परिक्रमावादीको बिचित्र बिचार !

नेपालपाटी टिप्पणी

शनिबार, पुस ७, २०७५

- भूपेन्द्र शाह



गत मंसिर २९ देखी सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक जारी छ । बैठकमा राखिएका खुलस्त बिचारहरुले वर्तमान सरकार र पार्टी अध्यक्ष कमरेडको चर्को आलोचना गरिएको मिडियामा खुलेर आइरहेको छ । पूर्व एमाले र माओवादी केन्द्र मर्ज गर्दै जन्माइएको नेकपामा भूमिका पाउने सदस्य बाहेक सबैले प्रधानमन्त्री ओलीको खुलेर आलोचना गरे पश्चात समर्थनमा उठेको बिचित्र बिचार झनै डरलाग्दो मानिदैं छ ।

नेकपामा समस्या छन । समाधान गर्नु पर्छ भन्ने चिप्लो कुरा गर्ने तर समस्यालाई झनै बल्झाउने परिक्रमावादीको बिचार वाम आन्दोलनको निम्ती ‘पिलो’ बन्दैछ । प्रधानमन्त्रीको शैली कै कारण पार्टी र सरकारमा अनेकौं समस्या जन्मेको स्वीकार नगर्ने , आफ्नो स्वार्थको निम्ती गरिएका सबै खाले लहडलाई जबज देख्ने , टिके र परिक्रमावादीको नव मान्यता उनीहरुको निगाहमा सबैले बाँच्नु पर्ने पछिल्लो ब्यक्त बिचार भित्र लुकेको प्रष्ट देखिन्छ ।

जबजको नाममा सम्पन्न पूर्व एमालेको अन्तिम महाधिवेशनमा सम्भव , असम्भव , उचित , अनुचित सबै अस्त्रहरुको सुबिधाजनक र अर्थपरक प्रयोग गर्दै १५ वर्षे गुटगत राजनीतिको सफलता पछि वर्तमान समयमा कमरेड वामदेव गौतम र मुकुन्द न्यौपाने बाहेक सबैले ओली पुरस्कारको उपभोग गरिरहेका छन । पुर्व एमाले पार्टी प्रमुख बन्न कमरेड वामदेवसँग गरिएको भद्र सहमतिमा भएको बिलम्ब मात्र हैन राजनीतिक अन्तर्घात पछी बदलिएको समिकरण कमरेड वामदेवको फरकमतलाई लिन सकिन्छ । गत जेठ ३ गते पछी  नेकपामा राजनीतिक हैसियत प्राप्त गर्न तेल , धुप सहितको परिक्रमा वा गुटगत ‘ डिएनए ‘ परिक्षण गराउँदै  दुई नेताको आशिर्वाद प्राप्त गर्नु पर्ने नयाँ मापदण्ड बनाइएको बुझ्न सचिवालय निर्माणलाई लिन सकिन्छ ।

झलनाथ र माधबलाई तह लगाउन वामदेवको प्रयोग गर्ने , पार्टी सत्ता र संसदीय सुखको निम्ती आफ्नै बिगत र धारणालाई लत्याउँदै नबिन शैलीको गुटगत अभ्यासलाई पार्टी बिधान र बिधी बनाउँने , सहयोद्धाको सट्टा सहयोगी खोज्ने , आर्थिक र पदिय सार्वभौमिकताको निम्ती निर्वाचित महासचिबलाई समेत थाहा नदिदैं बिचित्र ढंगको सहमती गर्दै पदोन्नती गर्ने , निर्बाचन जितेकोलाई टिके प्रथा मार्फत बिस्थापन गर्ने , गुलामी र परिक्रमा गरेकै भरमा प्रमोसन गर्ने नेकपाको नयाँ सिद्धान्त वाम आन्दोलनको निम्ती दुर्भाग्य बन्दै गरेको पुष्टी बैठकमा ब्यक्त बिचार सुने थाहा लाग्छ ।

कम्युनिस्ट पार्टीमा बिचार र सिद्धान्तको ठूलो स्थान हुने बिश्वब्यापी मान्यतामा आएको नेपाली बदलाब भनेको अपबित्र गुटगत राजनीतिको जगमा पार्टी सत्ता कब्जा गर्दै संसदीय सुख प्राप्त गर्ने नबिन सोच नेकपाको एक सुत्रीय कार्यक्रम बनाइदै गरेको संकेत मिल्दैछ । महाधिबेशनमा पराजीत कार्यकर्ताले बिजयी पदाधिकारीलाई छिर्के हान्ने , उसको वृति विकासमा रोक लगाउने , जनताबाट प्राप्त पुरस्कारलाई कोठे र टिके पुरस्कारले लत्याउने कुटिल खेल नयाँ भाइरस बनेर हुर्कदै गरेको पुष्टी प्रधानमन्त्रीको सल्लाहकार कमरेड बिष्णु रिमालले स्थायी समितिमा ब्यक्त बिचारलाई लिन सकिन्छ ।

प्रधानमन्त्रीको आशिर्वादको भरमा राणा शासन छिराउने अभ्यासको वकालत गर्दै  नेकपा स्थायी समिति बैठकमा पार्टी बिधानले कल्पना गरेको पोलिटब्युरो आबश्यक नठान्ने कमरेड रिमालको बिचार भित्र लुकेको कुटिल खेल भनेको बिगतमा पोलिटब्युरो सदस्य भइ जिम्मेवारी निभाई सकेका कमरेडहरुलाई उचित काम नदिने नियतसँग गाँसिएको मान्न सकिन्छ । गुलामीको पुरस्कार थाप्दै स्थायी समितिमा उक्लेका कमरेड रिमाल बिगतमा पोलिटब्युरो भएका कमरेडहरुलाई नियोजीत तवरले केन्द्रीय सदस्यमा रोक्ने नियत नेकपाको भलाईको निम्ती बोलिएको मान्ने आधार कतै भेटिदैन । नितान्त लहडबाजीमा ब्यक्त बिचारले नेकपाको भलाई र उनको उचाई नबढने बुझ्दा बुझ्दै कुन नियतले यस्तो बोल्दै छन ?

 पार्टीको जिम्मेवार निकायमा पुगेका कमरेड रिमाल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार समेतको भूमिका निभाई रहेको वर्तमान समयमा आफ्नो काम , कर्तब्य र अधिकार बाहिर फडको मार्दै पार्टीको बिधी र बिधानको बिरुद्ध बिचार राख्ने तागत , नियत र मनसाय रहस्यमयी देखिन्छ ।

पार्टीमा अहम भूमिका निभाई रहेका कमरेडहरुलाई कार्यकर्ता मुखी र  सरकारलाई जनमुखी बनाउँदै पार्टी र मुलुकवाशीको भबिष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउनुको सट्टा जीवन नै पार्टी ,देश र जनताको निम्ती खर्च गरेका कमरेडहरुको राजनीतिक जीवनलाई परिक्रमा र टिके बनाउन किन मरिहत्ते गर्दै छन ? जबजको नाममा प्राप्त पार्टीसत्ता आशिर्वादमा चलाउने तारतम्य मिलाउन उनको भूमिका कती छ ? लाखौं कार्यकर्ता , हजारौ शहीद र  आम जनताको भाबना बिरुद्ध किन अनुपयुक्त बिचार पस्कँदैं छन ? के यी बिचार उनका निजी नै हुन ? वा अरु कसैको भरिया बन्दै बोक्दै छन ? कमरेड रिमालको बिचार जुनसुकै अवस्थामा पनि पार्टी र देशको निम्ती उपयुक्त छैनन भन्ने तमाम वाम कार्यकर्ताको धारणा छ ।

जीवनमा कार्यकर्ता र महाधिबेशनको सर्बोच्चतालाई मुखले मात्र मानेका , पार्टी सर्बोच्च निकायमा पुग्न सबै घाटको पानी पिएका दुई कमरेडको आन्तरिक लेनदेन पछी जन्माइएको नेकपामा उनीहरुकै गुलामी गर्दै पार्टी र संसदीय सुख प्राप्त गर्ने कि ?  बिधी , नीति , नियम , कार्यक्रम र सिद्धान्त अनुसार भिमकाय नेकपा चलाउने ? भन्ने बिषयको छिनोफानो गर्न एकता महाधिबेशन अनिबार्य हुन पुगेको छ । करीब सात लाख पार्टी कार्यकर्ताबाट अनुमोदित हुँदै पार्टीको घोषणापत्र र कार्यक्रम अनुसार सरकार र पार्टी चलाउँदै सम्पुर्ण टिके र परिक्रमावादीलाई नेकपा राजनीतिबाट बिदा दिन सके मात्र वाम आन्दोलनको भबिश्य उज्ज्वल हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments