समय,गोल्छे र विकाश

बिहिबार, चैत्र १३, २०७६

- संञ्जय गाैतम



जिल्ला सदरमुकामदेखी बाह्र घण्टा पैदल हिँडेर पुगिने दुर्गम गाउँको गरिब परिवारको दुई छोरा मध्ये कान्छो छोराको रूपमा जन्मेको गोल्छे विक जन्मे टुहुरो थियो । गोल्छे आमाको पेटमा हुँदा बा को भारतमा रोजगारीको सिलसिलामा स्वर्गवास भएको थियो । बाको लाससम्म पनि गाउँमा नआएको र मृत्युको पछाडि मान्छे अनुसार फरक-फरक अडकल बाजी र ठोकुवा थियो । गोल्छेको गाँउमा खानेपानी , सडक , स्वास्थ्य चौकी तथा अन्य भौतिक पूर्वाधार केही पुगेको थिएन । विद्यालय पनि चार घण्टा पैदल हिँड्दा मात्र पुगिन्थ्यो ।

गोल्छे दश वर्षको हुँदा आमा एक हप्ता सम्म थला परिन । गोल्छेको दाजु वीरबहादुर मात्र तेह्र वर्षको थियो । गाउँमा अझै स्वास्थ्य चौकी पुगेको थिएन । गाउँले दबाई , झाँक्रीको झार फुक केही गर्दा पनि आमाको बिरामी बिसको उन्नाइस भएन । आखिर गाउँलेहरूले डोकोमा बोकेर सदरमुकाम अस्पताल लिएर हिँडे । तर आमाले बाटोमै प्राण त्यागिन् ।

तेह्र वर्षको वीरबहादुर गाउँको हली र बाउसे बन्नुको विकल्प थिएन । वीरबहादुर र गाल्छे दाजु भाइको सम्पत्तिको नाममा पुरानो खरले छाएको घर , एक हलको बारी । जीर्ण जस्तो सानो गोठ र गोठमा सानो पाडी मात्र थियो । पाडी पनि आमाको काज किरिया गर्दा बेच्नु पर्‍यो ।
वीरबहादुर गाउँको हली थियो  । उसले वल्लो पल्लो गाउँसम्म पुगी खेत बारी जोत्यो ।  वीरबहादुर सत्र वर्षको हुँदा ऋण गरी एक हल गोरु किन्यो तर गोरु किनेको। ऋण तिर्न नसकेर भारत तिर लाग्यो । अब घरको एक हल गोरु गोल्छेले समाल्न थाल्यो । घरको अवस्थाले गर्दा वीरबहादुर र गोल्छे दुवैले पढ्न पाएनन् । चौध वर्षको उमेरमा गोल्छे , दाजुको विडो धान्न बाध्य भयो । वीरबहादुर भारतमा पोर्टर काम गर्थ्यो , छ महिना ऊ गाउँमै बस्थ्यो । भारत गएर कमाउन थालेको दुई वर्षमै वीरबहादुरले विवाह गर्‍यो । दाइको विवाहमा जन्ती जाँदा गोल्छेलाई साली मन पर्‍यो । सालीको रूप स्वभाव बोल्ने शैली सबैले गोल्छेलाई आकर्षण गर्‍यो । आखिर दाजुको बिहे भएको दुई महिनामै गोल्छेले साली पुतली सँग प्रेम विवाह गर्‍यो ।

गोल्छे गाउँमा घरको गारो लगाउन र खेत जोत्न सिपालु भइसकेको थियो । विवाह भएको छ महिनामै वीरबहादुर र गोल्छेको खटपट भयो । अन्ततः उनीहरू छुट्टिने निर्णय गरे । गाउँको जेष्ठ पुरुषहरू भेला भई अंश वण्डा गरिदिए । गोल्छे गारो लगाउन सिपालु भएकोले साथै बाह्रै महिना गाउँमा हुने भएकोले उसलाई नयाँ घर बनाउन लगाई वीरबहादुरलाई बुढैली घर र गोल्छेलाई एक हल गोरु र गोठ भागमा पर्‍यो । एक हलको बारीमा भएका साना छ वटा फेहोटाहरु तीन-तीन वटा बाँडियो । साथै गोरु किन्दा रहेको ऋण तथा दाजुको बिहेमा भएको ऋण गरी असी हजार ऋणमा चालिस चालिस हजार भागमा पर्‍यो ।

गोल्छेले तत्काललाई स्याउलाले छाएको अस्थायी गोठ बनाइ , त्यही पुरानो गोठलाई मर्मत तथा लिपपोत गरी छाप्ने घरको रूप दिई त्यही बस्न थाल्यो ।  गोल्छे गाउँको हली बाउसे तथा भरिया भई गुजारा चलाउँथ्यो । सबैको नयाँ घर बनाउन सिपालु गोल्छेले आफ्नो नयाँ घर कहिल्यै बनाउन सकेँ । दाजुसँग छुटिदा अंश सँगै आएको चालिस हजारको , सयकडा दुईको व्याज तिर्दा र घर खर्च चलाउँदा उसको आम्दानी सकिन्थ्यो । उसले ऋणको सावा पनि घटाउन सकेको थिएन ।

गोल्छेको  एक छोरा र एक छोरी भए । गाउँमा परिवार नियोजनको बारेमा सुनेको त थियो । तर महिनामा तीन चार पटक सदरमुकाम भरिया जाँदा गोल्छेले परिवार नियोजन गर्ने समय पाएन । गोल्छेकी जहान फेरी दुई जिउकी भईन । दुइटा बच्चा सामान्य रूपमै जन्माएकी पुतलीलाई तेस्रो सन्तान जन्मने वेला निकै गाह्रो भयो । उसलाई सुत्केरी व्यथाले निकै च्याप्यो । विकाश, गोल्छेले गाउँको एक जना भाइलाई सहयोग गर्न बोलाए । डोकोमा बोकी पुतलीलाई सदरमुकाम लिई हिँड्यो ।पुतलीको यो हाल गोल्छेका दाजु गाउँमै हुँदा पनि सहयोग गर्न आएनन् । सुत्केरी व्यथाले निकै च्यापेकी भाउजूको कुनै हलचल नदेख्दा भाइले , गोल्छेलाई बिसाउन लगायो ।  सुत्केरी व्यथाको पिडा सहन नसकेर , पुतली पनि गोल्छेकी आमा जस्तै बाटोमै प्राण त्यागिन् । गोल्छेलाई त्यो पिडा सहन निकै समय लाग्यो । श्रीमती बितेको धेरै महिना सम्म गोल्छे एकोहोरो भएको थियो । उसको धेरै महिना बेहोसमै बित्यो । उसले पाँच -छ महिनासम्म काम गरेन तर उसकै सहारामा बाचेका टुहुरा छोरा -छोरीको भोको पेटको निम्ति गोल्छे काममा फर्कियो । गाउँबाट सहरसम्म पुग्ने सडक नभएकोले र गाउँमै स्वास्थ्य चौकी पुगेको भए  । विकाश श्रीमतीले अकालमै ज्यान गुमाउनु पर्ने थिएन जस्तो लाग्थ्यो गोल्छेलाई ।

पुतलीको मृत्यु हुँदा जेठो छोरा मात्र तीन वर्षको र छोरी दुई वर्षकी मात्र थिई । गोल्छेलाई छोरा छोरी हुर्काउन सकस भयो । आफूले माया गरी ल्याएकी पुतली टाढा भएनी , उसको मायाको कोसेली छोरा र छोरी हुर्काउन कठिन भएनी , छोरा छोरी माथि कान्छी आमा ल्याउन उसलाई कहिल्यै मन लागेन । गाउँका हरेक मान्छेले दोस्रो विवाह गरेन । आफू अनपढ भए पनि छोरा – छोरीलाई भने पढाएको थियो ।बिहानै उठी खाना पकाएर छोरा- छोरी तयार गरी विद्यालय पठाउँथ्यो  ।  आफ्नो एक जोर गोरु लिई हलो जोत्न वल्लो पल्लो गाउँसम्म पुग्थ्यो तथा कहिले भरिया भई सदरमुकाम पुग्थ्यो ।

गोल्छेको जिन्दगी एक दशक सम्म एकनासकै रह्यो । पुतली गुमाएको दश वर्षपछि गाउँमा सडक आउने कुरा चल्यो । गाउँको बजेटमा थप रकम गाउँलेहरूले गरी गाउँसम्म बाटो ल्याउने भए । गोल्छे दाम दिन नसके पनि श्रम दान गर्ने भयो । अब गाउँसम्मै बाटो आइसकेपछि , आफ्नो आमा र पुतलीले जस्तै अकालमा कसैले ज्यान गुमाउन पर्दैन भन्ने सोची गोल्छे खुसी हुन्थ्यो । बाटो खन्ने काम सुरु भयो । भौगोलिक रूपले कठिन स्थानमा गारो लगाई माथि सम्म उठाएर बाटो बनाउनु पर्थ्यो । गोल्छेले हरेक दिन गारो लगाउने , ढुङ्गा पन्छ्याउने , माटो सम्याउने काम गर्थ्यो ।

गाउँमा बाटो पुग्नै लाग्दा सडक कताबाट खन्ने विषयमा विवाद भयो । आफ्नो बारीबाट बाटो खन्न लाग्दा , गोल्छेको दाजु वीरबहादुर डोजर अगाडी स-परिवार सुतेर बाटो बनाउन अवरोध गरे । गाउँमा विकास हुन लाग्दा पनि दाजुले अवरोध गरेकोमा गोल्छे रुष्ट भयो । उसले आफ्नो बारी दियो । खेत बारीको नाममा भएको तीन वटा साना बारीका फोहोटा पनि गोल्छेले सडक बनाउन दियो । वर्षौँदेखि दाजु सँग भएको झगडा अहिले त झन् बोलचाल नै बन्द भयो ।  गाउँमा सडक आयो , पहिलो चोटि गाउँमा गाडी आउँदा सबै गाउँलेहरूले पन्चे बाजाले स्वागत गरे ।  गाडी ड्राइभरलाई फुलमालाले स्वागत गरे । वर्षाैपछि गोल्छे बाजामा दिनभर नाच्यो ।  गाउँमा सडक आएपछि सदरमुकाम बाट सिधै गाउँसम्म सामान आउँथ्यो । मानिसहरू सदरमुकामसम्म धाउनु पर्थेन । तर गोल्छेको भरिया पेसा धरापमा पर्‍यो । बिस्तारै गाउँका फाँटका खेतहरूमा गाउँलेहरूले ट्रयाक्टर लगाउन थाले । गोल्छेको जोत्ने काम पनि कम हुँदै गयो । गोल्छेको खेतबारी केही थिएन , हरेक चिज किनेर खानुपर्थ्यो र आम्दानीको स्रोत घट्दो थियो । गाउँका मानिसहरू गाउँमा आफ्नो तथा परिवार बालबच्चाको भविष्य सुनौलो नदेखेर बसाइसराइको क्रम बढ्न थाल्यो । गाउँका खेतहरू बाजा हुन थाले उता गोल्छेलाई ऋणले थिच्न थाल्यो । अन्त्यत गोल्छेले पनि गाउँमै बसेर केही गर्न सक्ने भएन । छोरा छोरीको भविष्यको निम्ति उ बिदेसिने निर्णय गर्‍यो । घरमा भएको एक हल गोरु बेच्यो। पासपोर्ट बनायो र पासपोर्ट र साठी हजार रुपैयाँ दलाललाई बुझायो ।

गोल्छेले दलाललाई पटक-पटक गरी एक लाख रुपैयाँ बुझायो । दलालले गोल्छेलाई काठमाडौँ ल्याई दुई चार ठाउँ पुर्‍यायो । गोल्छेलाई केही थाहा थिएन । उसले दलालले जे भन्थ्यो त्यही गर्थ्यो । गोल्छेले काठमाडौँ आउँदा ल्याएको दश हजार पनि उसैलाई बुझायो । आखिर गोल्छेको भिसा लाग्यो , स्काफ फोल्डिङ कामको निम्ति गोल्छे कतार उड्दै थियो । तर उसलाई के कामको लागि जाँदै छु पनि भन्ने थाहा थिएन ।  उ आज कतार एयरलाइन्सको विमानमा बसी एकोहोरो टोलाउँदै छ । आफू बिदेसिनु परेको निकै निराश पनि छ। उसले आँखा भरी आशु पार्दै आफ्ना छोरा-छोरी र स्वर्गवास श्रीमती सम्झन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments