नेकपा नेतृत्वले रोजेको बाटो !

नेपालपाटी टिप्पणी

बुधबार, फाल्गुन १५, २०७५

- भूपेन्द्र शाह



मुलुकमा राजनीतिक अस्थीरता भयो । आम देशवाशीले कुनै सपना देख्न सकेनन् भन्दै जनताको मुर्छित सपना साकार पार्न  वाम गठबन्धन निर्माण गरियो ।  वि.स.२००६ साल देखि जनतालाई देखाइएको सपना साकार पार्न वाम गठवन्धन निर्माण गर्दै मतपत्र मार्फत जनता सामु पुगेको दुई वामदल जनताबाट पुरस्कृत हुन सफल भए ।

कछुवा गतिमा हैन । सुपरसोनिक गतिमा समृद्ध नेपाल निर्माण गरिने भाषण र जनताको आसा नेकपाको वर्तमान गति देखेसँगै कार्यकर्ता मात्र हैन सर्वसाधारण समेत मन खिन्न बनाउन बाध्य छन् । ढिलै भएपनि पार्टीलाई चुस्त दुरुस्त राख्ने कसरत अन्तरगत गरिएका क्रियाकलाप परिणाम दिने अवस्थामा पुग्नै लाग्दा किन भत्कियो ? पार्टीलाई विधि र पद्धतीमा चलाउना साथ वाम आन्दोलनले नयाँ जोश र स्फुर्ती प्राप्त गर्ने बुझ्दा बुझ्दै नेकपाको पार्टी जीवन भद्रगोलमै राख्दै नेतृत्वले कसको सेवा गर्दैछ ?

कार्यदलका बहुमत सदस्य नेतृत्वको विचारसँग असहमत भएसगै अकालमा मारिएको कार्यदलको कारण नेतृत्वले रुचाएको अन्तरपार्टी लोकतन्त्र कस्तो रहेछ ? सबैले बुझ्न पाएका छन् ।  स्थानिय निर्वाचनको मतादेशले झस्किएको तत्कालिन माओवादी केन्द्र प्रदेश नम्बर २ को अन्तिम नतिजा पछि केन्द्रिय निर्वाचनमा पूर्व एमाले विरुद्ध हुन सक्ने घेराबन्दीको सुक्ष्म आंकलनपछि ६० – ४० को वाम गठबन्धन निर्वाचन पश्चात ७०-३० मा पुगेको अंकगणीतिय रुपनै वर्तमान नेकपा हो भन्ने बुझेमा गलत भइदैन । मतपत्र मार्फत जनताले दिएको ७० -३० को जनादेशलाई पूर्व एमाले नेताको कुर्सी मोहले ५३- ४७ दिन राजी हुँदा गत जेठ ३ गते जन्माइएको नेकपा कार्यदल भंग गरिएसँगै जहाँको तहीँ पुगेको थप बताइरहनु पर्दैन् ।

अध्यक्षद्वय कमरेड ओली र कमरेड प्रचण्डको बाध्यात्मक उपजले निर्मित नेकपा नौं महिना पुग्दा पनि वामे सर्ने सुरसार देखिएन । राजनीतिक ‘डिपिआर’ विना पूर्व एमाले र माओवादी केन्द्रको मर्ज गर्दै बनाइएको नेकपाको वर्तमान चाल न हाँस न कौवाको हुँदा सात लाख पार्टी कार्यकर्ता बेरोजगार बनेका छन् ।  धुम्बाराहीदेखि वडा सम्म एकल पकड जमाउने वर्तमान अध्यक्षको चाहाना सजिलै  पूरा नहुँने भएपछि पूर्ण एकिकरण प्रक्रिया अबरुद्ध बन्दै गइरहेको मान्न सकिन्छ ।

सोभियत कम्युनिष्ट सत्ताको पतनका कारण मदन भण्डारीको सुझबुझ पूर्व राजनीतिले जन्माएको जबज वर्तमान समयमा आइपुग्दा प्रधानमन्त्री एवम पार्टी अध्यक्ष कमरेड ओलीलाई घाँडो जस्तै बन्न पुगेको छ । सेक्टर काण्डपछि कहिल्यै पछाडी फर्केर नहेरेका आजीवन अध्यक्ष कमरेड प्रचण्ड आफ्नो स्वार्थको निम्ती कमरेड ओलीलाई बोक्न तयार भएसँगै भत्काइएको पूर्व एमालेको चुस्त, दुरुस्त संगठन कसरी आफ्नो पक्षमा पार्ने भन्ने दाउ ताकिरहेका छन् ।

भएका सम्पूर्ण शक्तिलाई पहिला प्रयोग गर्ने नसके भत्काई दिने रणनीतिलाई प्रचण्डपथ बनाउदै २०५२ साल देखि आज सम्म अनेक रुपमा जमेको नेकपा अध्यक्ष प्रचण्डकाे नविन शैलीकाे कमरेड ओलीले सुक्ष्म अध्ययन गरेकै छन् । भएका संस्था, नीति, विचार, कार्यक्रम, सिद्धान्तलाई सकेसम्म आफ्नो स्वार्थमा प्रयोग गर्ने नसके अस्तब्यस्त बनाउँदै अस्थीरताको जगमा शक्तिलाई केन्द्रिकृत गर्दै प्रचण्डपथ जबजलाई समाप्त गर्दै अघोषित रुपमा प्रयोग हुँदै आएको बुझ्ने पछिल्लो प्रमाण आम कार्यकर्ताले देख्न र बुझ्न पाउँदैछन् । दुई पार्टीको एकिकरण पश्चात अपाङग बनेको नेकपालाई निश्चित मापदण्ड अप्नाउँदै नयाँ जीवन दिन बाध्यात्मक बनेको कारण नेताद्वयको अरुची बनेसँगै नौ सदस्यीय कार्यदल रणनीतिक ढंगले मारिए पछि नेकपाको आगामी राजनीति जंग बहादुर कालिन अबस्थामा पुगेको मानिदैंछ ।

मुख बोली कानूनको राणा कालिन शासनकै शैलीमा अध्यक्षद्वयले चाहेको हुने नव हुकुमी शैलीलाई वर्तमान समयमा प्रचण्डपथ लाई कमरेड ओलीले अंगालेसँगै  नेकपाबाट गायब  जबज गायब पारिएकाे मान्न सकिन्छ । पार्टीलाई नीति,मापदण्ड, अनुशासन र कार्यक्रमको आधारमा चलाउँदा अध्यक्षद्वयको स्वार्थ पूरा नहुने कारणले बाध्यात्मक रुपमा जन्माइएको कार्यदल प्रधानमन्त्री एवं अध्यक्ष ओलीको रणनीतिको सिकार बन्दै भंग हुन पुगेको छ । आफ्ना सेवक भक्त र परिक्रमावादीलाई आर्शिवाद मार्फत पद सुम्पदैं संसदीय, राजकीय, र पार्टी सुख भोग्ने सामन्तवादी शैली नेकपाको नयाँ सिद्धान्त बनाउने नविन चेष्टाले आम कार्यकर्ताको मन कुँडिएको छ ।  जीवन नै पार्टी र राजनीति भनेर हिंडेका हजारौं नेता तथा लाखौं कार्यकर्ताको भविष्य अन्धकारमा राख्दै खोजिएको नेकपाको पूर्ण एकता कसरी र कुन आधारमा टुङ्गीने छ भन्ने नबोलेरै बुझ्न पर्ने अवस्था नेकपाको नयाँ सिद्धान्त बनेको छ ।

पार्टी जता पुगे पनि पुगोस् । मैले र मेराले मात्र सुख सयल गर्नु पर्छ र पाउनु पर्छ भन्ने एक सुत्रिय नारामा अघि बढेको वर्तमान नेतृत्वको कारण नेकपा राजनीति दिन प्रतिदिन जनता र कार्यकर्ताबाट टाढा जाँदैछ । हामीले जन्माएको हामीले नै यसको भोग चलन गर्न पाउनु पर्छ भन्ने सोचको कारण थला पर्दै गएको वाम आन्दोलन विचित्र ढंगले दिन गुजार्दै छ ।

राष्ट्र,राष्ट्रियता, जनपक्षीयता,सादगी, इमानदारिताबाट आकर्षित हुँदै वाम बन्न लालायित जनता र कार्यकर्ता पछिल्लो राजनीति देखे, भोगेसँगै विगत र वर्तमानको कम्युनिष्टमा जमिन र आसमानको फरक महशुस गर्न बाध्य छन् । पद, सत्ता, संसदीय र राजकीय सुखको निम्ती सबै भुल्दै गएको वाम राजनीति नेतृत्वको अवसरवादीताको कारण आकारमा ठुलो गुणमा रित्तिएको नेपाली वाम आन्दोलन ठुलो नोक्सानीको प्रतिक्षा गर्दै गरेको मान्न सकिन्छ । जीवनमा पाउन केही बाँकी नरहेका र राष्ट्रले दिन कुनै कञ्जुस्याँई नगरेका दुई अध्यक्ष कमरेडद्वयले आफ्ना निहित स्वार्थलाई तिलाञ्जली दिन ढिला भएकाे मानिदैछ ।

 चर्काे घेराबन्दी, नीजि स्वार्थ र सत्ता लिप्साले गस्त राजनीतिले निम्ता दिदैं गरेको प्रतिक्रान्ति तत्काल रोक्न आफ्ना स्वार्थहरुलाई तिलाञ्जली दिनु अनिवार्य भइरसकेको छ । वाम आन्दोलनको दौरान जीवन गुमाएका ज्ञात, अज्ञात शहीद, हजारौं कार्यकर्ताको खुन पसिना, लाखौं कार्यकर्ताको सुन्दर भविष्य, देश र जनतालाई सर्वाेपरी मान्नासाथ नेकपा राजनीति तत्काल ठिक बाटोमा आउने देखिन्छ ।

पार्टीको आन्तरिक लोकतन्त्र जबजलाई ध्वस्त पार्दै प्रचण्डपथमा वाम आन्दोलनको भविष्य खोज्न तम्सिए नेकपाले ठूलो दुर्घटना भोग्नु पर्ने छ । जसको कारण मुलुक,वाम आन्दोलन, मुलुकवाशी र लोकतन्त्रले ठूलो मुल्य चुकाउनु पर्ने खतरा नेतृत्वले बुझ्न ढिला भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank