जहाँ सल्फ्युरिक एसिडको वर्षा हुन्छ, हीराको वर्षा हुन्छ..

आइतवार, जेष्ठ १९, २०७६



एजेन्सी  । वायुमण्डलको अवस्थाको बारेमा मानिसहरु प्रायः चासोपुर्वक बुझ्न खोज्छन् । हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि मौसमजन्य अवस्थाको  बारेमा मानिसहरुको रुचीका साथ  जानकारी पाउन चाहन्छन्  ।  मौसमका कारण देखा पर्ने बाढी, सुख्खापन, गर्मी, जाडो आदिका कारण मौसमबारे गुनासो पनि गरिरहन्छन् ।

पृथ्वीको वायुमण्डलीय विशेषताकारण यहाँ जीवन सम्भव भएको हो । यसैकारण पनि पृथ्वीलाई लक्की प्लानेट ‘भाग्यमानी ग्रह’ पनि भन्ने गरिन्छ । यद्दपी प्राकृतिक विनाशको अलावा मौसमी खराबीका कारण लाखौँ मानिसहरु मृत्युको मुखमा पुगिरहेका छन् ।  अन्टार्टिकाको भोर्तक स्टेसनमा २१ जुलाई १९८३ मा मापन गरिएको  माइनस ८९.२ डिग्री सेल्सियस(१२८.६ फरेनाहाइट)लाई हालसम्म मापन गरिएको पृथ्वीको सतहको सबैभन्दा चिसो तापक्रम हो । त्यस्तै  ५१ लाख ८०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इरानको लुत  मरुभूमिमा सन् २००४ र २००५ बीच मापन गरिएको ७०.७१डिग्री सेल्सियस (१५९.३ फरेनाहाइट ) हालसम्म मापन गरिएको पृथ्वीको सतहको सबैभन्दा उच्चतम तापक्रम हो ।

भूगर्भविदहरुले सन् २०१७ मा निकालेको एक प्रतिवेदनअनुसार सन् २०२६ सम्म पृथ्वीको तापक्रम हालको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढी हुने बताइएको छ ।

मौसम राम्रो र नराम्रो हुनु केवल हाम्रो ग्रहको मात्रै विशेषता होइन । अन्य ग्रहको पनि आफ्नै किसिमको मौसम हुन्छ । अन्य ग्रहको मौसम पृथ्वीको भन्दा झन् भयानक हुन सक्छ ।

र, यदि सप्ताहान्तमा बिदा मनाउन ५४०० माइल प्रतिघण्टाको रफ्तारले हावा चल्ने ठाउँमा जान पर्यो भने अथवा जहाँ गर्मीले जस्तापाता नै पग्लिन्छ, त्यस्तो ठाउँमा जानुपर्यो भने के होला ?

शुक्रमा रहनु असम्भव: 

मानिसको लागि पृथ्वीको छिमेकी ग्रह शुक्रमा बस्नु अन्य ग्रहको तुलनामा सबैभन्दा कठिन छ । पुराणहरुमा दैत्य गुरु भनेर वर्णित शुक्रलाई बाइबलमा पनि नरक भनिएको छ ।

शुक्र ग्रहमा वायुमण्डलको मोटो हिस्सा छ, जसमा कार्बन डाइअक्साइडको मात्रा धेरै छ । यो ग्रहमा वायुमण्डलीय दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ ।

कार्बन डाइअक्साइडले भरिएको वायुमण्डलले सूर्यको तापलाई सोसेर राख्दछ जसका कारण ग्रहको तापमान ४६० डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

त्यसैले यदि शुक्र ग्रहमा पाइला राख्ने हो भने मानिस केही सेकेन्डमा नै उम्लिन सक्छ ।

यदि यो त्यति दुःखदायी लाग्दैन भने यहाँको वर्षाको बारेमा थाहा पाएपछि जोकोही भयभीत हुन सक्छ । शुक्र ग्रहमा सल्फ्युरिक एसिडको वर्षा हुन्छ जसले कोही पनि अन्तरिक्षयात्रीको छालालाई नराम्ररी जलाउन सक्छ ।

शुक्रको सतहमा अत्यधिक तापमानका कारण अम्लीय वर्षाको थोपा सतहमा पुग्नुभन्दा अगाडि नै बाफ बनेर उड्दछ ।

अचम्मको कुरा शुक्र ग्रहमा बरफ पनि छ । तर, त्यसलाई डल्लो बनाएर खेल्न सकिँदैन । यो शुक्रको वायुमण्डलमा बाफ बनेर उडेको धातु चिसो भएर बनेको अवशेष हो ।

जहाँ हीराको वर्षा हुन्छ:

सौर्य मण्डलको दोस्रो भागमा ग्यासले बनेका दुई ठूला ग्रह अरुण र वरुण छन् ।

वरुण अर्थात् नेपच्युन पृथ्वीबाट सबैभन्दा टाढा छ । यहाँको तापक्रम शून्यदेखि २०० डिग्री सेल्सियस तलसम्म पुग्छ । यहाँ जमेको मिथेनको बादल उड्दछ र हावाको वेग सौर्यमण्डलका अन्य ग्रहको तुलनामा सबैभन्दा बढी हुन्छ । वरुणको सतह करीब पूरै समतल छ । यहाँ मिथेनको सुपरसोनिक हावालाई रोक्न केही पनि छैन । त्यसैले यसको गति १५०० माइल प्रतिघण्टासम्म पुग्छ । वरुणको वायुमण्डलमा जमेको कार्बन भएको हुनाले त्यहाँ हीराको वर्षा पनि हुन सक्छ । तर, झरिरहेको बहुमूल्य हीराले चोट पुर्याउँछ कि भनी चिन्ता गर्नु जरुरी छैन । किनकि त्यहाँ चिसोका कारण तपाईं पहिला नै जम्नुहुनेछ ।

धर्तीजस्तै स्थान:

अन्तरिक्षको मौसम विशेषज्ञ टम लाउडेन बारबिक युनिभर्सिटीमा अन्य ग्रहहरुको वायुमण्डलको स्थितिबारे शोध गरिरहेका छन् । उनी भन्दछन्, ‘पृथ्वीबाहेक अन्य सौर्यमण्डलमा यदि कुनै स्थान बस्न लायक छ भने त्यो शुक्र ग्रहको माथिल्लो वायुमण्डल हो ।’

सल्फ्युरिक एसिडको बादलको माथि एक यस्तो स्थान छ जहाँको दबाब करीब हाम्रो ग्रहको जति नै छ । त्यहाँको वातावरणमा सास लिन नसके पनि त्यहाँ पृथ्वीमा कुनै ठूलो हट एयर बेलुन अथवा हावाले भरिएको कुनै अन्य वस्तुमा भएको कल्पना गर्न सकिन्छ । यदि अक्सिजन मास्क हुने हो भने त्यहाँ टिसर्ट र सर्ट्समा पनि आरामले रहन सकिन्छ । त्यो स्थानको तापमान पनि पृथ्वीको कोठाभित्रको तापमानबराबर छ । अर्थात् यदि हटएयर बेलुनमा अक्सिजन मास्क लगाएर बस्ने हो भने विना कुनै खतरा शुक्र ग्रहमा बसेको अनुभूति लिन सकिने लाउडेनको भनाइ छ ।

सबैभन्दा भयानक मौसम:

पृथ्वीदेखि ६३ प्रकाश वर्ष टाढा गाढा नीलो रङको एक आकाशीय पिण्डमा मौसमको सबैभन्दा डरलाग्दो रूप देख्न सकिन्छ । यो हेर्दा त निकै सुन्दर देखिन्छ, तर यहाँको मौसम निधै डरलाग्दो छ ।

यहाँ कहिलेकाहिँ त प्रतिसेकेन्ड २ किलोमिटर अर्थात् ५००० माइल प्रतिघण्टाको गतिमा हावा चल्दछ जुन पृथ्वीको भन्दा करीब २० गुणा बढी हो । पृथ्वीमा अहिलेसम्म २५३ माइल प्रतिघण्टा हावाको गति मापन गरिएको छ ।

यो ग्रह आफ्नो तारादेखि पृथ्वीको तुलनामा २० गुणा नजीक छ । त्यसैले यो पृथ्वीभन्दा धेरै नै तातो छ ।

यो ग्रहको वायुमण्डलको तापक्रम १६०० डिग्री सेल्सियस छ, जुन पग्लिएको लाभाको बराबर हो । लाउडेन भन्दछन्, ‘हाम्रो ग्रहको ढुंगा पनि त्यहाँ पग्लिएर तरल अथवा ग्यासमा परिणत हुन्छ ।’

यो ग्रहमा पग्लिएको सीसाको वर्षा हुन्छ । किनभने, यहाँ हावासँगै उडेको बालुवा (सिलिकन डाइअक्साइड) गर्मीले पग्लिएर सीसामा परिणत हुन्छ । लाउडेनका अनुसार पृथ्वीको आकार र द्रव्यमानअनुसारका केही ग्रह पनि छन्, जसले सानो रेड ड्वार्फ तारालाई परिक्रमा गर्दछन् ।

पृथ्वीजस्तो ग्रह:

एम ड्वार्फ अथवा रेड ड्वार्फ तारा सबैभन्दा सानो र चिसो तारा हो र यो सबैभन्दा सामान्य पनि छ । तर, त्यहाँ बस्न लायक छ कि छैन भन्ने छुट्टै प्रश्न हो । ग्रहमा तातो पनि होस् र त्यसको सतहमा पानी तरल अवस्थामा रहोस् भन्नका लागि त्यो ग्रह आफ्नो ताराको नजीक रहनुपर्छ । ताराको नजीक रहेपछि त्यो ग्रह आफ्नो तारासँग त्यसरी नै जोडिन्छ जसरी चन्द्रमा पृथ्वीसँग जोडिएको छ । यसको अर्थ ग्रहको एक भागमा दिन हुन्छ र अर्को भागमा सधैं रात हुन्छ ।

कम्प्युटरमा मोडल बनाएर हेर्ने हो भने दिन भएको भागबाट हरिकेन जस्तो हावाको बहाव रात भएको भागतिर जान्छ । दिन भएको भागको तरल पानी गर्मीले उडेर बादल बन्छ ।

हावाले त्यसलाई बगाएर रात भएको भागमा लैजान्छ र त्यहाँ चिसो भएपछि बर्फमा परिणत हुन्छ । ग्रहको एकतर्फ सुख्खा मरुभूमि भेटिन्छ भने अर्कोतिर आर्कटिकको जस्तो बरफले ढाकिएको क्षेत्र पाइन्छ ।

हाम्रो पृथ्वीको जस्तो अन्य कुनै पनि ठाउँ नभएको लाउडेन बताउँदछन् ।

बीबीसीबाट 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments