फूलको पर्व तिहार आजदेखि

सोमवार, कार्तिक १९, २०७५



काठमाडौं  । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

पहिलो दिन काग तिहार 

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

कात्तिक २० गते मङ्गलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

91 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank