भ्रष्टाचारको सूचीमा नेपाल १२२ औं स्थानमा

बिहिबार, फाल्गुन १०, २०७४



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लिएको छ।

१ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्ट्राचार नियन्त्रणका लागि एकदमै न्यून स्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ। यसअघि सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंक सहित १ सय ३१ ‍औं स्थानमा थियो।

राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सुचकांक तयार पारिने बताइन्छ। पछिल्लो प्रतिवेदनले सन् २०१६ को तुलनामा गएको वर्ष नेपाल ९ स्थान माथि उक्लिएको र दुई अंक बढी प्राप्त गरेको देखिएको छ।

ट्रान्सपरेन्सी इन्टनेश्नल नेपालका अध्यक्ष श्रीहरी अर्यालले भने, ‘अहिलेसम्म नेपालले प्राप्त गरेको सबैभन्दा बढी अंक ३१ हो, ३१ बाट बढेर हाम्रो ३२ हुनसकेको छैन। अझै पनि हाम्रो अवस्था भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा एकदमै नाजुक छ।’

सन् २०१३ को यस्तै सूचकांकमा नेपाल ३१ अंक सहित १ सय १६ औं स्थानमा रहेको थियो। ट्रान्सपरेन्सी इन्टरनेश्नलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ।

अर्यालले सन् २०१७ मा भएका तीन तहका चुनावका कारणले राजनीतिक क्षेत्रमा केही स्थिरता हासिल भएको अपेक्षासाथ नेपालले उक्त सूचकांकमा केही प्रगति गरेको बताए।

उनी भन्छन्, ‘हाम्रो विगतको अनुसन्धानले नेपालमा राजनीतिक क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार व्याप्त रहेको देखाएको थियो, पोहोर साल राजनीतिक क्षेत्रमा नेपालले एक सयमा जम्मा २१ अंक प्राप्त गरेको थियो। संविधान बन्यो। चुनावहरू भयो त्यसकारण अस्थिरता, अराजकताबाट केही प्रगति गरेको भनेर यस वर्ष राजनीतिमा पनि राम्रै अंक प्राप्त गरेको छ।’

उक्त प्रतिवेदनले भ्रष्टाचार नियन्त्रणका लागि विश्वव्यापी स्तरमा नै सुस्त ढंगले कदमहरू चालिएको भन्दै चिन्ता जनाएको छ। सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २९ स्थानमा रहेको छ।

भारत ८५ औं, श्रीलंका ९७ औं र माल्दिभ्स ११८ औं स्थानमा रहेका छन्। नेपाल दुई स्थान तल १२३ औं स्थानमा पाकिस्तान रहेको छ भने बांग्लादेश १४६ औं स्थानमा छ। पुछारबाट पाँचौ रहेको अफ्गानिस्तानले जम्मा १५ अंक प्राप्त गरेको छ र १ सय ८४ वटा देशमध्ये १८० औं स्थानमा रहेको छ।

बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments