मुलुकले धान्न सक्दैन अर्को प्रचण्ड !

मङ्लबार, माघ २९, २०७५

- भूपेन्द्र शाह



पूर्व एमाले र माओवादी केन्द्र मर्ज गर्दै जन्माइएको नेकपाको विकास जनता र पार्टी कार्यकर्ताले चाहे ढंगले भइरहेको छैन । नौं महिना पुग्दा पनि वामे नसरेको नेकपा पार्टीको पूर्ण एकता कार्यदल मार्फत सेरलेक्स खुवाएर भएपनि चलायमान बनाउने केन्द्रिय सचिवालयको आदेश विचित्रको चक्रब्युहमा फसेको मिडियामा आइरहेको छ । करिव सात लाख कार्यकर्तालाई बेरोजगार बनाउँदै खोजिएको स्वार्थ दुई अध्यक्षको पकडमा मात्र अब रहेन । सिद्धान्त , विचार , नीति , नियम र पद्धति शुरु हुना साथ आफ्ना हात खुट्टा बाँधिने डर पछि नेकपामा माओवादीको अस्तित्व कसरी सुरक्षित राख्ने भन्ने रणनीतिमा अध्यक्ष प्रचण्डबाट अनेक चालबाजी अनेक रुपमा प्रकट हुँदै आएको नबुझिने कुरो रहेन ।

अस्थीरता , अशान्ति , भ्रष्टाचार , झैझगडाबाट वाक्क दिक्क भएका जनता मतपत्र मार्फत वाम गठबन्धनलाई सुबिधाजनक अंक गणित सहित पाँच वर्षे सत्ता सुम्पेर शान्ति , स्थीरता र विकासको कुरा मात्र देख्न र सुन्न चाहन्छन । मजबुत सरकार , अग्रगामी विचार , प्रगतिशिल कार्यक्रम र मुर्छित सपना साथ हिडिरहेको वाम सरकार प्रचण्डको आफ्नै लगानी र रहरमा बनेको छ । आम जनता , नेकपा र आफ्नै सपना पुरा गर्न निरिह प्रतिपक्ष बाधक बन्न सक्दैन । नीति , नियम , कानून , संविधान कहिं कतै बाधक बन्न लागे त्यसको उचित निकास खोज्ने शक्ति जनताले दिएका छन । त्यसका बाबजुद गत शुक्रबार जनताको इच्छा , चाहाना र आवश्यकतालाई अन्देखा गर्दै मुलुकमा अर्को माओवादी जन्मने चेतावनी आम मानिसले देख्न र सुन्न बाध्य भए । स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया नामक पुस्तक विमोचन कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म विपरित सरकार अघि बढे माओवादी विद्रोह जन्मने धम्की सँगै सरकारको कडा आलोचना गरे ।

२०५२ साल देखी प्रचण्ड नेतृत्वमा लादिएको दश वर्षे माओवादी ध्वसंले मुलुकको अस्तित्व इतिहासमै कमजोर बनेको अवस्था भुल्दै फेरि अर्को माओवादी युद्ध र प्रचण्ड मुलुकले थेग्न नसक्ने बुझ्दा बुझ्दै आफ्नै सरकारको विरुद्ध प्रचण्ड जस्तो चतुर र रणनीतिक नेता सार्वजनिक स्थानमा किन प्रस्तुत भए ? भन्ने सवालमा अनेक कोणबाट चर्चा परिचर्चा भइरहेका छन । शान्ति प्रकृयासँगै जन्माइएका तमाम आयोग जीवित रहेको अवस्थामा वा आयोगले आफ्नो काम गरिइरहेको कुरालाई शंकाको दृष्टिकोणले हेर्दै फ्याँकिएको प्रचण्ड तिर जनताको भलाईको निम्ति हुँदै हैन । क्यान्टोनमेन्टमा गरिएको आर्थिक गडबडी र युद्ध अपराधको फाइल सदाको लागि बन्द गराउन गरिएको नाटक अन्तर्गतको संवाद स्वरुप निस्किएको चेतावनी मान्नेहरु जताततै भेटिन्छन । आम जनतालाई देखाइएको रुमानी सपनाले मुलुकमा पारेको आर्थिक , भौतिक , राजनीतिक क्षतिको तुलनामा अत्यन्त झिनो उपलब्धि हात लागेको सबै भन्दा बढि अध्यक्षले नबुझ्ने कुरै रहेन । १७ हजारको बलिदानी , हजारौं अंग भङ्ग , सयौं लापता , अथाह मनोवैज्ञानिक क्षति मात्र हैन मुलुकको सार्वभौम सत्ता समेत बसाई सराईमा पर्दा पनि जनताको मुहारमा खुशी दिन असफल माओवादी ध्वसं प्रचण्डको निम्ति मालामाल भएको सर्वसाधारण सम्मले बुझ्न सफल भएका छन ।

तीन पटक सभासद , दुई पटक प्रधानमन्त्री , जीवनभर पार्टी अध्यक्ष बनाउँदा पनि जनताले शान्ति र विकास नपाउने अवस्थाको जिम्मेवार को हो ? एकैसाथ कुटनीतिक र रणनीतिक तीर फ्याँक्ने प्रचण्ड चेतावनी पछि नेपालमा आम नागरिकको स्वतन्त्रता र सार्वभौमसत्ता प्रचण्ड कै निम्ति किन गुमाउनु पर्ने ? उनको नीजी इच्छाको निम्ति मुलुकले कहिले सम्म अनुपयुक्त धम्की सुनीरहनु पर्ने ? आफ्नै सरकार र पार्टीको निम्ति सहयोगी बन्न नसक्ने प्रचण्ड मुलुकले किन बोक्नु पर्ने ? एउटा व्यक्तीको निम्ति राष्ट्र , जनता र राजनीति कति र कहिले सम्म पराधिन बन्ने भन्ने सवाल अकस्मात चुलिएको छ । अनुपयुक्त समयमा अनुपयुक्त ढंगले जनतालाई तर्साउने प्रचण्ड खेल मुलुकले धान्न सक्दैन साथै अर्को प्रचण्ड जन्माउने कल्पना समेत गर्न सक्दैन भन्ने वर्तमान प्रचण्डले समेत बुझ्नु अत्याबश्यक छ ।

विगतको आरोह अबरोहबाट शिक्षा लिंदै जनताको पछिल्लो जनादेशको सम्मान गर्दै अघि बढनु स्वयम प्रचण्डको निम्ति हितकर हुनेछ । मेलमिलाप , आत्म आलोचना , क्षमा याचनासँगै जनताको हर सुख दुखमा सहभागी बन्दै सहकार्य गर्नु वाम आन्दोलन , प्रचण्ड र मुलुकवासीको निम्ति सहि र उचित हुनेछ । सबै क्षेत्रबाट जिर्ण अवस्थामा पुगेको मुलुकलाई शान्तिपुर्ण बाटोबाट समृद्धिको यात्रा तय गर्न तमाम जालझेल , तिगडम , षडयन्त्र , धम्की , चेतावनी त्याग्दै धैर्य , नम्र , भद्र , शिष्ट र आसावादी बन्न सके अर्को प्रचण्डको खोजी कहिल्यै गरिने छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments