कविता-धन्यवाद कोरोना

मङ्लबार, बैशाख ९, २०७७

- लक्ष्मी न्यौपाने(सुदिष्टी)-दाङ



धन्यवाद कोरोनालाई

प्रिय कोरोना
धन्यवाद तिमीलाई
यो दिलको गाउँहरूमध्ये
एउटा गाउँमा खसेको छ ठुलै पहाड
तर, हजारौँ गाउँहरूमा
पलाउदैछन कलिला मुना
तिमीले चाहेझैँ, पाप्राे लथक्क गलेर
झरेझैँ झरिन म
हात खुट्टा फालेर लम्पसार भइन भुइँमा
बरु यो आमाको छाती
फुलेको छ साहसले ढक्क
यो अनुहार धपक्क बलेको छ आसाले
ती बिपतका खुड्किलाबाट चढ्नेछु
अग्लो चुली
ती पिडाको भवसागरबाट
सिक्नेछु पौडी खेल्न
ती घोच्ने काँडाहरू कुहाएर
गर्नु छ अर्ग्यानिक खेती
प्रिय कोरोना
धन्यवाद तिमीलाई।
खुकुरी अचानाेझै बुझ्न नसकेका
श्रीमान् श्रीमती,
वृक्षबाट फल छुट्टिएझैँ छुट्टिएका परिवार,
डाइनाेसाेरझै आफ्नो अस्तित्व
बचाउन नसकेको घमन्ड,
ट्याङ्कीकै भट्टीमा रित्तिएको जँड्याहा,

कस्तुरीझैँ सुगन्ध नभेटेका परदेशी,
डाडुझैँ मानवता नभेटेको मान्छे,
पुतलीझैँ मोहले भस्म भएको चेतना,
तृष्णाका खहरेले बगाएको धैर्य,
धमिराेलेझै आफ्नो शरीर झरना बनाएर मूर्तिलाई प्रेम गर्ने प्रेमीहरू,
पन्छीलाई हुुलेर छाती फुलिलाउनेलाई
जाबो राेगाणुले कारागारमा हुल्दा बिजुली चम्कएझै चम्किएको छ विवेक
यी सबै सबैलाई सिकाएका छौ।
सुकेको भङ्कटाट मस्तिष्कमा पानी छर्किन,
जमेको चेतना उथलपुथल बनाउन,
लेउ लागेको पोखरी सफा गर्न,
गुलाफ बन्दो रहेछ तब
काँडै काँडाले घोच्दा रहेछन् जब
त्यसैले
समय पठा अझ तातो राप जसले बनाउँछु
मेरो पिठ्युँ अझ दरिलो
रोपिदे मलाई तातो
यी लुला औलाहरूलाई दह्रो बनाउनु
जसले लेख्नु छ युग परिवर्तनको महालेख
प्रिय कोरोना
धन्यवाद तिमीलाई ।
– सुदृष्टि लक्ष्मी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments