थाइल्यान्डमा मन्त्रिपरिषद्ले राजकुमारलाई नरेश बनाउने मार्ग खोल्यो

मङ्लबार, मंसिर १४, २०७३



थाइल्यान्ड, १४ मङ्सिर । थाइल्यान्डको मन्त्रिपरिषदले युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउन उनको नाम संसदमा प्रस्तुत गरेको छ । यसबाट युवराज भाजिरालोङकोर्न आफ्ना पिताको देहावसानको निकै सातापछि यस मुलुकको नरेश बन्ने मार्ग खुला भएको छ ।

व्यापक रूपमा सम्मान गरिएका नरेश भुमिबोल अदुल्यादेजको अक्टोबर १३ मा मृत्य भएको थियो । उनले यस मुलुकलाई सात दशकसम्म शासन गरेका थिए भने उनलाई निकै विभाजित मुलुकमा एकताको खम्बाको रूपमा लिइन्थ्यो ।

युवराज भाजिरालोङकोर्नले आफ्ना पिता भूमिबोलको देहावसानपछि आफू शोकमा रहेको अवस्थामा आफ्नो नाम नरेशको रूपमा घोषणा गर्ने काम रोक्न आग्रह गरेको सैनिक सरकारले घोषणा गरेको थियो । मङ्गलबार मन्त्रिपरिषद्ले घोषणा गरेपछि स्वर्गीय नरेश भूमिबोलको उत्तराधिकारीका विषयमा आशङ्का हटेको छ ।

थाइल्यान्डको राजगद्दी उत्तराधिकारीसम्बन्धी नियम गोप्य रहेको छ र उपप्रधानमन्त्री प्रावित वङसुवानले उत्तराधिकारीसम्बन्धी प्रक्रिया अनेकौँ चरणमा सम्पन्न हुने बताए । मन्त्रिपरिषद्को विशेष बैठकपछि उनले पत्रकारहरूलाई प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय संसदीय सभालाई सूचना दिने बताए ।

यस प्रक्रियाअनुसार संसदको सभामुखले युवराजलाई नरेश बन्न औपचारिक रूपमा निमन्त्रणा गर्नुपर्छ र यसपछि मात्र नरेशका विषयमा सार्वजनिक रूपमा घोषणा हुनसक्छ । उपप्रधानमन्त्री प्रावितले संसदका अध्यक्षले युवराजलाई भोलि वा पर्सि भेट गर्नुहुने बताए ।

भेटको केही समयपछि नै नरेशको घोषणा हुने अनुमान गरिएको छ । चौँसट्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशक अगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो ।

उनी बढी समय मुलुकबाहिर बिताउछन् । जर्मनीको दक्षिणी भागमा उनको सम्पत्ति छ । एक सैनिक स्रोतले युवराज हाल जर्मनीमै रहेको एएफपीलाई जानकारी दियो ।

थाइल्यान्डमा राजाको मानहानिसम्बन्धी कडा कानुन रहेको छ र युवराजले विश्वको सबैभन्दा धनी राजसंस्थाको उत्तराधिकारी पाउने बताइएको छ । यस कानुनले राजपरिवारको भूमिकाको विषयमा थाइल्यान्डमा खुला छलफल गर्न असम्भव बनाएको बताइन्छ ।

औपचारिक रूपमा थाइल्यान्डमा नरेशको सीमित संवैधानिक अधिकार रहेको छ । सात दशकसम्मको शासनमा भूमिबोलले सम्भ्रान्त तथा विशेष गरी थाइल्यान्डको शक्तिशाली सैनिक सम्भ्रान्त वर्गमा शक्तिशाली सञ्जाल तयार गरेका थिए र उनले सङ्कटको समयमा मध्यस्थकर्ताको ख्याति कमाएका थिए ।

यसो भए पनि युवाराज भाजिरालोङकोर्नले निकै विभाजित मलुक प्राप्त गरेका छन् । गत दशकमा थाइल्यान्डमा राजनीतिक प्रदर्शन तथा सेनाद्वारा शासन लिने चक्र चलेको थियो भने असमानता अझै गहन भएको देखिएको छ ।

सन् २०१४ मा पनि सेनाले शासन आफ्नो नियन्त्रणमा लिएको थियो । तालिमप्राप्त विमानचालक रहेका युवराज भाजिरालोङकोर्नले आफ्नो पिताको जस्तो सम्मान प्राप्त गर्न बाँकी छ ।

उनले तीनपटक सम्बन्ध विच्छेद गरेका छन् र प्रहरीको भ्रष्टाचारका विषयमा उनीको पूर्व परिवारको नाम जोडिने गरेको छ । नरेश भूमिबोलको देहावसानपछि युवराज भाजिरालोङकोर्नले अन्त्येष्टिका केही दैनिक संस्कारमा भाग लिएको तर कुनै सार्वजनिक भनाइ राखेका छैनन ।

एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहन्छ र युवराज भाजिरालोङकोर्नले राजकुमारी सिरिनधोर्नलाई सो कामको जिम्मेवारी सुम्पेका थिए । थाइल्यान्डमा स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहिर्याउने चलन छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments