सर्वोच्च अदालतमा कुनै पनि मुद्धाको सुनुवाइ नहुने

प्रधानन्यायाधीश सहितको पूर्ण बैठक बस्दै

शुक्रबार, चैत्र ७, २०७६



काठमाडौँ। सर्वोच्च अदालतमा मुद्धाको सुनुवाइ नहुने भएको छ ।  कोरोना भाइरस सङ्क्रमण सम्भावित सङ्क्रमणबाट बच्न  सर्वोच्च अदालतले मुद्धाको सुनुवाइ स्थगन गरेको हो ।

सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा छलफल गर्न आज प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक समेत बस्दै छ । बैठकले अदालत बन्द गर्ने वा अति आवश्यक बाहेक अरू बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । नेपाल बार एसोसिएसनले यसअघि नै विश्वभरि नै कोरोना फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरिसकेको छ ।

बारले कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न अपिल गरेको छ । अदालतसँग धेरै सेवाग्राहीको भिडभाड हुने र भिडभाडमा कोरोनाको सङ्क्रमणको सम्भावना हुने भएकाले सतर्कता अपनाउनुपर्ने बारको भनाइ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments