तमू (गुरुङ) समुदायलाई समाचार राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

मङ्लबार, पुस १५, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमू (गुरुङ) समुदायको महान पर्व तमू ल्होछार/ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

तमू ल्होसारका अवसरमा दिएको शुभकामना सन्देशमा उनले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्नसमेत गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् ।

गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अंगका रुपमा रहेको बताउँदै राष्ट्रपतिले सन्देशमा तमूल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख गरेकी छन् ।

गुरुङ समुदायको यो पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेकी छन् ।

यसैगरी शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले मनाउने तमूल्होसार पनि फराकिलो हुँदै आम नेपालीको पर्वका रुपमा स्थापित हुँदै गएको बताउँदै उपराष्ट्रपतिले सन्देशमा हाम्रा धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन योगदान गरेको उल्लेख गरेका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो। अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरङ्‍गी सम्मिश्रण एवम् साझा सङ्‍गमको रूपमा रहीआएको नेपाल सामाजिक सद्‍भाव र सौहार्दताका लागि संसारभरि नै सुपरिचित छ,’ उपराष्ट्रपति पुनको सन्देशमा छ, ‘नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरू छन्। विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्वहरु नेपालीको साझा चाडपर्व हुन्।’

पुराना वर्ग (वर्ष)को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले मनाउने तमू ल्होछार/ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रूपमा स्थापित हुँदै गएको उनले सन्देशमा उल्लेख गरेका छन्। ‘मृग वर्गको बिदाइ र मुसा वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार/ल्होसार तमू समुदायले हर्षोल्लासका साथ मनाउने मेरो विश्वास छ,’ उनले भनेका छन्।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै राष्ट्रको समुन्नति र समृद्धिमा लाग्न तमूल्होसारले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments