द ट्रुथ बिहाइन्ड दि लाइज् !

कथा

शनिबार, बैशाख १४, २०७६

- रितेश गुरुङ



कथा: द ट्रुथ बिहाइन्ड दि लाइज् !

सडक रुझेको छ । म भिजेको छु । वातावरण गिलो भएको छ । सबै रसिलो देखिएको छ । आकाश ओसिलो देखिएको छ । हिंडिरहेको हावा पोसिलो लागिरहेको छ । आज मन हसिँलो छ ।

धन्न, म प्रसन्न छु । प्रसन्न अकारण छु । सायद कारण खोज्न थाले पछि म दुखी हुन्छु होला । म कारण खोज्दिन पनि । खोज्न चहान्न पनि । कारण खोज्ने काम मेरो होइन, विज्ञानको हो ।

पानी परेको बेला म हरेक पटक आफ्नै कथा ‘The girl on the rain’ सम्झिने गर्छु । त्यो कथाको सानो टुक्रा थपक्क मेरो ओठमा बस्न आउँछ।
‘आकाश रुइरहेको छ, अनि धर्ती चाहिँ रुझिरहेको छ ।
मलाई आकाश र धर्ती, आँखा र परेली जस्तै लाग्छन् ।
एउटा रुने अर्को रुझ्ने !’

‘मुझेँ छोड दो मेरे हाल पेँ…… जिन्दा हुँ यार काफी हेँ……’ अमित त्रिवेदिको सुरिलो आवाजले मेरो कानको पर्दालाई मसाज गरिरहेको छ ।

सुर्य क्षीतिजको कतै अतल गहिराईमा डुबिसकेको छ । मेरा सास र पाइला एउटै चालमा हिंडिरहेका छन् । घर पुग्न अझै एउटा चोक कट्न बाँकी छ । अझै रुझेको सडकको छातीलाई भिजेको जुत्ताले मसाज गर्नु छ ।

साँच्चै, हामी दुरि के ले नाप्छौ, बाटोले कि बाटोमा हिंड्ने पाइलाले ?
म कहिलेकाहीं चाडैं घर पुग्छु त कहिले ढिला ।
बाटो सधैं त्यहीँ रहन्छ बस् पाइलाहरु लामाछोटा भएर बहन्छ । बाटोलाई पाइलाले नाप्छ, पाइलालाई समयले । अनि समयलाई कसले नाप्छ ? म यस्तै स-साना कुराहरुमा अल्झिन मन पराउछु । यस्तै प्रश्नहरुमा बल्झिन मन पराउछु । अझै अनुत्तरित प्रश्नहरुको बल्छीमा !

भन्छन्, हरेक तालाका चाबी हुन्छन् । हरेक चाबीका ताला हुन्छन् ।
हरेक प्रश्नहरुको उत्तर हुन्छन् । अनुत्तरित प्रश्नहरु आफैंमा कुनै उत्तर पनि त हुन सक्छन् ।

सबैले मान्छन्, समयलाई आफुले फेर्ने सासले नाप्छ । जब सास रोकिन्छ उसको समय पनि रोकिन्छ । त्यसपछी हामी नाप्न थाल्छौ, उसको रोकिएको सासलाई, उसको समयलाई ।
केहिले भन्छन्, उसले छोटो समयमा लामो जिन्दगी जियो । केहिले असहमत जनाउँछन्, होइन उसले लामो समयमा छोटो जिन्दगी जियो ।

बाटोको लम्बाई गन्तव्य नपुगी कहिल्यै थाहा हुँदैन । जिन्दगीको लम्बाई पनि मृत्यु नआई थाहा नहुँदो रहेछ ।

एउटा परिचित अनुहार मसँग ठोक्किन आईपुग्छ । उसले एउटा हातमा छाता र अर्को हातले बिरालो च्यापेको छ ।

उसको मुख चल्छ, ” कता हराएको यार, यति धेरै समय ?”

म हराएको पो थिए ? आफू हराएको आफुलाई थाहा नहुँदो रहेछ । पक्का हो, कसैले खोजेन भने आफैं हराईदोरहेछ । म टाढा होइन नजिक नै थिए । मान्छेहरु नजिक भएकाहरुलाई बेबास्ताले नाप्दा रहेछन् ।

” म त यहीँ त छु । कहाँ हराउनु !” मेरो पनि मुख चल्छ ।

” मेरो मतलब तपाईंको कथा आउनै छोड्यो । लेख्नै छोडियो कि क्या हो ?” उसको ओठ तन्किन्छ ।

उसले मलाई होइन, मेरो कथालाई खोजेको रहेछ । म होइन, कथा पो हराएको रहेछ । यो राम्रो कुरा हो, मान्छेलाई नामले होइन कामले नाप्नुपर्छ ।

” लेख्न होइन, देखाउन छोडेको ।” मेरो मुस्कान पनि रुझ्छ ।

” त्यो त राम्रै हो, देखाउनु पनि हुँदैन । उ मुख बिगार्दै पुन सोध्छ, ” अरु बताउनुस् ?”

“अरु सब बिन्दास । बरु तपाईंको बताउनुस् ?”

बल्छीमा झुन्डिएको माछा जस्तै झुन्डाउछ उसले आफ्नो अनुहार, ” म उदास छु ।”

म बिन्दास, उ उदास ! कम्तिमा हामी दास नै रहेछौं । दासत्वको अन्त्य कहिल्यै नहुँदो रहेछ । खुशीको कुरा भन्यौं या दुखको, मालिक फेरि हामी स्वयंम’नै हुन्छौं ।

“किन र, के भयो ?” म चिन्ता देखाउछु ।

हातले च्यापेको बिरालोलाई देखाउदै भन्छ, ” हेर्नू न मेरो बिरालो बिरामी भएको भ’यै गर्छ । अहिले पनि भेटनरीतिर जाँदै छु ।”

म दु:ख देखाउने असफल प्रयास गर्छु । हामी एक अर्काको धेरै समय लिदैनौँ । भनिन्छ, ‘बाटोमा धेरै अल्झियो भने गन्तव्य रिसाउछ रे ।’ त्यसैले हामी केही शब्दहरु बाड्छौँ र आ-आफ्नो बाटो लागि हाल्छौँ ।

बिरालोले गर्दा एउटा साथीको याद मस्तिष्कमा दस्तक गर्न आईपुग्छ । उसले पनि एउटा बिरालो पालेको थियो । पालेको दुई हप्तामै बिरालोलाई रोगले लिएर गयो । आज ऊ दुर कुनै भूगोलमा रमाईरहेको छ । म बेला बेला उसलाई सम्झिने गर्छु । हामी टाढा भएका मान्छेहरुलाई सम्झनाले नाप्दा रहेछौं ।

केही समय अघि मात्रै मुराकामीको किताब ‘The Wind-Up Bird Chronicle’ पढेर सकेको थिए । त्यस किताब भित्र पनि एउटा बिरालो छ जो घर छाडेर कतै भाग्छ, हराउँछ । उसको मालिक उसलाई खोज्न निस्किन्छ । मेरो मस्तिष्कको गल्लीमा एक्कासी अनेकौं रंगका बिरालोहरु सलबलाउन थाल्छन् ।

घर पुग्नै लाग्दा एउटा बिरालोले मेरो बाटो काट्छ । म भन्दा केही कदम अगाडि हिंडिरहेको एउटा मान्छे अडिन्छ । सायद उसले सोच्यो होला, अशुभ भएछ, अमगंल भएछ, अपशकुन भएछ । म मुस्कुराउदै सारासर अगाडी बढ्छु त्यो मान्छेलाई पछाडी पारेर । त्यसपछी उ पनि ढुक्कसंग अगाडी बढ्छ । उसलाई पक्का लाग्यो होला, अमगंल ममा सर्यो ।

हामी भन्छौं, दुनियाँ विश्वासमा अडेको छ । किन भन्दैनौँ, अन्धविश्वासमा गडेको छ ?

म पछाडी फर्केर हेर्छु । बाटो छेउबाट त्यो बिरालोले मलाई एकोहोरो हेरिरहेको छ । बिरालोको आँखामा म एक अनौठो किसिमको भय देख्छु। मलाई त्यहीँ भयले बिस्तारै कोतार्न थाल्छ । यस्तो लाग्छ, मलाई केही भन्न खोज्दै छन् ती तर्सिएका आँखाले । बिरालोको आँखामा छापिएको त्यो भयलाई म पढ्न थाल्छु ।

हतारिएर गोजिबाट मोबाईल निकाल्छु । अघि बाटोमा भेटेको साथिलाई सन्देश लेख्छु, ‘ साथी, तिम्रो बिरालोलाई केही भएको छैन । भेटनरी नलैजाउ, बरु छोडिदेउ कुनै गल्लीमा ।’

म पुन त्यो बिरालोको आँखा पढ्न खोज्छु ।
‘म्याउ……..’

बिरालोको मुखबाट निस्किएको आवाज मलाई कुनै आहट जस्तै लाग्छ, चिच्याहट जस्तै लाग्छ । जसले भनिरहेको छ, ‘हे, दुष्ट मान्छे मैले बाटो काट्ने बेलामा तँ किन देखा परिस् ? अब मलाई पक्का अशुभ हुन्छ, अमंगल हुन्छ, अपशकुन हुन्छ ।’

Ritesh 
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata