राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए सपथ

बुधबार, फाल्गुन २१, २०७६



काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ जना सांसदहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । बुधबार नवनिर्वाचित सांसद्हरूलाई बिहान ११ बजे संसदको ल्होत्से हलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ गराएका हुन्।

गत माघ नौ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा विजयी भएका १८ जना सांसदहरुले सपथ ग्रहण गरेसँगै राष्ट्रिय सभामा प्रवेश गरेका छन । नवनिर्वाचित सांसद मध्य नेकपाका १६ र राजपाका दुई सांसद निर्वाचित भएका थिए। कांग्रेसले भने एक सिट पनि जित्न सकेन।

राष्ट्रिय सभामा नेकपा ५०, कांग्रेस ६, राजपा २ र समाजवादी पार्टीको १ सिट मात्र छ। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुने कानूनी प्रावधान रहेको छ ।३ जना सांसद भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सम्बैधानिक व्यवस्था रहेकाे छ ।

सपथ ग्रहण गर्नेहरुमा नेकपाबाट निर्वाचित गोपी अछामी, इन्दिरा गौतम, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गंगाकुमारी वेल्वासे, वेदुराम भुषाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, गोपाल भट्टराई, बिमला घिमिरे, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा, सुमित्रा विसी, शारदा देवी भट्ट र तारामान स्वार रहेका छन । त्यस्तै राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाई सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। सोहि अनुरुप १८ जना सांसदहरुले मंगलबार राष्ट्रियसभाबाट बिदा भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments