सिंहदरबारले बिर्सेको व्यक्तित्व !

नेपालपाटी टिप्पणी

आइतवार, पुस २७, २०७६

- दीपेन्द्र पाण्डे



बाईसे र चौबिसे राज्यहरूलाई एकत्रित गरी विशाल आधुनिक नेपालको सिर्जना गर्ने पृथ्वीनारायण शाहको जन्म ११ जनवरी १७२३ अर्थात् वि.सं.१७७९ पुष २७ गते भएको थियो । वि.सं.१८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा देहत्याग गर्नु भन्दा अगाडि उनले शुरु गरेको एकीकरण अभियानको कारण नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । वि.सं.१८७३ सालमा सुगौली सन्धि नहुन्जेलसम्म चलेको एकीकरण अभियानको जन्मदाता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन वि.सं. २००९ साल देखी योगी नरहरी नाथले शुरु गरेको इतिहास पढ्न पाइन्छ ।

राजा नरभूपाल शाहको मृत्यु पछि २० वर्षको उमेरमा पृथ्वीनारायण शाह गोरखाका राजा बनेका थिए । तात्कालिन समयमा गोरखा राज्य आर्थिक, सामरिक हिसाबले सम्पन्न थिएन । धनुवाण, तरबार, घोडसवारी दौडमा निपूर्ण उनी नुवाकोट युद्धमा गोरखा पराजीत भएसँगै आवश्यक हातहतियारको प्रबन्ध गर्न पृथ्वीनारायण शाह बनारस पुगे। बनारसबाट फर्के लगत्तै वि.सं.१८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथि पृथ्वीनारायण शाहले हमला गरे। करिब १ हजार सैनिक सहित गरिएको नुवाकोट आक्रमणमा गोर्खाली फौजले विजय प्राप्त गर्‍यो ।

वि.सं.१८१४ मा कीर्तिपुर माथि आक्रमण गर्दा सेनापति कालु पाण्डे मारिए । तीन पटकको प्रयासमा कीर्तिपुर माथि विजय हासिल गरेसँगै गोरखा राज्यको सिमाना धेरै हदसम्म फैलिएको थियो साथै गोरखा राज्य फौज र युद्ध कौशलमा निपूर्ण बन्न सफल भयो । कीर्तिपुरमा जीत हासिल गरेसँगै हौसिएको गोरखा फौजले क्रमशः कान्तिपुर ,ललितपुर , भक्तपुर माथि सहज जीत हासिल गर्‍यो । कीर्तिपुर, कान्तिपुर, लतितपुर र भक्तपुरमा युद्धपश्चात् गोरखा फौजबाट चर्को दमन गरियो भन्ने आरोप पढ्न पाइन्छ । “नेपाल दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।” जस्ता दिव्य उपदेश दिँदै देहत्याग गरेका पृथ्वीनारायण शाहले चाहेको भए जीत पश्चात् गोरखालाई गुल्जार बनाउन सक्थे । तर उनले गोरखा राज्य कान्तिपुरसँग मिलाउन राजी भए ।

कीर्तिपुरसँग पहिलो युद्धमा सेनापति मारिएको, दोस्रो युद्धमा भाइ शुरप्रताप शाहको आँखा फुटेको, गोरखा तर्फका सैनिकहरू धेरै हताहती भएको, कान्तिपुर राजा जयप्रकाश मल्लले अङ्ग्रेज फौजसँग सहयोग मागेको कारण युद्धपश्चात् सामान्य दमन हुनु तात्कालिन परिवेशमा जायज नै मान्न सकिन्छ । काठमाडौँका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिंह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा रहेकै बखत भक्तपुर माथि विजय हासिल गरेपछि पराजीत राजाहरू जयप्रकाश मल्ल र रणजित मल्ललाई उनीहरूको इच्छा बमोजिम पशुपति र काशीवासको व्यवस्था मिलाउनुले पृथ्वीनारायण शाह क्रूर र हिंस्रक थिए भन्ने आरोप स्वतः खारेज हुन्छ । तमाम समस्या झेल्दै विजय प्राप्त गरेको कान्तिपुरमा राजधानी सार्न राजी हुनु , काठमाडौँको नेवार कन्यालाई पुज्न तयार हुनु, प्रधानमन्त्री र सेनापति बाहेक सम्पूर्ण पदमा जान उपत्यकाका मानिसलाई छुट दिनु, नेपाल राज्यलाई चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो भन्नुले उनी दूरदर्शी शासक प्रशासक हुन भन्न सकिन्छ ।

धर्म प्रचारको नाममा उपत्यका छिरेको इसाईलाई देश निकाला गरेको रिस पोख्दै पृथ्वीनारायण शाह माथि आरोप लगाउने इसाई लेखकहरूको नियत वर्तमान पुस्ताले गहिरोसँग अध्ययन,विश्लेषण गर्नु अनिवार्य छ । मुलुकको अस्तित्व र पहिचान सिर्जना गर्ने पृथ्वीनारायण शाह माथि अनेक कोणबाट आक्रमण गर्ने तप्का, क्षेत्रको नियत र मनसाय बुझ्नु मुलुकवाशीको कर्तव्य हुन आउँछ । पृथ्वीनारायण शाहले राज्यहरूको एकीकरण गरेर नेपाल राष्ट्र निर्माण गरे । राज्यहरूसँग अन्तर्निहित जनसङ्ख्या, भूभाग, सार्वभौमिकतालाई समान आकाङ्क्षा, बुझाइ, भूभाग, इतिहास, भाषा संस्कृतिमा परिणत गर्ने काम गरे । फलस्वरुप आधुनिक नेपालको निर्माण हुन पुग्यो ।

राजा भएर पनि आफ्नै खुट्टाले हिँडेर एकीकरण अभियानमा निस्केका राजालाई वर्तमान समयमा रणनीतिक ढङ्गले आरोपित गर्ने कार्य भइरहेका छन् । तात्कालिन परिवेशमा युद्धको दौरान भएका घटनालाई अतिरञ्जीत गर्ने र राष्ट्र निर्मातालाई अपमानित गर्ने कार्यलाई कदापि समर्थन गर्न सकिँदैन । बिसे नगर्ची र कालु पाण्डेसँगै युद्ध मैदानमा खट्ने राजा सामन्ती र निरङ्कुश हुने फगत कुर्सीको निम्ति जनताको छोराछोरी मार्दै मुलुकको अस्तित्व धरापमा पार्ने नेता लोकतन्त्रवादी र गणतन्त्रवादी हुने परिवर्तन मुलुकवाशीले भोग्दै छन् । आफ्नै राष्ट्र निर्माताको अपमान गर्ने, मुलुक निर्माणको निम्ति दिन रात एक गर्ने दिवङ्गत राजाको हुर्मत लिने पश्चिमाहरूकै लहलहैमा सिंहदरबार समेत सहयोगी बन्दै छ । उत्तर र दक्षिणको राष्ट्रप्रमुख मुलुक आउँदा सार्वजनिक बिदा दिने तर आफ्नै मुलुक निर्मातालाई बिर्सने सिंहदरबारको गैर राजनीतिक चरित्रलाई नागरिक स्तरबाट अस्वीकार गर्नु पर्दछ । साथै सिंहदरबारले बिर्सेको व्यक्तित्व आधुनिक नेपालको जन्मदाता पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्नु तमाम नेपालीको कर्तव्य हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments