मोबाइल एडिक्सन : बच्चाको खेलौना, वयस्कको नशा

सोमवार, भदौ २३, २०७६



काठमाडौं । एकदिन मोबाइल नबोकी हिड्न सक्नुहुन्छ ? एक घण्टासम्म मोबाइल नचलाई रहन सक्नुहुन्छ ? दुवै प्रश्नको एउटै जवाफले मोबाइल मानिसका लागि अभिन्न अंग बनिसकेको देखाउँछ । मोबाइल सजिलो र युजर फ्रेन्ड्ली छ। त्यसकारण पनि धेरै मानिस मोबाइल प्रयोगकर्ता भएका छन्।

प्रविधिको विकास र अत्यधिक प्रयोगसँगै आजकाल अधिकांश मानिस काँध र पिठ्युँको मांसपेशी दुख्ने समस्याबाट पीडित छन्। बाध्यतावश होस् या लतका कारण, मोबाइल, ल्यापटपमा घण्टौं झुण्डिरहने जमात बढ्दो छ।  बच्चाहरू विभिन्न एप र गेमहरूमा भुलाईरहेको यस मोबाइल फोनले वयस्क एवम् तन्नेरी जमातलाई कम बोल्ने, एक्लो महसुस गराउने, निन्द्रा लाग्न नदिने, एङ्जाइटी, डिप्रेसनलगायत समस्या निम्ताएको छ ।

अष्ट्रेलियामा गरिएको एक अध्ययनमा मोबाइल फोन प्रयोग गरेका बेला अधिकांशको गर्धन र पिठ्युँ झुक्ने गरेको र त्यसबाट शरीरका कयौं भागमा पीडा शुरु हुने गरेको पाइएको थियो। यसलाई ‘टेक्स्ट सिन्ड्रोम’ या ‘टेक्स्ट नेक’ भनिन्छ।

अध्ययनकर्ताका अनुसार यो समस्याबाट पीडित बिरामीको संख्या विश्वभर तीब्र गतिमा बढ्दो छ। स्मार्टफोनको लगातार प्रयोगका कारण ५० प्रतिशत मानिसहरू यो समस्याबाट पीडित भएको आँकलन गरिएको छ। मानिसहरू गर्धन दुख्ने समस्या रहेको भन्ने गर्छन्। तर आफू ‘टेक्स्ट नेक’ को शिकार भएको उनीहरूलाई थाहा हुँदैंन।

प्रायः मानिस मोइबाल अत्यावश्यक कामबाहेक पनि भिडियो हेर्न, गेम खेल्न तथा सामाजिक सन्जालमा व्यस्त हुन घन्टौं बिताउँछन् । यस्तो बानी निकै घातक हो । अझ बच्चाहरूका लागि त यो झनै घातक हुन्छ । मोबाइल एडिक्सन बच्चाको खेलौना र वयस्कको नशा बनिरहेको छ ।

 स्पाइन र गर्धनको थकाई 

लगातार मोबाइल फोन चलाउँदा स्पाइन र गर्धनमा थकान हुन्छ। यहीकारण ऐंठन  हुन्छ।

मेरुदण्डलाई सन्तुलनमा राख्न हड्डी र मांशपेसीको बराबर भुमिका हुन्छ। जब मानिस लगातार निहुरिएर केही काम गर्छन्, त्यसबाट  उसको मांशपेसीमा अधिक भार पर्न गई मांशपेसी सिथिल हुन्छ। र, यसका कारण हड्डीले बढी भार बहन गर्नैपर्ने हुन्छ। यही असन्तुलनबाट दुखाई उत्पन्न हुन्छ।

सामान्य अवस्थामा मानिस सिधा बसेर काम गर्दा टाउकाको भार मेरुदण्ड हुँदै तल जान्छ। यो अवस्थामा मांशपेसीमा कम भार पर्छ। तर, जब निहुरिएर लगातार काम गर्छन् त्यो अवस्थामा टाउकाको भार मेरुदण्डभन्दा अगाडि जाने हुन्छ र त्यसको भार मांशपेसीले बहन गर्छ। फलस्वरुप मांशपेसी कमजोर हुँदै जान्छ।

मांशपेसीका रेसामा साना–साना चिरा पर्छन् र आराम नपाएको अवस्थामा ती चिरा जालो बन्दै पुरिन्छ र त्यसले मासुमा साना–साना डल्ला बनाउँछ। यी डल्लाहरू कालान्तरसम्म दुखिरहन्छन्।

दिमागमा सोझै असर

मोबाइलबाट निस्कने रेडिएसनको सोझै मानिसको दिमागमा असर पुर्याउने पर्छ । यसले मानिसको सम्झने शक्ति नष्ट गर्दै जान्छ । फोनबाट निस्कने सिग्नलले दिमागलाई प्रभावित पार्छ, जसको सम्बन्ध मेमोरी र सिकाइसँग हुन्छ ।

अझ अर्को कुरा, यदि बच्चाले मोबाइल या यस्तो प्रकृतिको डिभाइस बढी र धेरैभन्दा धेरै समय चलाउन थाले पनि उनीहरूको सिकाइ क्षमतामा क्रमशः घट्दै जान्छ । यो समस्या निकै बढेको छ । आज संसारका लाखौं बच्चा यही समस्याबाट गुज्रिरहेका छन् ।

त्यत्ति मात्रै हैन, मोबाइल धेरै चलाउने बानीले मानिसको निर्णय क्षमता समेत घट्ने गर्दछ ।

दिनमा पाँचभन्दा बढी सेल्फी खिच्ने रहर

मोबाइलको अत्यधिक प्रयोगले ‘फ्यान्टम भाइब्रेसन सिन्ड्रोम’ (मोबाइल फोन आफूसँग नभएको बेला पनि फोन बजेको वा थर्केको जस्तो आभास हुने), ‘नोमोफोबिया’ (‘मोबाइल हराउँछ र फोन नचलाई बस्नुपर्छ, फोनबिहीन हुनुपर्छ भन्ने भय) र ‘सेल्फाइटिस’ (दिनमा पाँचभन्दा बढी सेल्फी खिच्ने रहर) जस्ता समस्या भित्रिएको पछिल्ला अध्यनहरूले देखाएका छन् ।

शरीरमा पिम्पल्स र खटिरा !

विभिन्न अध्ययनहरूका अनुसार धेरै मोबाइल फोन चलाउने व्यक्तिहरूको  शरीमा खटिरा र पिम्पल्स निस्कन थाल्छन् । मोबाइल फोनमा अत्यधिक धुलो र फोहोर हुन्छ, जुन ब्याक्टेरिया प्रजननका लागि सुरक्षित ठाउँ बन्छ । त्यसैले प्रत्येक समय मोबाइलमा कुरा गर्दा या आफ्नो कानसम्म मोबाइल लैजाँदा यस्ता फोहोर र ब्याक्टेरिया सजिलै छालामा सर्छ ।

यति भएपछि त अनुहारमा दाग र कालो धब्बाको समस्या आउने भइहाल्यो । अझ हामीले ख्याल नगरी तुरुन्तै सफा गरेनौं भने यसले अनुहारमा खटिरा निम्त्याउँछ ।

बूढोपना भित्राउँदै 

अत्यधिक मोबाइल चलाउने मानिसमा चाँडै बूढोपना देखिने विभिन्न अध्ययनहरूले प्रमाणित गरेको छ । मोबाइलको स्क्रिनबाट निस्कने प्रकाशको सम्पर्कमा रहँदा छालामा ‘हाइपर पिङमेन्टेसन’ हुनुका साथै बूढोपनको समस्या आउने गर्छ । यसले छालाको चमकतालाई नष्ट गर्छ ।

भारतमा एक व्यक्ति औसत ३ घण्टा मोबाइलमा बिताउँछ भने अमेरिकामा यो अवधि ५ घण्टासम्मको छ। यस्तै चिनियाँहरू पनि ३ देखि ४ घण्टा मोबाइलमा बिताइरहेका छन् । नेपालमा मोवाइल चलाउनेको संख्या बढ्दो भएता पनि यस किसिमको कुनै पनि अनुसन्यधानको अभावमा एक नेपालीले दिनमा कति घण्टा मोबाइल चलाउँछ भनेर कुनै तथ्य बाहिर आएको छैन । यद्दपी  ‘टेक्स्ट नेक’ भएका समस्या लिएर अस्पतालमा आउनेहरूको संख्या बढिरहेको नाकम कान घाँटी सम्बन्धि उपचार गर्ने डाक्टरहरू बताउँछन् । यसको अलवा यौन सम्बन्धि समस्याको कारकरुपमा पनि मोबाइल र ल्यापटपलाई लिईएको छ ।

‘टेक्स्ट सिण्ड्रोम’को समयमै उपचार नगर्ने हो भने  थकित मांशपेसीले टाउकाको भार बहन गर्न नसकेको अवस्थामा सबै भार मेरुदण्डको हड्डीमा जान्छ। जसले गर्दा हड्डी छिटो खिइने र हड्डीहरू पलाएर नसा च्यापिने समस्या आउन सक्छ। जसका कारण विस्तारै हातहरू झम्झमाउने साथै कमजोर पनि हुनसक्छ।

निरन्तरको झुकाई र खराब बसाईका कारण गर्धन र ढाडको हड्डीमा बारम्बार तनाव पर्दा हड्डीको समस्या बढ्न  थाल्छ। शुरुमा टाउको पछाडीको तल्लो भाग र काँधको दुखाई हुन्छ। बिस्तारै ढाडको हड्डीमा टेढोपन आउन सक्छ। यसलाई चिकित्सकीय भाषामा ‘लस अफ सरभाइकल लोर्डोसिस’ भनिन्छ। यदि शुरुमै ध्यान नदिने हो भने स्लिप डिस्क (मेरुदण्डको दुई हड्डीको बिचमा हुने कुरकुरे हड्डी बाहिर आउने) समस्या पनि हुन सक्छ।

उपचार

टेक्स्ट नेक समस्याको सबैभन्दा पहिलो उपचार भनेको नै मोबाइल, ल्यापटप, ट्याब लगायतका प्रविधिको कमभन्दा कम प्रयोग गर्ने नै हो। समस्या देखिइसकेको बिरामीको हकमा औषधि र फिजिओथेरापी प्रारम्भिक उपचार हो। तर केही अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ।

हाम्रो समाजमा केही दिन औषधि र फिजियो गरेपछि समस्या पूर्ण रुपमा समाधान भयो भन्ने सोच्ने गरिन्छ। जसका कारण बिरामीमा समस्या पटक–पटक बल्झिने गरेको देखिन्छ। फलस्वरुप बिरामीले उपचारका लागि चिकित्सक फेर्दै हिँड्ने गरेको पाइन्छ। त्यसकारण बिरामीले चिकित्सकको सल्लाह बमोजिमकै औषधि र फिजियोथेरापी अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata