दोस्रो चरणको निर्वाचनको प्रक्रिया आजबाट, स्वस्तिकको मसी फेरियो

शनिबार, जेष्ठ ६, २०७४



जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको कार्यक्रम शनिबारदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउँदै दोस्रो चरणको निर्वाचनको कार्यतालिका कार्यान्वयनमा ल्याउन लागेको हो ।
दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ गरी चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ । चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो, ‘‘शनिबारदेखि ४३ स्थानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा आउनेछन् र जेठ १५ बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आउनेछन् । ’’

रुकुम र नवलपरासी जिल्लामा पहिलो चरणमा नियुक्त गरिएका मुख्य निर्वाचन अधिकृतलाई नै दोस्रो चरणका लागि पनि कायम राखिएको छ । पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा ४३ जिल्लामा निर्वाचन हुँदैछ ।

निर्वाचन सञ्चालन हेर्नुहुने उपसचिव देशबन्धु अधिकारीका अनुसार दोस्रो चरणमा रुकुममा तीन गाउँपालिका र नवलपरासीमा तीन नगरपालिका र चार गाउँपालिकामा निर्वाचन हुनेछ । नवलपरासीमा तीन नगरपालिकाको ३८४ पदका लागि निर्वाचन हुँदैछ भने रुकुममा तीन गाउँपालिकाका लागि १६१ पदका लागि निर्वाचन हुनेछ । दोस्रो चरणमा नवलपरासीम एक लाख ८३ हजार १३ मतदाता छन् भने १२० मतदान स्थलमा २४० मतदान केन्द्रमा मतदान गराउने तयारी आयोगले गरेको छ । यस्तै रुकुममा २४ हजार ४८१ मतदाताले ३१ मतदान स्थलको ३८ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

निर्वाचन अधिकृतहरूले जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीहरूको तालिम सञ्चालन गर्नेछन् । यस निर्वाचनमा १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ वटा गाउँपालिकामा निर्वाचन हुन लागेको हो ।

निर्वाचन कार्यक्रमअनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । यस निर्वाचनमा ९० लाख ९७ हजार ५५७ जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् । दोस्रो चरणको निर्वाचनमा ११ हजार ९३१ वटा मतदान केन्द्रमा मतदान गर्ने आयोगको तयारी रहेको छ ।

अब रातो मसीको स्वस्तिक
निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मत सङ्केतका लागि रातो रङको मसी प्रयोग गर्ने भएको छ । पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मतसङ्केत गरेकामा त्यसका कारण पनि मत बदर भएको गुनासो आएको थियो । त्यसै आधारमा आयोगले मसी फेर्ने निर्णय गरेको हो ।
आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरणमा मतदाताले रातो रङको स्वस्तिक छाप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा सुरक्षा रणनीति, मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने बताउनुभयो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको स्ट्याप मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

802 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank