टाटासुमो दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु, पाँच जना घाइते

मङ्लबार, जेष्ठ २१, २०७६



रसुवा स्थितकालिका गाउँपालिका–१ गुम्चेतमा  सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

निर्माणाधीन मैलुङ-स्याफ्रुबेसी सडक खण्डमा अन्तर्गत गुम्चेतमा  बा. १० च ५८२० नम्बरको टाटसुमो दुर्घटना  हुँदा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको रसुवाका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) भागेन्द्र ढकालले जानकारी दिए ।

मृत्यु हुनेमा रसुवाको आमा–छोदिङ्बो गाउँपालिका वडा नं ४ गोल्जुङका ३४ वर्षीया मेन्दो घले, ३२ वर्षीया साइली घले र २९ वर्षीय नुर्बु तामाङ रहेको  उनले जनाएका छन् ।

दुर्घटनामा परेर घाइते हुनेमा २९ वर्षीया योङजोेङ तामाङ र उनको छोरा पाँच वर्षीय वाङ्जोङ तामाङ, तीन वर्षीय बालक निमा छेवाङ तामाङ, ३५ वर्षीया देउरानी तामाङ र गाडीका चालक ३० वर्षीय निमाकामी घले रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि सोमबार राति नै काठमाडौ पठाइएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार एउटै परिवारका सदस्य रहेका उनीहरु पोखरा स्थित गुम्बामा अध्ययनको लागि राखेको बच्चासँग भेट गरेर घरतर्फ फर्कदै गरेको समयमा सोमबार साझ साढे ६ बजे दुर्घटनामा परेका हुन् ।

प्रहरी चौकी बेत्रावतीमा जाँचको क्रममा उक्त गाडीमा चालक सहित एउटै परिवारका ११ जना रहेको उल्लेख गरिएको थियोे ।

दुर्घटना पश्चात् गाडी सडकबाट करीब एकसय मिटर तल रहेको त्रिशूली नदी किनारमा पुगेकाले सम्पर्कबिहिन रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्दार एंव खोजीको लागि रसुवा र नुवाकोटबाट परिचालन भएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

निर्माण भइरहेको कच्ची सडकमा रातको समयमा तिव्र गतिमा चलाएकाले अनियन्त्रित भएर गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata