डाक्टरको नाममा

मङ्लबार, फाल्गुन २९, २०७४

- सुमित्रा ठकुरी



आमा ! म सेतो कोट लगाएर

घरको आँगनमा उभिन चाहान्थेँ तर ,

आज घरको आँगनमा
सेतो कपडामा बेरिएर लडेको छु ।
सबै सेता रङहरूले खुसी नदिँदो रहेछ ।

बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना
धेरै वर्षको मिहिनेतले पूरा त गरें ।

त्यसैले , भगवान् यति धेरै खुसी भएछन् कि
हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो
भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ  ।

जमिन त ज्यूँदै टेकेको हुँ
उत्रिएपछि हजुरहरूको हुन सकिन

म बसेको सिटभन्दा अगाडि
नेपाल हेर्न आएका केही जोडीहरू थिए ।

उनीहरूलाई नेपाल यति धेरै मनपरेछ कि
अब उनीहरू फर्केर कहिल्यै जाँदैनन् ।

मलाई लिन विमानस्थल पुगेका
हजुरहरूका आँखाले , मेरा बन्द आँखा मात्र देखे

मैले त चाहेर पनि हेर्न पाइन्
सायद , म हावा भएँ होला , महसुस मात्र भयो

म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु ।
मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा

म लडेको खबर सुनेपछि
कसरी घर फर्कियो होला ?

सबैलाई बचाउन सक्ने योग्य भएर
म आफ्नै देश फर्किए

अन्त्यमा , मैले आफैंलाई बचाउन सकिन ।।

 

457 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank