नेकपामा दुई सदस्यीय सर्वसम्मत सहमति, नहोस है क्षति !

नेपालपाटी टिप्पणी

मङ्लबार, बैशाख १०, २०७६

- भूपेन्द्र शाह



नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमतको सरकार चलाइरहेको छ । विश्व कम्युनिष्ट आन्दोलनले ठुला धक्का खाइरहेको समयमा नेपालमा भने दिनदिनै कम्युनिष्टहरु बढ्दै गरेको मान्ने आधार उनीहरुले जनता र पार्टी कार्यकताको मन मन्दिरमा बस्दै अन्तरपार्टी लोकतन्त्रको आधारमा पार्टी चलाउनुलाई मानिदै  आएको छ । ७० वर्ष पार गर्दै ७१ वर्षमा प्रवेश गरेको समय पार्दै करिव एक वर्ष देखि विरामी परेको कम्युनिष्ट सङ्गठनले भागवण्डाको आधारमा दुई सदस्यीय सर्वसम्मत सहमतिले एउटा आकार लिन सफल भएको छ ।

नेपालमा कम्युनिष्ट पार्टीले लिएको लक्ष्य प्राप्त गर्न माओवादी युद्ध र एमालेको संसदीय अभ्यासको ‘फ्युजन’ गर्दै प्राप्त सिंहदरबारको कुर्सीपछी वाम आन्दोलन पार्टीभित्र कम्युनिष्ट शासन निम्ताउन गरिएको पछिल्लो अभ्यासपछी गम्भीर सवालले जन्म लिएको छ । मदन भण्डारीको जबजको प्रभावबाट हुर्किएका नेता समेत जनवादी केन्द्रीयताको अभ्यास गर्न मरिहत्ते गर्दै गर्दा कम्युनिष्ट पार्टीको आन्तरिक लोकतन्त्र धरापमा परेको देखिने आधार स्थायी समिति र केन्द्रीय समितिको औचित्य समाप्त पारिएको वर्तमान अवस्थालाई लिन सकिन्छ । सामन्तवाद, साम्राज्यवाद विरोधी आन्दोलनबाट खारिदै राष्ट्रवाद र समृद्धवादको डिलमा पुगेको नेपाली बाम-आन्दोलन ‘भागवण्डा’मा आधारित एकतामा टुङ्गिन पुग्दा आगामी कार्यदिशा र कार्यक्रम दुई सदस्यीय सर्वसम्मतीमा पार्टी सत्ता कब्जा गर्दै संसदीय र राजकिय सुविधा प्राप्त गर्ने रहेको मान्न सकिन्छ ।

कमरेड प्रचण्डको भाषामा अगाडी बढ्दै, हराउँदै, पार्टीमा अनेकौं गाँठो निर्माण गर्दै, पछाडी फर्किदै, शुरुको अवस्थामा फर्किदै पाटी एकता टुङ्याएको पार्टीमा हराएको आन्तरिक लोकतन्त्र र वैचारिक बहसपछि पार्टीमा नयाँ गाँठो परेको मान्न सकिन्छ । कम्युनिष्ट पार्टी चल्ने भनेको विचारको आधारमा हो । शासक कमरेडहरुले समेत स्वीकार गर्ने वाम विचार भनेको कुर्सी मान्दै पछिल्लो अवस्थापछी मार्क्सवाद, लेनिनवादको आधारभूत सिद्धान्त झनै भुत्ते बन्न जाने चिन्ता पार्टीमा सर्वत्र सुनिदै छ ।

कुर्सी प्राप्तीको निम्ति हरेक बैठकमा सहमती र सहकार्यको गायत्री मन्त्र जप्ने अध्यक्ष कमरेड सिंहदरबार र पार्टी कार्यालयको सिंहासन प्राप्त गरेसँगै सहयोगी खोज्न मात्र राजी छन । कुर्सीको निम्ति मुलुकवाशीलाई आश्वासन, दक्षिणलाई नागरिकता, पश्चिमलाई संघीयता र धर्म निरपेक्षता दिंदै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर लिन राजी कमरेडहरु पाँच वर्षे जनादेश प्राप्त गर्ना साथ आफ्नै सहयोद्धा कमरेडलाई बोझ सम्झदै दर किनार गर्न व्यस्त छन ।

सामन्तवादको चर्को विरोध गर्ने, सामुहिकता र सहकार्यबाट पार्टीका अन्तर पार्टी सञ्जाल चलाउँदै समाजवाद तर्फको यात्रामा अगाडी बढने पार्टीको विगतलाई बिर्सदै फगत कुर्सी केन्द्रीत पदीय बाँडफाँडले कम्युनिष्ट पार्टी नयाँ भडखालोमा जाकिने पार्टी नेताहरुकै स्वर सुनिनु नेकपाको निम्ति शुभ संकेत मान्न सकिन्न । दुई ठुला कम्युनिष्ट पार्टी मिलाउँदै शान्ति , स्थिरता र समृद्धिको अभियानमा लाग्ने समयमा संस्थागत मुल्य र मान्यता स्थापित गर्न चुकेको नेकपा राजनीति गम्भिर समस्यामा रहेको संकेत दुई पार्टी एक गर्न अहोरात्र खटने नेताहरुलाई बेवास्था गर्न तयार हुनुलाई मान्न सकिन्छ ।

सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, अन्याय, अत्याचारको विरुद्ध लडन जती सजिलो छ । त्यसको सैयौं गुणा अन्तर पार्टी समस्या वा आन्तरिक लोकतन्त्रको निम्ति लडन मुस्किल हुन्छ भन्ने बुझेका दुई अध्यक्ष र पार्टी महासचिवको पेलानलाई किन र कती सहने भन्ने यक्ष प्रश्न जन्माउँदै पुर्ण गरिएको पार्टी एकताले वाम आन्दोलनलाई नयाँ ताजगी दिन असफल भएको छ । करीव वर्ष दिन बेरोजगार बन्दै नयाँ अवसरको खोजीमा रहेका पार्टी कार्यकर्तालाई निरास पार्दै सम्पन्न सांगठनिक एकता घोषणा कार्यक्रम स्थलबाट बरिष्ठ नेता नै मन अमिलो बनाउन बाध्य भएको घटनाले ७० वर्ष देखी देखाइएको तमाम सपना फेरी पनि सपना मै सिमित हुन्छ कि भन्ने चिन्ता सर्बत्र फैलिएको छ ।

कार्यक्षमता , कार्यकुशलता , निष्ठा , योग्यता , निरन्तर कृयाशिलता , जेष्ठता , अनुभव जस्ता कुरा सुन्न पनि नचाहने शासक नेतृत्वले पार्टीलाई विधि र पद्धतिमा हिडाउनु पर्छ भन्ने भनाईलाई आफ्नो अधिकार कटौती सम्झन पुग्यो । कार्यदल मार्फत नेकपाको जिम्मेवारी वितरण गर्दा  र पार्टी संस्थागत ढंगले चल्दा भक्तहरुको प्रमोशन र डिमोसन गर्न असम्भव हुने मानेको पुष्टी आठ केन्द्रिय सदस्यले बधाई पनि दुई-दुई पटक खान बाध्य हुनुलाई मानिदै छ ।

वर्तमान नेपालमा ‘आफै लेनिन आफै मार्क्स’ सम्झने नविन शासकीय शैली तत्काल सच्याउन पार्टी कार्यकर्ताको दवाद अनिवार्य हुन पुगेको छ । देश र अन्तराष्ट्रिय परिस्थितिको सहि विश्लेषण गर्न चुकेको नेपाली वाम आन्दोलन केवल लफ्फाजीमा मात्र टिक्ने मनोगत र आत्मगत प्रवृति कमरेड प्रचण्ड र ओलीले तत्काल  स्थगित गर्दै पार्टी र सरकारकाे मूल्यांकन र विश्लेषण गर्न ढिला हुँदैछ। विगतदेखि लिएका आफ्नै धारणा , विचार, वर्ग संघर्षलाई बिर्सदैं वडा कमिटी सम्म कब्जा गर्दै ‘धन र कुर्सी’ प्राप्त गर्ने मिशन तत्काल स्थगीत नगरे नेकपाको शरिर दुब्लाउने निस्चित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank