सगरमाथाको उचाई नाप्न नेपाली प्राविधिक टोली आधार शिविर पुग्यो

बुधबार, बैशाख २५, २०७६



काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपाली सरकारी टोली आधार शिविर पुगेर आरोहणको तयारी गरिरहेको छ । उच्च हिमाली वातावरणसँग अनुकूल हुन त्यो टोलीका सदस्यले एक चरणमा सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन् । अब उनीहरू आरोहणका लागि उपयुक्त मौसमको प्रतीक्षामा छन् ।

नेपालको इतिहासमा सगरमाथाको उचाइ नाप्न लागिएको यो पहिलो पटक हो । यसपटक नेपाल सरकारले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी सगरमाथाको उचाइ नाप्दैछ । त्यसका लागि प्राविधिक टोलीले चुचुरोसम्मै पुगेर तथ्याङ्क सङ्कलन गर्नेछ । उक्त सरकारी टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । केही अन्य आरोहण सहयोगी पनि टोलीमा सहभागी छन् ।

को को जाँदैछन् चुचुरोमा ?

चार सरकारी कर्मचारीमध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको चुचुरोमै पुग्ने योजनामा छन् । चुचुरोमा जाने टोलीका सदस्यले ग्लोबल न्याभिगेशन स्याटलाइट सिस्टम (जीएनएसएस) नाम उपकरण लानेछन् । उक्त उपकरणले सगरमाथाको चुचुरोमा भू उपग्रहबाट पठाएका डेटा, तापक्रम, गुरुत्वाकर्षण, मौसमी तथ्याङ्क र आद्रतासम्बन्धी तथ्याङ्क सङकलन गर्नेछ ।

सन् २०११ मा निजामती कर्मचारी आरोहण दलको सदस्यका रूमा गौतमले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धितालले भने आधार शिविरमा बसेर उनीहरुलाई सहयोग गर्नेछन् । तयारीका क्रममा नापी विभागका प्रमुख नापी अधिकृत गौतम संयोजकत्वको चार सदस्यीय उचाइ मापन टोलीले ६,१८९ मिटर उचाइ अग्लो आइल्याण्ड पीक आरोहण गरिसकेको छ ।

काम कति सकियो ?

नापी विभागले भारतको बङ्गाल हुदै नेपाली भूभाग सिराह जिल्लाको माडारलाई केन्द्रविन्दु मानेर सम्पर्क स्थापित गरेको छ । जीएनएसएस उपकरणको सहयोगमा सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, भोजपुर लगायतका स्थानहरूमा विन्दुहरू कायम गरिएका छन् ।

एकीकृत तथ्याङ्क सङ्कलनका लागि ती विन्दु कायम गरिएको विभागले जनाएको छ । भू-बनोट, सतह मापन, उचाइ मापन, आधार विन्दु कायम गर्ने, स्थलतगत अवलोकन गरी हालसम्म झन्डै तीन सयवटा विन्दु कायम गरिएको नापी विभागका प्रमुख सुशील डङ्गोलले बताए ।

ती सबै विन्दुको तथ्याङ्क नापी विभागमा एकीकृत गरी सगरमाथाको आधिकारिक उचाइ सार्वजनिक गरिने उनले बताए । उनका अनुसार सगरमाथालाई मध्य भागमा राखेर चारै दिशातर्फ नियन्त्रण विन्दुहरू समेत कायम गरिएका छन् ।

लेभल मेसीन, जीएनएसएस मेसीन, ग्र्याभिमिटर आदि उपकरणको प्रयोग गरेर तल्लो क्षेत्रको उचाइ मापन गरिएको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रको तथ्याङ्क सङ्कलनको कार्य भइरहेको र झन्डै डेढ महिनाभित्र सबै विवरण सङ्कलन हुने डङ्गोलले बताए ।

यसअघि सन् १९५४ मा भारतको नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । उसले सगरमाथाको उचाइ समुद्र सतहदेखि ८,८४८ मिटर भएको बताएको थियो । अहिलेसम्म विश्वभरि त्यो उचाइ नै मान्य हुँदै आएको छ ।

त्यसपश्चात् पनि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका छन् । तर तिनले आधिकारिक मान्यता पाएका छैनन् ।

अन्तिम तयारी

सगरमाथाको उचाइ नाप्ने कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी विभागले काम अघि बढाएको थियो । सतही मापनको ७० प्रतिशत कार्य सम्पन्न भएको डङ्गोलले बताए । उनले भने,” सगरमाथाको चुचुरोमा पुगेर जीएनएसएस डाटा सङ्कलन र खुम्बु क्षेत्रका आठवटा स्थानको तथ्याङ्क लिने कार्य भइरहेको छ । यी कार्य पूरा भएपछि तथ्याङ्क एकीकृत गरेर रुजु गर्छौँ ।”

उनका अनुसार सगरमाथाको चुचुरोबाट जीएनएसएस उपकरणबाट डाटा आएमा आगामी पुष मसान्तभित्र परिणाम सार्वजनिक हुनेछ । वि.सं. २०७२ सालको ठूलो भूकम्प पश्चात् सगरमाथाको उचाइ के भयो होला भन्ने चासो धेरैमा देखिएको छ ।

-बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata