काेराेना काेषमा शून्य रकम पनि योगदान नगर्नेले झुटो खेती नगरेकै राम्रो: सूर्य थापा

बिहिबार, चैत्र २७, २०७६



काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार सूर्य थापाले कोरोना कोषमा शून्य रकम पनि जम्मा नगर्नेहरूले झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

थापाले बिहीबार सामाजिक सञ्जाल मार्फत तथ्य नबुझेर झुटको सङ्क्रमण बढिरहेको बताएका छन् ।  उनले कोरोना भाइरसको सङ्क्रमणसँग जुझ्नका लागि गठित राष्ट्रिय कोषमा नेपाल सरकारले ५० करोड छुट्ट्याउने निर्णय सुरुमै मन्त्रिपरिषद् बैठकबाट गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,उक्त कोषमा राष्ट्रपतिज्यूबाट दुई महिनाको पारिश्रमिक जम्मा भएको जानकारी राष्ट्रपति कार्यालयले नै सार्वजनिक गरेको विदितै छ । सम्माननीय प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको पारिश्रमिक सुरुमै जम्मा गर्ने निर्णय भएर हाल जम्मा पनि भइसकेको छ ।

साथै प्रधानमन्त्रीको सचिवालयबाट समेत सल्लाहकार र प्रमुख स्वकीय र स्वकीय सचिवहरूले एक महिना बराबर र विज्ञहरू तथा अन्यले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने सार्वजनिक घोषणा गरी हाल जम्मा भइसकेको जनाएका छन् । सङ्घीय सांसदका सांसदहरूले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा भए अनुरूप कोषमा जम्मा पनि भएको उल्लेख गरेका छन् । सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रिय जीवनका हरेक क्षेत्रका व्यक्तिहरू र सङ्घसंस्थाहरूबाट पनि कोषमा गच्छेअनुसार रकम जम्मा भइरहेको स्पष्ट जनाएका छन् ।

 उनले यस कोषमा शून्य रकम पनि योगदान नगर्ने स्वनामधन्य अभियन्ता वा अरूको नक्कल गर्न बानी परेका व्यक्तिहरूले यस सार्वजनिक तथ्यमा पर्दा हालेर झुटको खेती नगर्न सुझाव दिएका छन् ।  कोरोना रोकथाम र उपचार तथा लकडाउन व्यवस्थित गर्ने काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र श्रमिकहरूलाई कामको जोखिम र घेरा हेरी विशेष भत्ता र बिमाको समेत व्यवस्था गरिएको जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूले चैत २५ गते राष्ट्रको नाममा गर्नुभएको सम्बोधनमा प्रस्ट गरिसक्नुभएको भन्दै स्मरण गराएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल प्रहरीका कर्मचारीको तलब भत्ता काट्ने निर्णय गरिएको भन्दै सत्तारुढ दलकै कतिपय सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments