दाहिने हाते सिक्का र साईकल
शनिबार, भदौ ३०, २०७५
- अनल गौतम

कुरा स्कुले जीवनको हो ।
आफ्नो गाउँकै सरकारी स्कुलमा पढ्थें म ।
माध्यामिक स्तरमा सायद ९ कक्षामा अध्ययनरत थिएँ ।
जन्मेर वाल्यकाल सम्ममा मेरो परिवारको जे जस्तो अवस्था भए पनि त्यस बेला म गरीब परिवारको करीब तेह् चौध बर्षको बालक थिएँ ।
न त पहाड न त तराई, मध्य तराइमा पर्दथ्यो हाम्रो गाउँ ।
शहर भएरै पनि अविकसीत शहरको कुनामा पर्ने मेरो घरको क्षेत्र गाउँ नै ठहथ्र्यो ।
पढ्ने अलावा केहि घरका सामान्य कामहरु त गर्नुपर्थ्यो नै मैले । बिहान भने खासै कुनै काम हुदैनथ्यो मेरो ।
बिहान जती बेला निद्रा खुल्छ उठ्यो । मुख धोयो, गृहकार्य केहि बाँकी छन भने हतार हतार गर्यो अनि भात खाएर १० मिनेट मात्रैको पैदल दुरीमा रहेको स्कुल गयाे । त्यत्ती हो ।
हाम्रो स्कुलमा पढाई ठिकै हुन्थ्यो । शिक्षकहरु नभएर कक्षा खाली भने हुन्नथ्यो प्राय ।
दिनभरीको पढाई सकेर स्कुलबाट फर्के पछि भने घरको काम गर्नु पर्ने त छदै थियो ।
भात पकाउन मट्टीतेलले बाल्ने स्टोभ चुलो थियो । काठको भुस भरेर दाउराको साथमा बालिने भुसे चुलो पनि थियो घरमा ।
घर वरिपरी आफ्नै बारीमा आप, कटहर अनि आफैंले लगाएको सिसौ, बकाईनो, क्यामुना आदिका धेरै रुखहरु थिएँ । पर्याप्त दाउरा थियो, कुनै कमि थिएन त्यसैले दाउरा बाट बाल्ने भुसे चुलो नै प्रयोग गर्दथ्यौं बढी मात्रामा ।
भुसे चुलोमा भरेको भुस अन्यले भर्दा १ दिन मात्रै चल्थ्यो भने २ दिन सम्म चल्थ्यो मैले भर्दा त्यसले मैले नै भर्ने गर्थे सधैं जसो खाँदी खाँदी ।
चुलोमा भुस भर्नु, करेसा बारी खन्नु, खेतमा के के गर्नु, दाउरा काट कुट गर्नु लगायत घर भित्रको काम भने कहिले काहिं बजार जानु अनि के के घर बाहिरका अन्य कामहरु घरका अरु सदस्यहरुका अलावा मेरो भागमा पर्दथ्यो ।
म काम गर्न मन पराउदिन थिए । साह्रै अल्छी थिए तर काम गर्न थाले पछि भने पूर्ण लगनका साथ गर्थें । सुरु गरेको काम सकेरै छोड्थें ।
म पढाईमा पनि कमजोर नै थिएँ अरु बिषयहरुमा ठिकै भएपनि गणीत र अंग्रेजी बिषयहरुमा त प्रत्येक बर्ष फेल हुन्थें ।
दुई वटा सम्म बिषयमा फेल भएकालाई पनि पास मानिन्थ्यो त्यस बेला त्यसैले हरेक बर्ष बार्षिक परिक्षामा उत्तीर्ण नै हुन्थें ।
सानो शहरको कुनामा रहेर पनि केहि पिछडीएको क्षेत्रको सरकारी बिद्यालय भएकोले बिद्यार्थिहरु त छदैछन् शिक्षकहरु पनि गाउँले पाराकै हुनुहुन्थ्यो प्राय ।
सबैको उस्तै खालको पहिरन उस्तै खालको शैली अनि उस्तै खालको व्यवहार ।
निकै शिक्षकहरु स्कुलबाट नजिक घर भएकाहरु हुनुहुन्थ्यो भने कोहि कोहि अलि परका ।
जिल्ला बाहिरबाट आउनु भएका शिक्षकहरुहरु भने स्कुल नजिकै डेरामा बस्ने गर्नुहुन्थ्यो त्यसले धेरै जसो शिक्षकहरु पैदलै हिडेर पढाउन आउनुहुन्थ्यो ।
केहि शिक्षहरुको साईकल पनि थियो । उहाँहरु साईकलमा आउनुहुन्थ्यो । उसो त शिक्षकहरु भन्दा साईकलमा आउने बिद्यार्थिहरु निकै बढी थिएँ ।
म कक्षा नभएको बेलामा वा खाजा खाने बेलामा साईकल राख्ने ठाउँ जुन हामिले पानि पिउने धाराको छेउैमा स्कुलको अफीस कोठाको अगाडी थियो, त्यहि बसी साईकलहरु हेर्ने गर्थें ।
मलाई साईकल खुबै मन पर्थ्यो । चलाउनु भन्दा पनि बस्न मात्रै भए पनि मन पर्थ्यो ।
कहिले काहिँ कुनै शिक्षक वा साथिको साईकलको पछाडि सामान राख्ने तथा बस्न पनि मिल्ने क्यारीयरमा भएपनि बस्न मन लाग्थ्यो तर बसीहालें भने साईकल धनिको हप्की खाने डर रहन्थ्यो । मानौं उनको साईकलमा बसेर ठुलो अपराध गरेका छौं वा ठुलो क्षति भएको छ उसको साईकलमा ।
त्यसबेला मेरो बाल मस्तिष्कमा भावना आउथ्यो । काश, मसँग पनि साईकल हुन्थ्यो भने ।
अनि मेरो अंग्रेजी शिक्षकले ग्रामर पढाउनु हुँदा भन्नु भएको वाक्य मनमा आउथ्यो, ईफ आई वेर अ टाईगर आई बिल किल यु ।
यौवन सुरु हुनै लागेको समय थियो मेरो ।
मनमा अनेकन किसिमका धेरै ईच्छा अनि चाहनाहरु पलाउन थालेका थिए । राम्रो लगाउन, घुम्न, मिठो खान मन लाग्ने बेला थियो ।
सरकारी स्कुल भएकोले स्कुले धेरै बिद्यार्थीहरु गरीब नै थिए । मेरो पनि मिल्ने स्कुले वा गाउले छिमेकी साथीहरु स्वभाविक रुपले गरीब नै धेरै हुन्थे ।
सोहि स्कुलमै पढ्ने केहि हुने खाने साथीहरु लेदरको ज्याकेट अनि त्यसताका खुब चलेको ड्याम बुट लगाएर स्कुल आउथे । त्यसबेलाको लोकप्रिय माउन्टेन साईकल चढेर ।
उनीहरु बढो शानसँग फुर्ति लगाउदै बिद्यालयको क्यान्टीन अर्थात खुला चौरको कुनामा रहेको नाड्ले पसलमा बसी आलुचप अनि तितौरा, पुष्टकारी आदी किनेर खान्थे ।
हामी, अझ विशेष म कहिले ती सबै बस्तुहरुको औधि चाहना राख्थें । कामना गर्थें ।
आफ्नो अवस्था मात्रै ती सबैको कल्पनामा सिमित थियो । सामर्थ्य कत्ती पनि थिएन ।
त्यसैले पनि होला कहिले हुने खाने र सबै सुबिधा प्रयोग गर्नेहरु प्रति इष्र्या र डाह लाग्थ्यो भने कहिले रिस पनि उठ्थ्यो ।
म कहिले काहीँ घरको काम बिशेषले बजार तर्फ जाँदा हुने खाने साथीहरु ड्याम बुट, जिन्स पाईन्ट, लेदर ज्याकेट लगाएर माउन्टेन बाईक अथार्त साईकलमा चढि घुमी हिंडेको देखेर मनमा खुबै मोह जाग्थ्यो ति सबै चिजहरु प्रति ।
सरकारी स्कुलको थोरै शुल्क पनि समयमा तिर्न नसकेर कक्षाबाट बाहिरीनु पर्ने आफ्नो परिस्थीतीले ती कुनै पनि वस्तुहरु पाउन नसक्ने कटु सत्यतालाई स्विकार गरी छिटै चित्त बुझाउन बाध्य हुन्थें ।
त्यसताका हाम्रो गाउँमा खासै धेरै घरमा टीभी थिएन । कोहि कोहि टोलका ठुला बडाको घरमा मात्रै थियो ।
अझ केहि बर्ष अगाडी सम्म त हाम्रो टोलमा जम्मा दुईवटा घरमा टिभि थियो त्यो पनि रंगीन ।
रामायण र महाभारत जस्ता त्यसताकाका लोकप्रीय सिरियलहरु आउने समयमा त मेला नै लाग्दथ्यो तीनका घरमा ।
ति टिभि धनीको घरका मान्छेहरुको धाक, रवाफ, फुर्ती अनि तीनको गालि गलौज अचम्मको हुन्थ्यो । टिभी हेर्न मन लाग्ने तर सहनै पर्ने बाध्यात्मक अवस्थाले सबै जना चुपचाप रहन्थे । शायद रिसले मुरमुरीन्थे तर आवेग व्यक्त भने गर्दैनथे ।
तर आजकाल टिभि भएको घर अलि धेरै नै भई सकेको छ । ब्लाक एण्ड ह्वाईट टिभि पनि आएको छ । व्लाक एण्ड ह्वाईट टिभी सस्तो भएकोले टिभि राख्ने घरहरु धेरै बढीसके ।
मेरो घरमा भने टिभि थिएन । कुनै कुनै आफुलाई मन परेको र चर्चित सिरियलहरु आउदा छिमेकीकोमा हेर्न जान्थें ।
कुनै बेला रेडियो राख्न पनि लाईसेन्स चाहिने रहेछ ।
घरमा वुवाले कुन जमानामा किन्नु भएको लाईसेन्स वाला अनि अर्को केहि बर्ष अघि किनिएको रेडियो थियो त्यसैले धेरै समय भने घरमा भएको रेडियो सुनेर बस्थें ।
बिकल्प अरु के नै थियो र जति मन जता दौडिए पनि ।
मलाई टिभि वा अन्य वस्तुहरु प्रति भन्दा पनि साईकल प्रतिको लगाव बढी थियो । घुमिरहन मन लाग्दथ्यो साईकलमा चढेर । संसारमा नहुनु जतिको पीडा केहि नहुने रहेछ ।
म सँग ती सबै चीजबस्तु जसको चाहना बढ्दै थियो दिन प्रतिदिन तर ती कुनै पनि चिज थिएन न त प्राप्त गर्ने कुनै माध्यमको आस नै ।
मलाई जिन्स पाईन्ट, ड्याम बुट, लेदर ज्याकेट भन्दा पनि साईकल प्रतिको मोह बढ्दै गएको थियो दिनानुदिन अत्याधिक रुपमा ।
मेरो मनमा साईकल प्राप्त गर्ने ईच्छा झन अत्यन्त प्रवल हुन थाल्यो किनकी निकै समय अघि मात्रै मैले मेरो आफन्तको साईकल सिकेर चलाउन जानेको थिए ।
जब साईकल राम्ररी चलाएर बाटोमा कुद्न सकेको थिए त्यस पल मलाई लाग्दै थियो यो संसार मेरै हो र मैले जितेको छु सारा संसार ।
मलाई घुमी हिंड्न धेरै मन पर्दथ्यो । अझ भन्दा साईकल चलाउदै घुम्न पाए मलाई खाना समेत चाहिन्नथ्यो ।
अस्ती भर्खरै साथी संग घुम्न बजार गएर फर्कदा मैले नै उसको साईकल चलाए ।
छल्ने कोशिस गर्दा गर्दै पनि एक पटक खाल्टा खुल्टी धेरै भएको बाटोको सानो खाल्टोमा साईकल परिहाल्यो । बाटोको खाल्टो नछली साईकल चलाएको भनेर साथीको गाली खाई हालें ।
त्यसैले म आफ्नै साईकलमा निर्बाध रुपमा स्वतन्त्र भई घुम्न चाहन्थें ।
आफुलाई मन लागेको बेला अनि मन लागेका ठाउँहरुमा ।
अब मेरो मनमा मात्र साईकल प्राप्तीको लागी चाहना थियो । साईकलकै कामना गर्दै आफ्नै साईकल चलाएको कल्पना गरी बस्न थालेको थिएँ।
एक दिन हामि केहि साथीहरु कक्षा नचलेको बेलामा स्कुलको धाराको छेउमा बसी साईकलहरु हेर्दै गफ गर्दै गर्दा मेरो बजगाई थर भएको साथीलाई उसको साइकलको मुल्य सोधें ।
उसले उसको साईकलको मुल्य पच्चीस सय पर्ने बतायो ।
म भन्दा उमेरमा केहि जेठो उ म भन्दा पनि गरीबै भएतापनि कसरी कताबाट कीनेको हो कुन्नी । साईकल थियो उ सँग ।
मैले सोचें कहिले काहिं चाड वाडमा जम्मा हुने पैसाले केहि बजारका खानेकुराहरु मात्रै किन्न सक्ने क्षमता भएको मेरो साईकल चड्ने चाहना कहिल्यै पुरा हुँदैन ।
अहिले सम्म जिन्स पाईन्ट, ड्याम बुट र लेदर ज्याकेटको सपना त पुरा भएको छैन साईकलको के कुरा गर्नु ।
पुस्टकारी तितौरा चप आदि किनेर खान त चाडबाड आउनु पर्ने आफ्नो अवस्था । उफ् ।
हाम्रो कुरै कुरामा हामी आफुले जाने बुझे सम्मका धार्मिक सामाजीक ऐतीहासीक सँगै अन्तराष्टय बिषयले स्थान लियो ।
मलाई ईतिहास निकै मन पर्ने बिषय थियो । ऐतिहासीक बिषयहरुमा चाख लाग्थ्यो ।
सायद सोभियत रुस केहि बर्ष अघि मात्र टुक्रीएको समय थियो । अमेरिका र ईराकबीच अलि भिषण झैं युद्द भर्खरै सकिएको हुनु पर्दछ ।
मेरो वास्तोला थर भएको साथीले अमेरीकाले प्रयोग गरेको हात हतियारको बिषयमा निकै चर्चा गर्दै थियो ।
वास्तोलाको घरमा टिभि थियो । उ हेर्ने गर्दो रहेछ अन्तराष्ट्रिय खबरहरु । मसँग रेडियो मात्रै भएकोले मेरो जानकारीको श्रोत भनेको रेडियोमा आएको समाचार अनि मेरा साथी भाईहरुले यथार्थ वा बडाई चडाई गरी गरेका कुराहरु नै हुन्थ्यो ।
निकै बेर हात हतियार बारे चर्चा भएपछि पुरातात्वीक अनि प्राचिन वस्तुहरुले बिषय प्रवेश पायो हाम्रो गफमा ।
सभ्यताको सुरुवात सँगै प्राचिन कालमा कागजी नोट नबन्दा प्रचलनमा ल्याईने छाला, तामा तथा अन्य घातुका पैसाहरुका बिषयमा समेत चर्चा चल्यो ।
सबैको आ आफ्नै रुचीका बिषय हुँदा रहेछन् ।
वास्तोला अन्तराष्ट्रिय बिषयमा जानकार भए झैं बजगाई भने बिबिध पुरातात्वीक प्राचिन र दुर्लभ बस्तुहरुको बिषयमा भन्दै थियो ।
त्यसताका टिभि रेडियो वा पत्रिकामा यस्ता कुराहरुको विवरण उल्लेख हुने गरेको जस्तो लागेन । तर पनि कसरी थाहा थियो कुन्नी बजगाईलाई यस्तो बारेमा ।
उ भन्दै थियो छालाको पैसा खुब मुल्यवान हुन्छ । गैंडाको खाग, कस्तुरीको बिना, बाघको छालाहरु जस्तै ।
मलाई अचम्म लाग्यो होईन गैंडाको सिड, कस्तुरी वा बाघको छाला त केहि प्रयोगमा आउला तर छालाको पैसाको के प्रयोजन होला र ?
बजगाई यस्ता कुराहरुमा निकै धेरै जानकार भए झैं लाग्दै थियो ।
उ अझै थप्न थाल्यो । छालाको पैसाको जती त होईन तर तामाको दाहिने हाते सिक्काको समेत धेरै पैसा आउछ ।
उसको अन्तीम शब्द सुन्ना साथै मानौं मेरो मन र शरीरमा ठुलो झट्का लाग्यो बिजुलीको । मेरो घरकै छेउमा एघार हजार भोल्टको करेन्ट बहने हाई टेन्सन लाईन थियो त्यही तारको झट्का झैं ।
मेरो घरकै रुख बिरुवाहरुको छेउमा रहेको त्यहि तारको बिजुलीको झट्काले बेला बेला तारमा बस्ने कौवा अनि परेवाहरु भक्क भक्क झर्ने गर्दथे । त्यस्तै गरी झण्डै झरेन मेरो मुटु पनि ।
मेरो घरमा निकै धेरै तामाका बिभिन्न खालका सिक्काहरु थिए ।
एउटा पहेंलो रंगको ठुलो बलीयो कपडाको थैलीमा पोको पारेर राखीएका थिए झण्डै ४ / ५ केजी सिक्काहरु मैले देखे देखी । ति सिक्काहरु कतै नचल्ने भएकोले घरमा यत्तीकै थन्की बसेका थिएँ ।
त्यो पोको खोलेर कतै काम लाग्ने सिक्का छन् कि भनेर धेरै पटक छान्दा पनि नभेटेपछि दराजको कतै कुनामा परिरहेका थिए ती सबै ।
अहिले पो झल्यांस्स भए म बजगाईको कुराले ।
अनेकन आकारमा बिबिध चिन्ह अनि अक्षरहरु कुदिएका सिक्काहरु मध्ये केहिमा हात चिन्ह पनि अंकीत थियो ।
मैले उफ्रीए झैं गरी उत्तेजीत हुदैं बजगाईलाई सोधें, तिमिले कसरी थाहा पायौ ? कसले किन्छ त्यो सिक्का र ?
निकै गम्भीर मुद्रामा रहने उ मेरो अचानक बदलिएको अवस्थाले छक्क पर्दै केहि हाँस्दै भन्यो, ए मेरो साथी छ बजारमा उसले किन्छ तर किन चाहियो तिमिलाई ?
मैले जिन भए पनि भनन कुरा के हो कसरी हो भनें अब केहि शान्त रुपमा ।
उसले म भरे स्कुल सकेर बजार गएर बुझ्छु नि भन्यो ।
उसलाई मेरो वदलिएको शैलीले छक्क पारेकै थियो ।
सँगै हाम्रा वास्तोला लगायत अन्य साथीहरु पनि दंग परेर हाम्रो वार्तालापको मौन श्रोता बनिरहे ।
दाहिने हाते सिक्का प्रतिको लगातारको मेरो जिज्ञासा र कौतुहलताले दंग पर्दै पुन प्रश्न गर्दै थियो वजगाई मलाई, तिमि सँग छ र दाहिने हाते सिक्का ?
अब मैले गर्व मिश्रीत भावमा उत्तेजीत भई भनें, कती छ छ म सँग । कति आउछ पैसा बुझेर आउ तिमि पहिला ।
उसको आँखामा केहि आश्चर्यरुपी चमक देखा पर्यो ।
सदा गम्भीर रहने उसको आफ्नो शैलीलाई नै पछ्याउदै उसले आज बजार गएर बुझ्छु अनि भोली स्कुल आउदा मलाई भन्छु भन्यो ।
म स्कुल सकेर हतार हतार घर पुगि तामाका सिक्काहरु राखीएको थैलि खोलेर दाहिने हाते चिन्ह भएको सिक्का खोज्न थालें ।
सिक्काहरु हेर्दै जाँदा मेरो हर्षको कुनै सिमा नै रहेन जब मैले सैयौं सिक्काहरुको बीचमा एउटा मात्रै होईन सात वटा सिक्काहरु भेटें दाहिने हाते छाप भएको ।
आज बिहान सम्म पनि बेकार लागेका ति सिक्काहरु अहिले मलाई ति तामाका सिक्काहरु सुनको झैं लाग्दै थियो ।
त्यस दिन बेलुकी मलाई न त खाना खान मन लाग्यो न त निदाउन नै सकें राम्ररी ।
म त मात्रै एउटा सिक्काको कती पैसा आउँछ होला भनेर सोच्न थालें ।
नसोचेको त होईन बजगाईको घरमा गई हालु र बुझी हालु भनेर तर उ बजार गएको होला कति बेला आउँछ । होस भोली स्कुलमै भेटेर सोध्छु भनेर गईन ।
अब मलाई भोलीको मात्रै बजगाईलाई भेटी आफु सँग रहेको ७ वटा दाहिने हाते तामाको सिक्काको जानकारी दिनु थियो ।
बिहान १० बजे खुल्ने स्कुल म ९ः३० बजे नै पुगें भोलीपल्ट ।
बजगाईलाई म सँग सात वटा सिक्का भएको कुरा सुनाउने उत्सुकतामा उसको प्रतिक्षा गर्दै बसें ।
१० बज्यो । स्कुल सुरु भयो तर बजगाई आएन ।
स्कुरको चौरमा प्राथना सकेर पहिलो कक्षा सुरु हुँदा सम्म पनि बजगाई आएन ।
कहाँ गयो होला बजगाई ? सिक्काको कुरा गर्यो कि गरेन होला ? के भयो होला भनि मेरो मनको खुल्दुली अब थाम्नै नसकिने गरी बढ्न थाल्यो । मलाई शिक्षकले के पढाईरहनु भएको छ र साथिहरु के बिषयमा कुरा गर्दैछन कुनै पर्वाह भएन ।
म त मात्र बजगाईको प्रतिक्षामा थिएँ।
दोश्रो कक्षा सुरु भएपछि बल्ल आयो बजगाई । बल्ल केहि सान्तोना मिल्यो मलाई ।
म कक्षाको दोश्रो बेन्चमा बस्दथें भने बजगाई अन्तीम बेन्चमा बस्दथ्यो । अब म उ सँग कुरा गर्न चलीरहेको दोश्रो कक्षा कहिले सकिन्छ भनि कुर्दै थिएँ ।
कक्षा सकिना साथै हत्त न पत्त अन्तीम बेन्चमा बजगाईंको छेउमा गएर सोधें मैले, सिक्काको कुरा गर्यौ ? कति पैसा दिन्छ रे एउटाको ?
बजगाईले मेरो कानमा बिस्तारै खुस्खुसाउंदै तिमि सँग कति वटा सिक्का छ भनि सोध्यो ।
मैले म सँग सात वटा रहेको बताए ।
उसलाई अझै म सँग दाहिने हाते सिक्का छ भनेर विश्वास लागेन छ । त्यसैले पुन सोध्यो, दाहिने हाते सिक्का नै हो नी हैन ?
मैले, हो हेरेको छु राम्ररी दाहीने हाते सिक्का नै हो भनें ।
अब उ पनि खुसी हुँदै भन्यो, एउटाको सात सय दिन्छ रे तर मलाई पनि मेरो भाग चाहिन्छ है ।
अब उ केहि चनाखो बन्दै मलाई सम्झाउँदै थियो । यो कुरा हामी दुईकोबीचमा मात्रै रहोस नि । साथीहरु त के घरको मान्छेहरु पनि कसैलाई नभन्नु ।
मैले हिसाब गरें, एउटाको सात सयको दरले सात वटा सिक्काको चार हजार नौ सय आउने रहेछ । आहा, अब मेरो आफ्नै साईकलमा घुम्ने ईच्छा पुरा हुने भयो ।
मलाई साईकल चाहिएको थियो जसको चाह पुरा हुँदै थियो । किन भनिरहनु पर्यो र मैले अरु कसैलाई कहाँबाट के गरी आयो पैसा वा साईकल ।
मैले हुन्छ म कसैलाई भन्दिन तिमी चिन्ता नगर भनि आश्वस्त तुल्याउन खोज्दै थिए उसलाई ।
म फेरी पनि साह्रै उत्साहित हुदैं भने, मलाई एउटा साईकल किन्ने पैसा भए पुग्छ ।
तिमीले भने अनुसार साईकलको पच्चीस सय पर्छ मलाई त्यत्ती नै दिनु वा तिमिले नै साईकल किनीदिनु बाँकी तिमिले नै राख्नु ।
मेरो सिक्का बजारमा लगेर बेचिदिए वापत गुपचुप रुपमा चौबिस सय रुपैया पाउने कुराले उ पनि औधि खुसी भई हुन्छ भन्यो ।
उसले मलाई भोली सबै सिक्काहरु लिएर आउन भन्यो ।
उसले भने बमोजीम नै मैले भोलीपल्ट सबै सात वटा सिक्काहरु ल्याएर बजगाईलाई दिए । आजै सिक्का बेचेर पैसा ल्याउन भनें ।
उ म आज बजार गएर सिक्का बेचेर भोली पैसा लिएर स्कुल आउछु भन्दै मसँग सबै सिक्काहरु लिएर स्कुल सकेर बजार लाग्यो ।
म मेरो साईकलको सपना बोकेर घर तिर लागें ।
रातभरी सोचिरहें भोली बजगाईले पैसा दिएपछि भोली नै बजार गएर साईकल किन्नेछु अनि निस्फीक्री घुम्नेछु आफ्नै साईकलमा । जहाँ मन लाग्छ त्यहि ।
त्यसपछि मलाई मेरा हुने खाने साथीहरु देखेर पटक्कै ईर्सा लाग्ने छैन । डाहा हुने छैन किनकी अब म सँग पनि आफ्नै साईकल हुनेछ ।
मनमा अरु पनि बिचारले डेरा जमाउदै थियो । मलाई कसैले साईकल कसरी कहाँबाट किनिस भन्दा के जवाफ दिने होला । मलाई कसैले गलत सोच्ने त छैनन ?
जे होला होला म सँग मेरो सबै भन्दा ठुलो सपना मेरो आफ्नो साईकल त भईहाल्छ भन्ठानें ।
भोलिपल्ट म आफ्नो सपना साकार पार्न, स्कुल सकेर साईकल किनेर आफ्नै साईकलमा घर फर्कने योजना लिएर ९ः३० बजे नै स्कुल पुगेर बजगाईलाई कुर्न थालें ।
केहि बेरमै बजगाई पनि आयो साईकल चडेर ।
उसको सदा झैं गम्भीर भावकृतिमा ।
म उसलाई देख्ना उसले आफ्नो साईकल अड्याउन पनि नपाउँदै उसलाई अकंमाल गरेझैं गरी झक्झकाउँदै सोधें के भयो तिमिलाई, सिरियस देखीन्छौं नी ? पैसा ल्यायौ ?
उ साईकल अड्याई सकेर मेरो हात समातेर मलाई अफिस कोठाको बाहिर पेटीमा लिएर गयो ।
मैले सोचें अरुले देख्लान पैसा भनेर छेउमा ल्याएको होला ।
चिन्ता मान्नु पर्दैन् । केहि पनि फरक पर्दैन मलाई अरुको अगाडि दिए पनि । कसै सँग चोरेर ल्याएको हो र भन्दै थिएँ।
मेरो कुरा सुनेर उ केहि बोलेन ।
मात्रै सदा भन्दा पनि गम्भीर मुद्रामै खिसी युक्त हाँसो फिस्स हाँसे जस्तो गर्दै उसले आफ्नो देब्रे हात खल्तीमा हाल्यो ।
म उसले दिन लागेको पच्चीस सय रुपैया थाप्न व्यग्र रुपमा आफ्नो हात उसको सामुन्ने बढाईरहेको थिएँ।
उसले आफ्नो खल्तीबाट हात झीकी मुठी बटारे झैं गर्यो ।
म देउन मेरो पैसा भन्दै उसको अगाडी आफ्नो बढाएको हात हल्लाउदै थिए ।
उसले कसेको मुठी फुकाउँदै पच्चीस सयको सट्टा मैले दिएका सबै सात वटै सिक्काहरु मेरो दाहिने हातमा थमाउँदै भन्यो, उल्टो परेछ यो सबै दाहिने हाते सिक्का होईन रहेछ । देब्रे हाते रहेछ ।
उसको कुरा सुनेर मेरो खुसी र उत्साहले फक्रक्क फुलेको मन ओईलाएर फ्यात्तै कुहियो तत्कालै ।
मेरो हात मात्र होईन सारा शरिर काम्न थाल्यो ।
मेरो हातले उसले फिर्ता दिएको सिक्काहरु पनि थाम्न सकिन ।
स्कुलको पेटिमा छरीयो सबै सिक्काहरु छन्द्रान्गं गर्दै ।
मेरो साईकल किन्ने मिठो जिउँदो सपना जोडको पत्थरको प्रहारले काँच झर्याम्म फुटे झैं फुट्यो त्यहि ठानिएको तामाको दाहिने हाते सिक्काले ।
397 पटक पढिएको
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments