त्यतिबेला मैले टेम्पो चलाएको आमाबुबालाई मन परेन्

महिला सक्षम बने कसैको पनि हेपाइ खानु पर्दैन

बिहिबार, बैशाख २७, २०७५

- बविता ढकाल



गरिबी र नेपालको राजनीतिक अवस्थाले एक समय विदेशिने सोचमा पुगेकी सरस्वती बोहोराको अहिले आफ्नै टेम्पो छ । कमाएर खान रामेछाप छोडेर राजधानी छिरेको सरस्वतीको परिवारले काठमाडौंमा तरकारी, फलफूल बेचेर जिविकोपार्जन गरिरहेका थिए । सरस्वतीले आर्थिक अवस्था कमजोर भएकाले आठ कक्षामै पढाइलाई बिट मारिन् र आमाबुवालाई सघाउँदै आइन । आमाबुवाको संघर्षलाई नजिकबाट नियालेकी सरस्वतीसँग आमाबुबालाई सघाउन गाडामा फलफूल र तरकारी बचेको अनुभव ताजै छ । परिवारले खान लाउनकै लागि गरिरहेको संघर्षले उनमा धेरै पैसा कमाउने रहर नजागेको होइन । अवसरका लागि विदेशिने सोच उनमा आयो । तरपनि उनी विदेश भने लागिनन् ।

१६ वर्षमै टेम्पो चालक
१६ वर्षको उमेरमै टेम्पो चलाउन सिकेकी सरस्वती चालक बनेको १० वर्ष भइसकेको छ । उनी तालिम केन्द्रमा तालिम लिएर चालक बनेकी होइनन् । गाउँकै एक जना दाईले गाडी चलाउँन सिकाइदिएको उनी बताउँछिन् । बानेश्वरस्थित कात्यायनी चोकमा बस्ने उनका दाईले चलाएको देखेर उनमा पनि चालक बन्छु भन्ने सोच आएको रहेछ । त्यसपछि उनी ड्राइभिङ लाईसेन्स लिनेतर्फ लागिन् । तर त्यो कुरा उनका परिवारलाई चित्त बुझेको थिएन । उनका बुवाआमा उनले गाडी चलाउने कुराको विरुद्धमा थिए । उनीहरुलाई छोरी मान्छेले गाडी चलाउनु ठीक लागेको थिएन । तर उनलाई दाईको भने सहयोग मिलेको थियो । दाईले नै गर्दा उनको नागरिकता बन्यो । उनी अहिले सम्झिन्छिन्, ‘त्यो बेला मेरे बुवा आमालाई मैले टेम्पो चलाएको मन परेको थिएन, अनि सहयोग पनि थिएन । उहाँहरुको तर्फबाट हेर्दा त्यो ठिकै पनि हो । केटी मान्छे त्यो पनि सानी । अहिले त उहाँहरूले बुझ्नुभयो । सहयोग पनि गर्नुहुन्छ ।’
१६ वर्षकै उमेरदेखि टेम्पो चलाएकी सरस्वतीको चालक हुँदाको लामो अनुभव छ । उनी अहिले टेम्पो मात्र होइन, माईक्रोबस, ट्याक्सी लगायतका हलुका सवारी साधन चलाउन पनि पोख्त छिन् । १० वर्ष अघि साहुको टेम्पो चलाएर पैसा बुझाउँदै आएकी सरस्वतीसँग अहिले आफ्नै टेम्पो छ । आम्दानी सवै आफ्नै हुन्छ । काठमाडौं उपत्यकामा अहिले करिव सात सयको हाराहरीमा सफा टेम्पो संचालनमा छन् । ती मध्ये करिव आधामा महिला चालक छन् ।

नमिठो अनुभव
सरस्वतीसँग गाडी चलाउँदाको एउटा नमिठो अनुभव पनि छ । उनलाई एउटा कम्पनीले गाडी चलाउन प्रस्ताव गर्यो । तर उनलाई त्यहाँको वातावरण ठिक लागेन । १५ दिनमै काम छाडिन तर त्यो रकम अहिलेसम्म उनले पाएकी छैनन् । आफुले पारिश्रमिकको लागि फोन गर्दा त्यहाँका कर्मचारीले नसुने झै गरेर टारिदिने गरेको उनको गुनासो छ । उनी भन्छिन् ‘काम एक दिनको होस् या १५ दिनको मेरो समय र पसिना त्यहाँ खर्च भएको छ । त्यसको भुक्तानी त गर्नुपर्छ नी होइन् र ?’ कहिले काहीँ त्यस्तै मान्छे बाहेक अहिले सम्म यो पेसामा कसैले दुव्र्यबहार गरेको महशुस नगरेको उनी बताउँछिन् ।

सक्षम बन्ने तर्फ लागौँ
एक दशकअघिसम्म टेम्पो चलाउने महिलालाई हेर्ने समाजको दृष्टिकोण फरक थियो । तर, आज समय बदलिएको छ र दृष्टिकोण पनि । उनी भन्छिन् ‘पेशा कुनै ठूलो र सानो हुँदैन । सबै भन्दा ठूलो कुरा आफ्नै देशमा सान र मानसंग काम गरेर खानुमा छ । जुन विदेशमा कहिल्यै पाईदैन ।’ विदेश भनेर मरिहत्ते गर्नेलाई उनको सुझाव छ–‘नेपालमा पनि केही गर्न सकिन्छ । टेम्पो चलाएर महिनाको ३० हजारभन्दा बढी कमाई गर्छु ।’ महिला सक्षम भए हेपाई खानु नपर्ने उनको बुझाइ छ । उनी भन्छिन, ‘जब महिला सक्षम हुन्छन्, तब कसैको हेपाई खाएर बस्नु पर्दैन । त्यसैले सबै महिलाईहरु आर्थिक रुपमा सवल हुन आवश्यक छ । र अहिले महिलाहरु सवल र सक्रिय हुँदै पनि गइरहेका छन् ।’

620 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank