आइसाेलेसन छ , डाक्टर र उपकरण छैनन्

मङ्लबार, चैत्र २५, २०७६

- दयाराम पण्डित



बाजुरा  । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा करिव एक वर्षदेखी डाक्टर विहीन छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गत साउनमा समायोजन भई गएपछि उक्त स्वास्थ्य केन्द्र डक्टर विहीन बनेको हो


सो केन्द्रमा डाक्टर तथा आवश्यक उपकरण नहुँदा बाजुराको  पूर्वीउत्तरी क्षेत्रमा पर्ने एक नगरपालिका, तीन गाउँपालिकाका तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानीय तहका ५० हजार बढी मानिस प्रभावित भएका छन् ।

एक जना डाक्टरको दरबन्दी भएको स्वास्थ्य केन्द्र लामो समय देखि डाक्टर नहुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या भएको स्थानीय पूर्णबहादुर विष्टले बताए । डाक्टर नहुँदा सामान्य उपचारको लागि सदरमुकाम तथा अन्य सहरमा महँगो भाडा तिरेर उपचार गर्नु पर्ने बाध्यता छ विष्टले भने ।

विश्वब्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको बाजुरामा पनि उच्च जोखिममा देखिन्छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना शङ्कास्पद बिरामीलाई राख्न २ बेडको आईसोलेसन कक्ष निर्माण त गरिएको छ । तर न उपचार गर्ने डाक्टर छन् न त उपचारमा खटिने स्वास्थ्यकर्मीको लागी उपकरण नै छ । पिपिइका नाममा मास्क समेत नभएको बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ओमजंग शाहीले बताए ।  यो महामारीको समयमा स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न भए पनि उपकरणको बन्दोबस्त हुनु पर्ने कुनै बन्दोबस्त छैन , बाच्ने आशा त सबैलाई हुन्छ शाहीले थपे ।

आईसोलेसन कक्ष निर्माण गरेको स्वास्थ्य संस्थामा कम्तीमा एक जना डाक्टर सहितको टोली, अक्सिजन, बिरामीलाई लगाउने मनिटर ,पिपिई सेट ग्राउन, पन्जा, मास्क लगायतको थुप्रै उपकरण आवश्यकता पर्दछ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राय केही उपकरण छैन । दुई बेड छुट्ट्याएर नाम मात्रको आईसोलेसन कक्ष स्थापना गरिएको छ । सङ्क्रमणको शङ्का लाग्यो भने सिधै जिल्ला अस्पताल मार्तडी पठाउनुको विकल्प नभएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको गुनासो छ।

हाल विश्व नै नोबेल कोरोना भाइरस (कोभिड १९) सँग जुधिरहेको छ । त्यो क्षेत्रका स्थानीय विशेष गरी कामको सिलसिलामा देशका अन्य सहर तथा भारतका विभिन्न सहरहरूमा जाने गर्दछन् । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै भारत लगायत अन्य मुलुकबाट बाजुरा आएका थुप्रै जनता खुलम खुला गाउँ बजार डुलिरहेका छन् ।

स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेका छन् । निर्माण गरिएका अधिकांश क्वारेन्टाइन खालि छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार कोल्टी आउने डाक्टर नै भेटाएका छैनन् । स्वास्थ्य विज्ञान केन्द्रबाट आउने डाक्टर कोरोनाका कारण रोकिए । प्रदेशमा पहल भइरहेको छ । मन्त्रालयमा सम्पर्क गरेर समस्या बताएको छु । तर, डाक्टर पाएका छैनौँ जिल्ला स्वास्थ्य प्रमुख पन्तले भने । कोल्टामा केही नहुनु नहुनुभन्दा त दुई बेडको अाईसोलेसन भए पनि केही राहत हुन्छ तर, व्यवस्थापन गर्न समस्या छ स्वास्थ्य प्रमुख पन्तले भने ।

प्रदेश “क” सांसद बल्दे रेग्मीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहयोगका लागि अपिल गरेको पहिलो पठाऊँ छौँ भने पछि डाक्टर पठाउन मानेन । स्वास्थ्य मन्त्रालयमा र प्रदेशमा पनि बारम्बार अनुरोध गरेको हुँ तर, हरेक बहाना गर्छन् डाक्टर पठाउँदैनन् । अन्तिममा जिल्ला अस्पतालमै कार्यरत डाक्टर मध्ये एक जना डाक्टर कोल्टी पठाउन माग गरेको छु सांसद रेग्मीले भने ।

सम्बन्धित बुढीनन्दा नगरपालिकाले डेढ महिना अगाडी डाक्टरको लागि भ्याकेन्सि खोलेको थियो कसैले दरखास्त दिएनन् । भौगोलिक रूपमा हेर्दा महामारीको रोकथाम तयारीको लागी त्यस क्षेत्रमा स्वास्थ्य मापदण्ड अनुसारको आईसोलेसन कक्ष व्यवस्थापनका साथै अनिवार्य थप्नु पर्ने अवस्था देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments