विशाल नाल्बोका तीन कविता

शनिबार, माघ ११, २०७६



फाली

जुन दिन अलैँचीको भाउ घटेर
मारिदियो एक डालो सपना
हो त्यो दिन ढाकर बोकेर
बजार हिँडेको बाउ घर फर्केनन्।त्यसपछि
आमालाई समाजले धुवा घोषित गर्‍यो
म स्कुलेबाट हली भएँ
एक दिन आमाले नाङ्लोमा
कनिका निफन्दै थिइन् मैले कल्पना गरेँ
ढाकर भरि चामल बोकेर बाउ
बजार देखि घर फर्किरहेको।

हाउ ठूल्दाजु
तपाई देश बचाउँनु सिमानामा उभ्नु भो
मैले देशै बचाउँनु जोती रहे खेतबारीमा हलो
तर पनि किन मिल्दै मिल्दैन हँ
तपाईँको सपना बोक्ने सुटकेशको रङ
र मेरो सपना बोक्ने थुन्सेको रङ?

कोदालोले जीवनको अर्थ
खोस्रिँदा खोस्रिँदै खोस्रिँदा खोस्रिँदै खोस्रिँदा खोस्रिँदै
चुँडियो डल्लै जीवन हाँक्ने हल्लुँड
हेर्नु त अहिले कसरी उन्निएर मर्यो
हलोको फालीमा किसानहरूको
अनेक अनेक इच्छा।

नरेन्द्र मोदीहरूको इरिटेड भाषणले
हेर्दा हेर्दै हेर्दा हेर्दै ओइलायो
उमेरै नपुगी करेला
र इन्फेक्सन भयो ममता ब्यानर्जीहरूको
पोलिटिक्स् पेनकिलरले
जनताको मूल्य बोक्ने फर्सीको बोटलाई।

मलाई लाग्छ
बरु यो देशमा
नरेन्द्र मोदीहरू नभएको भए
अथवा नभएको भए ममता ब्यानर्जीहरू
जनताले फेर्ने थिए
एक फुङ्लो भए पनि शान्तिको सास।

थाहा छैन
कति बेला भाँचिन्छ जीवन थाम्ने सोहिला
र कति बेला निकाल्छ
भातको भाँडाहरूले अभावको जुलुस।

मलाई चिन्ता लाग्छ
यदि प्रधानमन्त्रीको घरमा
अनिकाल पस्यो भने
के खाएर बचाउँछ सत्ता?

कोदोको बालाले बाँच्नु सिकाएको दिन
तोरीको सागले मलाई सङ्घर्ष चिनायो।

अहिले निर्माण भएको छ
किसानहरूको
फ्युचर फलाउने अदुवाबारीमा
प्रधानमन्त्री ग्रामीण सडक परियोजनाको
अधकल्चो बाटो।

हेर्नु त दिदी
मार्केट नपाएर कस्तरी गुम्सिएर मर्यो
राजनीतिकको गोदाममा
किसानहरूको भाग्य बोक्ने अदुवाको भाउ।


आमा

एक दिन सुनाउनु छ
आमाकै अघि आमा शीर्षकको कविता।किनभने मेरो आमा
कविता सुन्न मात्र सक्छिन्, पढ्न सक्दिनन्।

गाई गोठबाट उदाउँछ आमाको बिहान
घाँस काटी राखेर पनि जान भ्याउँछिन् पर्म
पटुकीले कस्सी बाँधेर टार्छिन् असङ्ख्य भोक
उठाएर आफ्नै काँध माथि सारा जिम्मेवारी
बनाउँछिन् हरबखत घरलाई उज्यालो।

लाग्छ आमाको आँटले मात्र
उँभेको छ यो ब्रह्माण्ड।

म नालायक उनको छोरा चाहिँ कवि भएको छु।

भन्ज्याङ माथिको बारीबाट
हरेक साल हेर्छ कोदोको बालाले आमाको बाटो
मकैको दानासित युगौँ देखि परिचित छ आमाको हत्केला
आमाकै उपस्थितिले मात्र फूल खेल्छ तोरीको साग
र फल्छ डल्ले खोर्सानीको बोटमा आमाको पसिनाको बिउ।

आमासँग सम्बन्धित
यी सब्बै सब्बै सब्बै कुराको लेख्नु छ कविता
र सुनाउनु छ एकदिन आमालाई नै।

किनभने
मेरो आमाले चिन्दिनन् अक्षर
तर म भनेँ आमाकै पौरख माथि उँभेर बनेको हुँ कवि।

जब हेर्छु आमाको हत्केलामा ठेला
दुःखले खाएर चाउरिएको आमाको निधार
हरेक बिहान घाँसको भारी बोकेर फर्किने
आमाको त्यो बिरालो बाटो।

सम्झिन्छु यति हुँदा हुँदै पनि
किन पटक्कै थाक्दैन आमाको जीवनसँग आमाको आँट?

सायद आमाहरू नहुँदो हो
नहुँदो हो यति शक्तिशाली यो पृथ्वी।

अब आमाको निम्ति
आमा शीर्षकको एउटा कविता लेख्नु छ
र सुनाउनु छ एकदिन आमालाई।


 डारिम्पाते

जीवनको किल्ला
ठोक्दा ठोक्दै थाक्यो
आमाको जोड हत्केला
र फुत्त निस्केर भाग्यो गाईको गोठबाट
आमाको बैंसालु उमेर।आमाको पसिनाको
कहिले चुक्ता गर्छ हँ
यो गाई गोठको मालिकले?

आरूचाको हाँगामा बसेर
कस्तो कस्तो कस्तो गरी काग कराएको बिहान
चिन्ता लाग्छ आमालाई
परदेशमा ढुङ्गा फुटाउने
काम गर्दै गरेको ठुलो छोराको
अनि बिथोली दिन्छ आमाको सपना।

यो चिन्ता पनि कति भयानक हुन्छ
जसले एक सेकेन्ड मै हल्लाई दिन्छ
आमाको मुटु उभेको भुईँ।

भातको भाँडामा
अनिकाल पसेको बेलुका
टुलु टुलु हेरि बस्छ आमाको अनुहारमा
नाबलिका बहीनीले ओछ्यानबाट
र उसको कलिलो चेतनामा उब्जिन्छ
अक्षरहरू प्रतिको घृणा।

साला यसरी छेक्छ अनिकालले
किसानहरूको छोरा छोरीको स्कुले बाटो।

अहिले आमालाई लाग्छ
सपना नहुनु भनेको
सबैथोक नहुनु रहेछ
सपना छ र त
जीवन बाँच्ने बहाना छ।

कति कुट्नु अभावको मुस्लिले
समस्याको ओखलीमा सपनाको कनिका
र कति जोत्नु पसिनाको हलोले
उब्जनी नदिने जीवनको फोक्टा फोक्टी।

अहिले भोकहरूको मुखमा
महला लगाएर सोधी रहेछु मकैको घोगालाई
कि कुन दिन गर्ने
आफू पाकेको घोषणा।

मलाई लाग्छ
जीवन भनेको हल्लुँड हो
जसले तानिरहनु पर्छ
समस्याको बाँझो खेतमा सङ्घर्षको हलो।

जोतारोले कस्सी बाँधेको
डारिम्पातेको सोहिला भाँची राखेर
किन भाग्छ हँ
खेतको कुलो कुलो कुलो हुँदै यो जब्बड तारे गोरू???

– विशाल नाल्बो(Bishal Nalbo)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments