कथा “छोरो”

शनिबार, फाल्गुन १०, २०७६

- संजय गौतम



आज चार दिन पुगेछ ।मुनाको आँखामा आँसु टुटेको छैन ।  चार दिनमा मुना मुस्किलले चार घण्टा पनि सुतेकी छैनन् ।उनले घडीमा हेरिन रातको ११ बजेछ । उनी बिस्तारामा पल्टिइन ।  उनलाई निद्रा लागेन। उनले टेबलमा भएको छोरोको फोटो हेरिन ।  आफ्नो विगत सम्झन थालिन। आठ कक्षामै पढ्दा प्रेम विवाह गरेकी मुना श्रीमान्,श्रीमती मिलेर एउटा सानो होटेल चलाउँथे । दैनिक गुजारा राम्रै चलेको थियो । श्रीमान् मानबहादुरले राम्रै साथ दिएका थिए।परिवार,इष्टमित्र, छर-छिमेक,समाजमा पनि यो मगर दम्पतीको राम्रै इज्जत थियो। उनीहरूको पहिलो सन्तान छोरी, अप्सराको जन्म भयो । पहिलो सन्तान जन्मेकाले उनीहरू निकै खुसी थिए। सबै आफन्त छर-छिमेक बोलाएर भव्य भोज गरे।

छोरी अप्सरा दुई वर्षकी भई आफन्त,छर-छिमेकीले मुना दम्पतीलाइ भने अब छोरो पाउनुपर्छ  । एक छोरा-एक छोरी परिवार राम्रो हुन्छ । उनीहरू अर्को सन्तान जन्माउने योजना बनाए। त्यसको एक वर्षमै मुनाको कोखबाट अर्को छोरीको जन्म भयो । आफ्नो सन्तान जन्मे पनि छोरी नै जन्मेकाले मानबहादुरको मन अलि खिन्न भयो।यस पटक उनले सामान्य भोज गरी टारे। दोस्रो छोरी अदिति जन्मेको दुई वर्षमै मुना गर्भवती भइन। यस पटक त छोरा नै जन्मिन्छ । ज्योतिषले भविष्यवाणी गरेका थिए ।  तर मानबहादुरको मान उच्च बनाउने छोरा जन्मेन ।  आखिर तेस्रो सन्तान पनि छोरीको नै जन्म भयो ।  मानबहादुर निकै निराश भए । उनले सामान्य रित मात्र पुर्‍याएर छोरीको नामाकरण गरे। उनले छोरीको नाम अनुपा राखिदिए। ज्योतिषले छोरा जन्मने भविष्यवाणी असफल हुँदा मानबहादुरको ज्योतिष र भविष्यवाणी प्रति नै विश्वास हरायो।मानबहादुर निकै चिन्तित हुन थाले । होटेलमा आउने ग्राहकहरूले छोरा-छोरीको बारेमा सोध्दा पनि उनी झर्कने गर्दथे ।  श्रीमानको छोराप्रतिको मोहले मुना निकै निराश थिइन।

एक दिन मुना हाटबजारबाट सामान किनेर बसमा फर्किँदै थिइन ।  बसमा एक महिलाले काखमा छोरा च्यापेकी थिइन।  कुराकानी गर्दै जाँदा, “बिहे गरेको ,सात वर्षमा पनि बच्चा नजन्मेर देवीको मन्दिरमा गई वर मागेको छोरा नै जन्मियो ।”  उनले उत्साहित हुँदै सुनाइन। मुना घर आएर निकै बेर सोचिन्, श्रीमानको छोरा पाउने इच्छा पुरा हुन्छ कि ! एक चोटि गई हेर्नुपर्‍यो । उनले मनमनै सोचिन। मुनाले आफ्नो श्रीमानलाई सुनाइन।  श्रीमानको धर्म र भगवान् प्रति नै विश्वास हराइसकेको थियो।  उनले सुरुमा इन्कार गरे तर मुनाले कर गरेपछि उनी जान तयार भए। बिहीबारको दिन पारी बिहानै उठेर, देवीको दर्शन गर्न हिँडे। तीन घण्टा गाडीमा र गाडीबाट झरेपछि पाँच घण्टा ठाडो उकालो पैदल हिँडेर मन्दिर छेउ तालमा नुहाएर उनीहरूले मन्दिरमा दर्शन गरे । मानबहादुरले “ घोर्ले छोरो दिनु म घोर्ले बोका लिई आउँछु” भन्दै भाकल गरे।

देवीको दर्शन गरी आएको दश महिनामै मुनाको कोखबाट छोराको जन्म भयो। मानबहादुर निकै खुसी भए।  उनले दुई वटा खसी काटेर भव्य भोज गरे।  उनले छोराको जन्मसँगै आफ्नो मान बढेको ठाने । छोरा भनेको मरेपछि पनि दागबत्ती दिने , कुल खानदान अगाडी बढाउने अमूल्य रत्न भन्ठानेर,छोराको नाम अमूल्य रत्नको नामबाट “पारस” राखिदिए। छोराको निवारणको तीन दिनपछि बिहीबारको दिन मानबहादुर , मुना र पारसका दुई जना मामाहरू घोर्ले बोका लिएर देवीको मन्दिरमा हिँडे।

छोरा जन्मेको खुसी मानबहादुर तथा पारसका दुई मामाहरूको अझै कम भएको थिएन।  उनीहरू निकै रक्सी पिएका थिए। गाडीमा तीन घण्टा सम्म बस्दा एक पटक आमाको दूध खुवाउन बाहेक मानबहादुरले छोरो आफूले मात्र समाए। गाडीबाट अाेर्लदै  पैदल हिँड्दा ठाडो उकालो र निकै अप्ठ्यारो बाटो,आफ्नो श्रीमान् तथा भाइहरूले रक्सी खाएकाले,उनीहरूलाई छोरो समाउन दिइनन् । बरु उनीहरूलाई बोका थमाइदिइन । भर्खर चौध दिनकी सुत्केरी मुनालाई निकै कठिन भयो । तर छोरो जन्मेको उत्साहले उनले दुःख पिडालाई पनि भुलाई दिइन। पाँच घण्टाको ठाडो उकालो अझ निकै अप्ठ्यारो सिडी चढी चौध दिनकी सुत्केरी मुना,चार किलोको छोरो बोकी,श्रीमान् र भाइहरूभन्दा पहिला पार गरिन। उनीहरू तीन पटक मन्दिरको तल रहेको तालको परिक्रमा गरी,तालमा नुहाएर,देवीको दर्शन गरी बोकाको बलि चढाएर  फर्किए।

छोरा जन्मेको साल नै होटेलको अगाडी सरकारी कार्यालय आएर बस्यो।अब त मुना र मानबहादुर एक छिन फुर्सत हुन्थेन । होटेलमा,बिहान देखी दिनभर चिया र साँझमा रक्सी। छोरोले भाग्यमानी ल्याएको रहेछ।  सबैले मानबहादुरलाई फुर्काउँथे,उ पनि मक्ख पर्थ्याे ।

मानबहादुरले छोरा पारस हुर्काउन छोरीहरूको तुलनामा निकै खर्च गरे । उनले सानै देखि छोराको हरेक इच्छा आफ्नो गक्ष अनुसार पुरा गर्थे।छोराले सानो कुनै प्रतियोगितामा पुरस्कार जित्दा मानबहादुर मेरो छोरी हो नि! भन्थे। दिदीहरूले पनि भाइलाई निकै माया गर्थे।

आठ वर्षको उमेरमा मगर संस्कार अनुसार छोरा पारसको छेवर गरे। दुई जना मामाले गोठमा दाम्लोले बाँधेर दुबोको माला लगाउँदै कपाल काट्दा पारस निकै रोएको थियो।  त्यही बेला खिचेको तस्बिर हेरी मुनाले निरन्तर आशु बगाउँदै थिइन्। गेट खोलेको ठुलो आवाजले उनी झस्किइन।  फोटो फ्रेमको काप भरी आशु भरिएको थियो,।  उनले फ्रेम पुछिन र पुनः टेबलमै राखिन।  मान बहादुर आज चौथो दिन पनि मातेर आए, “अझ सुतेकी छैनस्।  छिटो सुत भोलि फेरि तेरो गँजडी छोरोलाई, खाना पुर्‍याउन जानी होला । तेरो छोरोले मेरो इज्जत खोलामा बगायो । ” उनले त्यति मात्र बोले अनि बिस्तारामा पल्टे, भन्न त कत्ति कुरा थिए। मुनाको मनमा तर केही बोलिनन् । मानबहादुर लर्खराउदै धेरै बेर सम्म बोले अनि निदाए। मुना रातभरि निदाउन सकिनन् ।

उनी बिहान हतार हतार होटेल खोलिन, घरको सबै काम हतार हतार गरिन।  छोरालाई मन पर्ने खसिको मासु पकाइन।  पुलाउ पकाएर, हटकेशमा राखेर छोरा भेट्न हिँडिन । आज पाँचौँ दिन थियो पारस प्रहरी हिरासत कक्षमा थियो । उ ४१ एम्पुल फेनारगन र ५० ट्याब्लेट नाईट्रोजेपाम सहित पक्राउ भएको थियो। मुना छोरालाई भेटेर फर्किदा गाडिएको पल्लो सिटमा एउटा बच्चाले चिज बल खादै थियो।  उसले बेलाबेला आमालाई खुवाउँदै पनि थियो। मुनाले पारसको बाल्यकाल सम्झिइन।  उ आफूले चाहेको सामान कुनै पनि हालतमा किन्दिनुपर्ने भनी जिद्दी गर्थ्यो । खानेकुरा खादा सधैँ आमालाई खुवाउँथ्यो । दिदीहरूलाई पनि भाग लगाई दिन्थ्यो। मानबहादुरले छोरीहरूलाई सामुदायिक विद्यालयमा र पारसलाई निजी विद्यालय भर्ना गरिदिएका थिए।  पारसले बेला बेला माहिली र कान्छी दिदीहरूको कमजोर अग्रेँजीको मजाक उडाउँथ्यो।  दिदीहरू पनि उसको कमजोर नेपालीको मजाक उडाउँथे । बिस्तारै माहिली छोरीको पढाई निक्कै राम्रो भयो।  पारसले पनि मजाक उडाउन छाड्यो ।

पारस आमालाई निकै माया गर्थ्यो । ६ कक्षामा पढ्दा खाजा खर्च बचाएर, हाट बजार बाट चप्पल किनेर ल्याउँदा मुनाको खुसीको कुनै सीमा नै थिएन । साच्चि खुसीको मापन हुने भए।  पहिलो चोटि छोराले मम्मी भनेको दिन पछि त्यो दिन होला, मुना जीवनमा सबैभन्दा बढी खुसी भएको । गाडिएको चर्को हर्नले मुना झसङ्ङ भइन ।  गाडी आफू झर्ने चोक भन्दा अलि माथि पुगेछ । उनी झरेर हिँड्दै फर्किइन। पारस हिरासतमा परेपछि मुना अर्धचेत जस्तै भएकी थिइन । होटेलमा काम गर्दागर्दै उनी एक्लै टोलाउँथिन ।  टोलाउँदा टोलाउँदै आशु झर्थ्यो ।  उनी कत्ति पटक त बोलाउँदा पनि सुन्थिन् ।

घर पुग्दा बित्तिकै, ज्वाईले फोन गरे  ।  जेठी छोरी अप्सराका श्रीमान्, नेपाल आर्मीमा थिए।  उनले पारसलाई पनि फौजी बनाउन चाहन्थे । माहिली छोरी अदिति १२ कक्षाको परीक्षा दिएर बसेको थिई। कान्छी अनुप १२ कक्षामा पढ्दै थिई।  तर पोहोर साल SEE परीक्षा दिएपछि पारस एकाएक गलत सङ्गत र लागु औषधको मा फस्यो।  घर परिवार आफन्त सबैको प्यारो पारस एकाएक घरबाट हराउने फोन नउठाउने होटेलमा बस्दा पनि गल्ला बाट पैसा निकाल्ने गर्न थाल्यो ।

होटेलमा गल्लाबाट पैसा निकाल्ने तथा लागुऔषध सेवन गर्ने हुँदा उसलाई पैसा दिन बन्द गरियो। उ चोक चोकमा झगडा गरेको खबरहरू घरमा आउँथे। दुई महिना पहिला मात्र पल्लो चोकको केटाहरूसँग झगडा गरी चालिस हजार उपचार खर्च तिरी निस्केको पारस ५ दिन अगाडि उ ४१ एम्पुल फेनारगन र ५० ट्याब्लेट नाईट्रोजेपाम सहित प्रहरी नियन्त्रणमा परेको थियो ।  भोलि पारसको दोस्रो पटक अदालतमा हाजिर गर्ने दिन थियो ।

भोलिपल्ट पनि मुना फेरि अरू दिन भन्दा अलि छिटो प्रहरी चौकी पुगिन ।चौकीमा छोरालाई खाना पुर्‍याएर फेरि माइक्रो चढी अदालत पुगिन् । पारसलाई पुनः ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप भयो। मुनाले बिहान देखी एक घुट्को पानी सम्म पनि पिएकी थिइनन् । दिउँसो २ बजेको चर्को घाममा उनी रिँगटा लागि बेहोस भइन ।  उनलाई अस्पताल लगियो ।छोराको पिरले उनी निकै कमजोर भएकी थिइन ।

त्यही दिन राति छोरी अदितिको परीक्षाफल प्रकाशित भयो । उ सामुदायिक विद्यालयबाट जिल्ला प्रथम भएकी थिई । मुना निरन्तर ७ दिनसम्म छोरालाई भेट्न गइन।  खाना लगिन, आज पारस हिरासतमा पुगेको तेहौ दिन अदालतमा अन्तिम मुद्दा फैसला थियो ।सोही दिन छोरी अदिति प्रथम भएको जिल्ला शिक्षा अधिकारीबाट जिल्ला शिक्षा कार्यालयमा सम्मान कार्यक्रम थियो ।  तर मुना र मानबहादुर छोराको इजलासमा गए।  पारसलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा भयो । उता अदितिले पुरस्कार बापत ५ हजार रुपैयाँ पाई ।उसले त्यो पैसा आमालाई दिइन तर मुना र मानबहादुर अदितिले पुरस्कार पाएको भन्दा छोरा रिहा भएकोमा बढी खुसी थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments