उत्तर तर्फको महत्वपूर्ण व्यापारिक नाका ‘तातोपानी’ पुन: संचालनमा

शुक्रबार, जेष्ठ १७, २०७६



काठमाडौं । २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा ठूलो पहिरो खसेपछि बन्द भएको  नेपाल–चीन जोड्ने तातोपानी नाका बिहिबारबाट संचालनमा आएको छ । ०७२ को विनाशकारी भूकम्पले दुवै तर्फको भौतिक संरचना क्षतविक्षत  बनाएको तातोपानी नाका ४ वर्षपछि पुन: संचालनमा आएको छ ।

नाका संचालनमा आएसँगै यस क्षेत्रका स्थानीयमा खुसीयाली भित्रिएको छ । नाका सञ्चालनमा आएलगत्तै तातोपानीदेखि बाह्रविसे क्षेत्रसम्मका स्थानीय मात्रैै होइन यही नाकाबाट व्यापार व्यवसाय गर्नेहरु समेत खुसी भएका छन् । चीन सरकार र नेपाल सरकारबीच भएको पटक पटकको वार्ता पश्चात दुवै मुलुक नाका संचालनमा ल्याउन सहमत भएका हुन् ।

व्यापारिक दृष्टिकोणले नेपाल चीनलाई जोड्ने पहिलो र प्रमुख नाकाको रुपमा परिचित  तातोपानी  नाका बन्द भएपछि विकल्पका रूपमा केरुङ्को रसुवागढी  नाका खोलिएको हो । केही वर्षअघिसम्म यो नाका नेपालमा मालवस्तु भित्रिने  दोस्रो नाकाको रुपमा थियो ।

वार्षिक २० अर्बभन्दा बढीको आयात हुने यस  नाका चीनसँगको व्यापारमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको छ । सामान्य समयमा दैनिक एक सयभन्दा बढी र चाडपर्वको समयमा एक हजार भन्दा बढी  कन्टेनर यस नाकाबाट नेपाल भित्रदै आइरहेका  थिए ।

वार्षिक पौने ३ अर्ब रुपैयाँ बराबरको निर्यात भइरहेको तातोपानी नाका बन्द हुँदा नेपालले ठूलो आर्थिक क्षति व्यहोरी रहेको  थियो । बिहीबारदेखि साङ्केतिक रुपमा नाका संचालनमा आएपनि पूर्वाधार अभावका कारण अबको एक महिनापछि मात्रै पूर्ण रुपमा संचालनमा आउने बुझिएको छ ।

चीनकै सहयोगमा नेपाल–चीन सिमानामा मितरी पुल, सडक मर्मत र लार्चामा चीनकै आर्थिक सहयोगमा सुख्खा बन्दरगाहको निर्माण भएको छ ।

काठमाडौंबाट तातोपानी १ सय १४ किलोमिटर र रसुवागढी १ सय ९६ किलोमिटर पर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank