जुवा तासका केही भ्रम र बास्तविकता

शुक्रबार, कार्तिक २३, २०७५



काठमाडौं ।  तिहार भन्नेबित्तिकै धेरै नेपालीले जुवालाई पनि सम्झन्छन् । धार्मिक मान्यताअनुसार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमादेखि तिहारसम्म जुवा खेल्नुलाई शुभ मानिन्छ । नेपालको सन्दर्भमा हेर्दा २००७ साल अघिसम्म नेपालमा जुवाले कानुनी मान्यता पाएको थियो । त्यो कालखण्डमा राज्यका तर्फबाट नै निश्चित समयका लागि जुवा फुकुवा गरिन्थ्यो । यसरी जुवा फुकुवा गरिएको समय रक्षाबन्धनदेखि तिहारसम्मलाई मानिन्थ्यो ।

नेपालको इतिहास हेर्ने हो भने युगान्तकारी घटना कोत पर्वको कारक पनि एक जना जुवाडे नै थिए । ऐतिहासिक दस्तावेजअनुसार तत्कालीन महारानी लक्ष्मीदेवीका विश्वासपात्र तथा प्रधानमन्त्री पदका दावेदार गगन सिंहको हत्या जुवाडे लाल झाले गरेका थिए । जुवा खेल्ने क्रममा कंगाल भएका लाल झालाई उसको ऋण तिरिदिने तथा थप रकम उपलब्ध गराउने सर्तमा जंगबहादुरले गगन सिंहको हत्या गर्न तयार गरेका थिए ।

जुवाका सम्बन्धमा हाम्रो समाजमा तीनवटा धार्मिक कथा प्रचलित छन् । पहिलो कथाअनुसार पासा खेल्ने परम्पराको प्रारम्भ देवी पार्वतीले गरेकी हुन् । देवी पार्वती आफ्ना पति भगवान् शिवसँग फुर्सदका बेला मनोरञ्जनका लागि पासा खेल्थिन् । विशेष गरेर भगवान शिव र पार्वतीले यमपञ्चकका पाँच दिन लगातार जुवा खेल्थे भन्ने मान्यता छ । अझै पनि कतिपय मन्दिरमा देवी पार्वतीको पूजा गर्दा पासा समेत चढाइन्छ ।

अर्को कथाअनुसार पौराणिक पात्र राजा नल नामुद जुवाडे थिए । तत्कालीन भारतको शक्तिशाली समुदाय निषाधहरूका राजा नलकी रानीको नाम दमयन्ती थियो । दुवै आफ्नो रूप तथा गुणका कारण भारतवर्षभरि चर्चित थिए । तिनै राजा नल आफ्नो जुवासम्बन्धी लतका कारण राजपाट नै गुमाउन बाध्य भए । कथाअनुसार आफ्ना समकक्षी राजाहरूसँग जुवा खेल्ने क्रममा राजा नलले आफ्नो सर्वस्व हार्नुपरेको थियो । त्यसै कारण राजा नलले लामो समयवनबास समेत बेहोर्नुपरेको थियो ।

अर्को कथा महाभारतको हो । कथाअनुसार पाण्डवहरू जुवा खेल्न भनेपछि मरिहत्ते गर्थे । पाण्डवहरूको यही कमजोरीका कारण कौरवहरूले उनीहरूलाई जुवा खेल्न आमन्त्रित गरे । जुवाको त्यो खेलमा जेठा पाण्डव युधिष्ठिरले आफ्नो श्रीसम्पत्ति, राज्य मात्र गुमाएनन् आफ्ना भाइहरू एवं पत्नी द्रौपदीलाई समेत हार्न पुगे । त्यसपछि भएको द्रौपदी चिरहरणको घटनाले नै महाभारत युद्धको विजारोपण गरेको थियो । जुवा हारेका राजा युधिष्ठिरले त्यसपछि भाइहरू सहित बनवास र गुप्तवासमा जानुपरेको थियो । गुप्तबासका बेला राजा विराटको दरबारमा समेत राजा युधिष्ठिरले जुवाडे कंकका रूपमा बस्नु परेको थियो ।

जुवाका विषयमा हिन्दू धर्मशास्त्रमा धेरै ठाउँमा उल्लेख गरिएको छ । पासा वा चौसर भनिने खेलको उल्लेख ऋग्वेद तथा अथर्ववेदमा समेत हुन्छ । यी दुवै ग्रन्थको रचना इसापूर्व पाँच वर्षअघि भएको मानिन्छ । चौसर अथवा पासा खेलिएका प्रमाणहरू सिन्धुघाटीको सभ्यता मोहेन्जो दारो र हडप्पामा गरिएका उत्खननबाट समेत फेला परेका छन् । साप्ताहिकबाट

111 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank