काठमाडौंका १ सय ४२ मतदान केन्द्र सुरक्षाका दृष्टिकोणले संवेदनशील !

शनिबार, बैशाख ३०, २०७४



प्रहरीले काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ। संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन् जसमध्ये १ सय ७८ लाई सामान्यमा राखिएको छ ।

काठमाडौंमा एउटा पनि अति संवेदनशील मतदान केन्द्र छैन। संवेदनशील मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक (सइ) तथा सामान्य मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असइ) को नेतृत्वमा प्रहरी खटाइएको छ। सइ र असइको कमान्डमा हरेक मतदान केन्द्रमा म्यादीसहित न्यूनतम १२ प्रहरी खटिने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहले बताए। मतदान केन्द्रमा बढीमा २४ जनासम्म सुरक्षाकर्मी खटिनेछन् ।

धेरै मतदाता भएको मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको डिएसपी शाहले बताए। मतदान केन्द्रको भित्री तहमा नेपाल प्रहरी मात्र रहन्छन् । बीचमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिनेछन्। उपत्यकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीको गतिविधि प्रमुख सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले नेकपाका केही कार्यकर्तालाई पक्राउ गरिसकेको छ। नाका तथा गेस्टहाउसहरूमा चेकिङ पनि बढाएको छ । चुनावमा सुरक्षा चुनौती दिन सक्ने गुन्डा नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेर छुटेकालाई पनि प्रहरीले तारेखमा राखेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ।

633 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank