कथा – खोज

आइतवार, अशोज २६, २०७६

- सीता ओझा



हिजोसम्म घरपरिवारमा सबै भन्दा बढी हाँस्ने र बोल्ने निसा आज एक्कासी नबोल्ने र एकान्त प्रिय बनेकी छ । आमा,बहिनी,भाइसगँसगैं भान्सा नछाड्ने निसा निकैबेरदेखि सम्पर्कमा छैन् । विहान उठ्नासाथ ओछ्यानमै चियाको कप भेटिएन भने कोकोहोलो नै गर्थि ।

कहिले हास्दै कहिले रूदै मलाई हेपेका भन्थि । अहिले त यस्तो गर्छौ मलाई मेरो विहेपछि के गर्छौ होला ? भनेर चिच्याउदै भित्र र बाहिर गर्थि । सुन्नेलाई लाग्थ्यो कहिलेकाहीँ जाने पाहुनाले त साच्चिकै हेप्दा रहेछन् भन्ने बनाउथि ।

यसरी सयौं पटक वचनले सम्बन्ध सकिए झै गरे पनि घरपरिवारमा निसाको मान र महत्त्व कम थिएन । विहानदेखि बेलुकासम्म घरपरिवारका सबैले निसालाई सोधिरहन्थे ।निसाका बाले खाना खाने बेलामा निसालाई सगैं खाना खान बोलाउथे तर निसा कम्युटर र मोबाइलमा नै मस्त हुन्थिन् । जवान भैसकेकी निसाले खाना खाने विषयलाई लिएर घरका धेरैले गाली खाने गर्थे ।

निकै रातीसम्म निदाउन नसकेकी निसा आज एकाएक एकान्त प्रिय भएको देखेर भाउजू गंगाले सासुसगँ च्वास्स कुरा गरिन्,  आमा !मैयालाई आज के भएछ ? चुपचाप अघिनै हिड्नु भएछ । मैले विहानै लगिदिएको चिया पनि पिउनु भएको छैन । खाजा लगिदिनु पर्यो भनेर कोठामा गएको देखिन् । बाथरूम हो कि भनेर ,विस्तारा मिलाइ दिएँ, अरू सबै सामानको मिलाएर राखें , निकैबेर सम्म न निस्किएपछि बाथरूम हेरें, बन्द पो रहेछ । विहानै , मलाई खोइ चिया भन्ने मान्छे कतै देखिन । बाहिर निस्केर चारैतिर हेरें , नदेखेपछि पल्लो बारीको ढिलसम्म गएँ !निकै परसम्म आँखा तानेर हेर्दै थिएँ । तल्लो पट्टि डिलको खस्रेतोको बोटमा टोलाएर अडेस लागेको देखें ।

कहिल्यै यसो नगर्ने मान्छेले यस्तो गरेको देखेर तीनछक्क परें ! विसन्चोले भएछ कि जस्तो मानेछु आमा  गंगाको कुरा सुनेछि सावित्रीले भनिन् ,  हिजोदेखि निसामा एकाएक परिवर्तन देख्छु बा ।  मैले त तिमीहरूलाई भन्न नसकेको राती अझै सुतिनस् नानी भन्दै उसको कोठामा छिरेकी थिएँ ! उ त एक्कासी आतिदै अँ , अब सुत्छु भन्दै हतनपत हातको ल्यापटप लुकाउन थाली । कहिल्यै त्यसो नगर्ने मान्छे किन त्यसरी आतिएकी हो ? मैले त कुरै बुझिन् ।  गंगाले भनिन् ,  आमा हजुरले बोलाउनु न ! आज त चिया पनि खानु भएको छैन, यतिका बेरमा दुई पटक खाइसक्ने मान्छे , कसैले केही भनेछ कि ! हजुरसगँ भन्न सजिलो मान्न भएकोले भनेको भनिन् ।

यस्तो गर्ने मान्छे त हैन भन्दै सावित्रा निसा भएतिर गइन् । निसा टोलाइ रहेकी थिइ सावित्रीले नानी , नानी भनेर बोलाइन । निसाले सुन्दै सुनिन । सावित्री छेउमै गएर भनिन् ,  नानी !  यसबेलासम्म भोक लागेन् ? चिया पनि खाएकी छैनौ , सन्चो भएन हो ?  भन्नू पर्छ नि ?कुन बेलादेखि यता आएकी हो ?  ल हिड सानी  भन्दै तानेर ल्याइन । त्यस्तो बोल्ने छोरी एकाएक नबोल्ने भएको देखेर सावित्री छक्कै परिन् ।

 नानू सन्चो भएन हो ? मैले नानुलाई मन पर्ने कफि र फिसबल ल्याइदिएकी छु  ।  खानु त भन्दै छेउमा राखी दिइन् । निसाले मलिन स्वरमा भनिन्, जे भए पनि भइ हाल्थ्यो नि भाउजू ! भन्दै बाथरूमतिर छिरिन् । गंगा र सावित्री छक्क परेर उभिरहे । एकाएक यस्तो व्यवहार देखेर भनेर गंगा र सावित्री शंशकिंत देखिन्थे । गंगा र सावित्रीले झन्डै पन्ध्र मिनेट कुरे पछि निसा बाहिरिइ ।

गंगा र सावित्री उभिरहेको देखेर, ए तपाईंहरूले मलाई किन कुरेको मलाई छोडिदिनु, म खाई हाल्छु नि । भनी , सासू बुहारी दुबै बाहिरिए । तर दुबैमा अनेकौ कुरा खेलिरहेका थिए । खाजा खाइसकेपछि निसा घरको छतमा उभिएर आँखाले देखिने जति चारै तिरको फाँट घुमि घुमि हेरिरहि । निसालाई चारैतिरको हरियाली र धानका बाला झपक्कै झुलेको सुनसान सुन्दरताले निकै मोहित बनाएको जस्तो बुझिन्थ्यो ।
निसाका बेलाबेलाका लक्षण हेर्दा मानिसले गृहस्थ छोड्ने बेलामा देखाउने अनौठो स्वाभाव जस्तै गर्न थालेको भान हुन्थ्यो । एकान्तमा उभिएपछि प्रकृतिसगै हराउन खोजेको हो कि जस्तो भान हुन्थ्यो । निसाको मौनताले घरपरिवारमा निरास ल्यायो । एकाएक विकास भएको व्यवहारले पारिवारिक उझन बढ्यो ।

निसाका बाबा छोरीको कोठामा गए । छोरीसगँ कुरा गर्न खोजे,खाना खान बोलाए तर उनी उठिनन् । उल्टै बाबा हजुर खाना खादै गर्नु म एकछिन पछि खान्छु , भर्खरे खाजा खाएको खास भोक छैन भनिन् ।
निसाका बाबाले कर गर्न सकेनन् ।

खाना खादै निसाका बाबाले भने , किन यसो गरि त निसाले ? तिमीहरूले मसिनो गरि सोध है !  एक दुइदिन भित्रै समस्या पत्ता लगाउनु पर्छ नत्र गाह्रो हुन्छ । उमेर पनि त्यस्तै छ , डाक्टर या मनोसामाजिक परामर्शदाताकोमा लानु पर्ला जस्तो पो लाग्यो मलाई त !  भन्दै निसाका बाबा उठे । दुइदिन भै सक्यो निसाले स्वाभाव फेरिनन् । कोठामा अरू गएर बसेको पनि रूचाइनन् । दिउँसोतिर एकछिन काम छ भनेर निस्केकी निसा साँझसम्मै नआउदा घरमा सबै आति सकेका थिए । तर निसाको अगाडि कसैले केही भनेनन् । खाना खाने बेलामा निसाका बा आफैले निसाको कोठामा गएर निकै बेरसम्म फकाएर खाना खान ल्याए । निसाले खाना पनि अरूदिन भन्दा निकै थोरै मात्रै खाइ । खाना खादै गर्दा निसाका बाबाले निसालाई सोधे, नानी !  तिमीलाई सन्चो भएन हो ? किन अलि टोलाएको जस्तो गरेछौ ? यस्तो उमेरमा यस्ता खालका अनेकौ समस्याहरू आउने गर्छन् , एक पटक मनोसामाजिक परामर्शदाताकोमा जाने कि ? बाबाको कुरामा निसाले सहमति जनाउदै भनिन् , हुन्छ बाबा ! मेरो मनमा अहिले अनेकौं अनौठा तरङ्गहरू आइरहेका छन , त्यसैले ती विषयमा म सल्लाह लिन चाहान्छु ।

खुलेर छोरीले मनोपरामर्शदाताकोमा जान चाहेको कुराले निसाका बाबा खुसी भए । तर पनि मनमा अनेकौं कुरा खेलिरहे । भोलिपल्ट निसाको मिल्ने साथी दिलासा र निसालाई लिएर निसाका बाबा मनो सामाजिक परामर्शदाताकोमा पुगे । एकछिन निसाको बाबासँग कुरा गरेपछि मनोपरामर्शदाताले निसासगँ मात्रै कुरा गर्न खोजिन । निसाको बुवाले हुन्छ भनेर बाहिर आए तर निसाले दिलासालाई सगै बस्न अनुरोध गरिन् । परामर्शदाताले पनि तपाईंलाई सजिलो हुन्छ भने ठिकै छ भनिन्  ।  त्यसपछि निसा र परामर्शदाताविचमा कुरा सुरू भयो ।    परामर्शदाता अहिल्याले सोधिन् ,  तपाईंमा अहिले केही नयाँ कुराहरू मनमा आइरहेका हुन्, मलाई भन्न सक्नु हुन्छ ?  तपाईंलाई त्यो विषयमा सहयोग गर्न सक्छु !  मिल्छ भने असजिलो नमानि भन्नू होला । निसाले पनि सजिलैसँग भन्न थालिन,  हेर्नू न , अस्ति मैले सामाजिक सञ्लालमा एक्कासी पुरानो साथी भेटें । उसले मसँग एकछिन कुरा गरेपछि उसका कुरा मलाई अनौठो तर सत्य लाग्यो । तीनै कुराहरू अहिले पनि मेरो मस्तिष्कमा जमेर बसेका छन ।

अहिल्याले सोधिन् ,  तपाईंले ती कुरा मलाई भन्न सक्नु हुन्छ नि ! सक्छु र भन्छु पनि भन्दै निसाले भन्न थालिन् ,पृथ्वी नाङ्गो छ , सम्पुर्ण प्रकृति नाङ्गो छ ,आकाश पनि नाङ्गै छ , ब्रम्हाण्ड सिङ्गै नाङ्गो छ ! यसैले त ती सब सुन्दर,निश्चल र पवित्र छन् !लाज मानेर त जीवन चल्दैचल्दैन नि ! मृत्यु,जन्म ,चराचरको सृस्टि, निर्माण,विनाश केही हुँदैन ! धक मानेर न घर बन्छ न परिवार !न गीत लेखिन्छ न सङ्गीत बन्छ  ।  न जगत बुझिन्छ , न दर्शन ! न आध्यात्म हुन्छ न विज्ञान !  हेर्नुस् त हिमाल नाङ्गो भएरै सुन्दर छ ! नदि नाङ्गो भएर नै वेगवान हुन्छ ।  फुल लाज नमानी फुल्छ र त् सुन्दर छ ।  पशुपंक्षी , किटपतंग , झारपात , रुखविरुवा , ढुङ्गामाटो ,  सब लाजहिन छन् ।  यसैले त तिनीहरूसगँ प्रेम र जीवनको रङ्ग भेटिन्छ त !  तर हामी मान्छेले ?  आकाश उडिरहेका चराहरूलाई नाङ्गो देख्छौं ? अनि समातेर पिजडामा थुनीदिन्छौं ! बगैंचा नाङ्गो लाग्छ र साँगुर्याउदै गमालामा गुलाब हुर्काउछौं ।  मन्दिरका टुडालमा कुँदिएका ईश्वरहरु नाङ्गो देख्छौं अनि मन्दिर भित्र लुकाइदिन्छौं ।  वेगवान नदिलाई नाङ्गो भन्छौ अनि बाधँ बाँधीदिन्छौं । नदिका अनेकौ बन्धन हामीले हाम्रो स्वार्थमा सृजना गर्छौ ।

हामी मान्छेले शरीर ढाक्छौ ।  व्यवहार र बोलिबचनले आफैं सयौं पटक नग्न बनाएको भेउ नै पाउन्नौ । हामीलाई सौन्दर्यता मनपर्दैन, सुन्दर बन्न चाहिँ मन पर्छ । जहाँ प्रेम छ ।  त्यहाँ नाङ्गोपन छ  र, त्यो नै सुन्दर छ, भनेर बुझ्दैनौ ! निसाले भनिरहिन्, अहिल्याले सुनिरहिन् ! निसाले कुरा सकिन र भनिन्,  यी सबै कुरा मलाई ठिक लागे, त्यसैले म यसको खोजि गर्न चाहान्छु ।  तपाईंले मेरो परिवारभित्र मलाई यस्तो खोज गर्ने वातावरण बनाउन मद्दत गरिदिनुस् । निसाको कुरा सुनेर अहिल्या पनि जिल्ल परिन् तर पनि केही सम्झाउदै पक्कै भनिन् र अर्को पटक चाडै भेट्ने सरसल्लाह गरिन् । र विदा भए । अहिल्या निकैबेर ट्वाल परिन् । समस्याले समाधान लिएरै आएको हुन्छ भन्ने ठानेर अर्को विरामीलाई बोलाउन लगाइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata