कोसी करिडोरको सबस्टेसन निर्माण तीव्र

शुक्रबार, फाल्गुन २, २०७६



ताप्लेजुङको ढुङ्गेसाँघुस्थित कोसी करिडोर प्रसारण लाइनका लागि निर्माणाधीन सबस्टेसन निर्माणको कार्यलाई तीव्रता दिइएको छ । मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघुमा निर्माण सुरु गरिएको २२० केभीए क्षमताको सबस्टेसन निर्माण भइरहेको छ ।

निर्माण कार्य सुरु भएको पाँच महिनामा करिब १० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी केईसी इन्टरनेसनलले जनाएको छ ।

भारतीय निर्माण कम्पनी केईसी इन्टरनेसनलका साइट इन्चार्ज राजित मियाँका अनुसार भवन निर्माण, जमिन सम्याउने, माटो भर्ने, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापनसहितका जगका कार्य भइरहेका छन् । निर्माणको कार्य प्रारम्भ गरेसँगै अहिले दैनिक ८६ जना कामदारमार्फत काम भइरहेको मियाँले जानकारी दिए ।

ताप्लेजुङमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जडान गर्नका लागि कोसी करिडोरअन्तर्गत गत असोजदेखि सबस्टेसन निर्माणको कार्य सुरु गरिएको हो ।क्षेत्रका जनशक्तिसमेत परिचालन गरेर सन् २०२० को डिसेम्बरभित्रै सबस्टेसन निर्माणको कार्य पूरा गर्ने योजनाका साथ काम भइरहेको मियाँले बताए ।

निर्माण कार्यका लागि प्राकृतिक वा अन्य कुनै खालको अवरोध सिर्जना नभएमा लक्ष्यअनुसार काम पूरा हुनेमा कुनै द्विविधा नहुने उनको भनाइ छ ।

निर्माण कम्पनीका अनुसार कम्पनीसँग सम्पर्कमा रहेका अन्य दक्ष जनशक्तिसमेत काममा परिचालन गरिने छ ।

आयोजना प्रभावित वा स्थानीय क्षेत्रका जनशक्तिलाई समेत रोजगारीको अवसर दिने गरी स्थानीय मजदुरलाई काममा लगाएको तर उनीहरूमा आवश्यक दक्षता पाउनलाई कठिन भएको उनको भनाइ छ ।

ठूलो क्षमताको विद्युत् सबस्टेसन निर्माण भइरहेकाले यसमा ट्रान्सफर्मरसहितका उपकरण वजनदार उपकरणलाई सबस्टेसन स्थलसम्म पु¥याउन समस्या हुने मियाँले बताए । गोरखापत्र दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments