नगरपालिकाको अफरः सुँगुर मार्नुहोस्, ५ सय लैजानूस्

बिहिबार, पुस १०, २०७६



सप्तरी । पशु चौपायाले दु:ख दिन थालेपछि नियन्त्रण गर्न सप्तरीको राजविराज नगरपालिकाले नयाँ अभियान शुरु गरेको छ ।

छाडा पशु चौपाया नियन्त्रण अभियान नाम दिई शुरु गरिएको कार्यक्रम अन्तर्गत छाडा सुँगुर मारेर बुझाउने व्यक्तिलाई प्रति सुँगुरको ५ सय रुपैयाका दरले पुरस्कार दिने नगरपालिकाले घोषणा गरेको छ ।

पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम शुरु भएको ३ दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारिसकेका छन् ।

आज सम्ममा ८ ओटा छाडा सुँगुर मारेर स्थानीय केही युवाले बुझाइसकेको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन अभियानका ईन्चार्ज उमेश प्रसाद यादवले जानकारी दिएका छन ।

अभियानकै क्रममा नगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण कार्यालय पनि प्रभावकारी र कडाई बनाइएको छ । सडकबाट नियन्त्रणमा लिइएको गाई, साँढे आदि चौपायालाई अब कसैको पनि सिफारिसमा नछोडिने नगरप्रमुख शम्भु प्रसाद यादवले बताए ।नगरपालिकाको अभियानको डरले अहिले बजारमा कतै छाडा पशु देखिदैनन् ।

यसरी नियन्त्रणमा लिइएका चौपाया सिफारिसमा छोड्दा चौपाया धनीले चौपाया पुनः सडकमा छाडने प्रवृति दोहोरिने गरेकाले अब नियन्त्रणमा लिइ सकेपछि लिलामीसम्मको प्रकृया अघि बढाउने निर्णय गरी सकेको नगरप्रमुखको भनाई छ । यसबारे सूचना सार्वजनिक गरिसकेको र कसैलेपनि वेवास्ता गर्नु नहुने उनले बताए ।

सडकबाट नियन्त्रणमा लिई नगरपालिकाको कान्जि हाउसमा त्यस्ता छाडा पशु चौपाया राखिने गरिएको छ । ८ दिनसम्म १ हजारमा पुग्ने तथा सो अवधिमा पनि लिन नआए लिलामी प्रकृयामा लैजाने नियम बनाईएको नगरप्रमुख यादवले बताए ।

छाडा पशु चौपायाका कारण नगर दुर्ग्न्धित र सडक बजार दुर्घटनाको जोखिम बढेकाले यस्तो कडाई गरिएको छ । स्थानीय सरकार संचालन ऐनको परिच्छेद ३ अन्तर्गत दफा ११ को उपदफा २ मा छाडा पशु चौपाया नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ त्यसैको आधारमा यो अभियान थालेको अधिकारीहरुले वताएका छन ।

नगरका सडक बजारमा छाडिएका पशु चौपायका कारण समस्या विकराल बन्दै गएका बेला नगरपालिकाले नियन्त्रणका लागि चालेको यो अभियानको नगरमा निकै प्रसंसा भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments