका छन्। कर्मचारीबाट उठाइने लेबी, शुभचिन्तकको सहयोग र चाडपर्वमा खेलाइने चिट्ठालाई उनीहरूले आम्दानीको मुख्य स्रोत बताउने गरेका छन्।

एमालेनिकट संगठनले झन्डै ३५ हजार कर्मचारी आफ्नो संगठनमा आबद्ध रहेको दाबी गरेको छ। अध्यक्ष देवकोटाले संगठनको मुख्य आम्दानी नै लेबी र चिट्ठा कार्यक्रम भएको बताए। उनले भने, ‘संगठनको सबै आम्दानी र खर्च हामीले सार्वजनिक गर्ने गरेका छौँ।’ अन्नपूर्णपोष्टबाट

25 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank