कोरोना भाइरसले मच्चायो विश्वका प्रमुख बजारमा हलचल

मङ्लबार, फाल्गुन २७, २०७६



काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्रास बढिरहँदा विश्वका बजारमा समेत ठूलो हलचल पैदा भएको छ । साउदी अरबले तेलको उत्पादन बढाउने निर्णय गरेपछि तेलको मूल्यमा नाटकीय रूपमा गिरावट आएको छ । तेलमा २५ देखि ३० प्रतिशतसम्म गिरावट आएपछि बजारहरूमा समेत हलचल पैदा भएको छ ।

साउदी अरबको कदम र कोरोना भाइरसको संक्रमणको प्रभाव विश्व बजारमा देखिएको छ । विश्वभरी कोरोना भाइरसको त्रास बढ्दै गर्दा तेलको मूल्य ओरालो लागेपछि त्यसको असर विश्व बजारमा पर्न थालेको हो ।

सोमवार बजार खुलेलगत्तै अमेरिकाको न्यूयोर्क र ब्राजिलको साओपाओलोका शेयर बजारहरूमा भारी गिरावट आएको विवरण प्राप्त भएका छन्।

युरोपेली बजारमा असर देखिँदै गर्दा बेलायतको मुख्य शेयर सूचकांकले विश्व आर्थिक संकट भएयताकै खराब दिनको सामना गरेको छ। प्रमुख व्यापारिक फर्महरूले अर्बौको घाटा बेहोरेका छन्।

बेन्टको कच्चा तेलको मूल्य प्रति ब्यारेल ३६ डलरभन्दा कममा झरेको छ। युरोपेली बजारमा आठ प्रतिशतले गिरावट आएको छ। न्यूयोर्कको बजारमा पनि त्यसको असर पर्न सक्ने चिन्ता बढेको छ।

तेल उत्पादन बढाउने साउदी अरबको एकपक्षीय निर्णय र कोरोना भाइरसको प्रकोपका कारण व्यापारिक गतिविधिमा परेको प्रभावका कारण तेलको मूल्यमा भारी गिरावट आएको हो । कोरोना भाइरसको असरललाई लिएर गहिरो रुपमा चिन्ता व्यक्त भइरहेका बेला अमेरिकी शेयरबजारमा ठूलो धक्का लागेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा निकायले सन् २००९ को आर्थिक संकट सकिएपछि पहिलो पटक तेलको माग कम हुने भविष्यवाणी गरेको छ ।

तेल उत्पादक देशहरूको संगठन ओपेक र रुस तेल उत्पादन कटौती गर्ने विषयमा सहमत नभएपछि बजारमा तेलको परिमाण बढ्ने सम्भावना बढेको छ । तेल निर्यातकर्ता देशहरूको मुद्रा पनि अवमूल्यन हुन थालेको छ । रुसी रुबल अमेरिकी डलरको तुलनामा ६ प्रतिशतले तल झरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments