मशानघाटकी रजनी

बिहिबार, बैशाख १३, २०७५

- बविता ढकाल



बेला–बेला मन खुलेको जस्तो । फेरि धुम्म बाँदलले ढाकेको आकास जस्तो । रजनीसँग बस्दाको छिनभरमै उनको अनुहारले रङ फेरिरहेको प्रष्टै बुझ्न सकिन्छ । थोरै बोल्दा पनि विगत पल्टिएर खसेको ठम्याउन कठिन पर्दैन । ललितपुरको कुसिन्ती हाईटमा रहेको नेपाल स्नेही काखमा भेटेएकी रजनीको सुन्न पनि नसकिने कहानी छ । जीवनमा आएको एउटै घटनाले फूल जस्तो संसारमा रमाइरहेकी रजनी अर्को मोडमा धकेलिइन जहाँ उनलाई आफ्नो परिचय समेत थाहा छैन । ३५/३६ जति बर्षको उमेर ।

फुलजस्ता दुई छोरी । असल श्रीमान । मिलेको त्यो जोडी देखेर उनी बसेको टोलमा समेत चर्चाको विषय बन्थ्यो । खुत्रुके बनाउने व्यवसायमा लागेका उनका श्रीमानले दुई छोरी र श्रीमतिलाई त्यही खुतेक्रेजस्तै सम्हालेर राखेका थिए । खुर्तुके फुटेजस्तै रजनीको जीवनमा अचानक सम्हाल्नै नसकिने पाहाड खस्यो ।

प्यारालाइसिस भएर वीर अस्पताल पुर्याइएका श्रीमानको मृत्यु उनका लागि पत्याउन नसकिने घटना थियो । श्रीमानको मृत्यु भएको दिनमै कोठाबाछ एकाएक हराएकी रजनलाई तीनदिनपछि छिमेकीले लथालिङ्ग अवस्थामा देखे । जिउँदो लासको रुपमा भेटिएकी रजनीको नत पीडा बुझ्न सकियो नत जान्न । उनी बस्ने क्षेत्रपाटीका छिमेकीहरुका अनुसार वीर अस्पतालमा श्रीमानको मृत्यु भएपछि उनको दाहसंस्कार शोभाभगवती स्थित आर्यघाटमा गरिएको थियो । श्रीमानको मोहले उनलाई मशानघाट सम्म पुर्यायो सायद ।

बाँया आहिले र दाँया पहिलेको  रजनी

rajani

त्यो बिचमा भएका दुई छोरी (३, ५ बर्ष अन्दाजी) कहाँ गए ? अहिलेसम्म भेटिएका छैनन । श्रीमान वितेपछि उनी शोभाभगवती, वीर अस्पताल, बसन्तपुर र क्षेत्रपाटी आसपासमा देखिन्थिन् । अहिले श्रीमानको मृत्यु भएको १३ बर्ष भन्दा बढी भयो । १० वर्ष श्रीमानको पीडामा अर्धचेतमै उनले सडकमा विताइन ।

कयौंपटक बलात्कृत भइन् । जन्मिदा जन्मिदैको बच्चा हरेर कसैले लगिदिएको अर्धचेतमै सामना गरिन । दुई छोरी कहाँ फालिन ? कसले लग्यो ? वा कतै बाँचिरहेका छन् की ? अहिलेसम्म पत्तो लागेको छैन । उनले सम्झिने भन्ने अवस्था छैन । उनी बेला–बेला बसन्तपुर आफन्तले बोलाकाछन् भनेर जान चाहिन्छन् । जहाँ उनका श्रीमानले खुत्रुके बनाएर बेच्ने गर्थे । तर श्रीमान बाहेक उनका आफन्त अहिलेसम्म भेटिएका देखिएका छैनन् । सुन्दा कुनै चलचित्रको कथाजस्तै लाग्ने रजनीको पीडा अझै उनकै मनमा गुम्सिएर बसेको छ । उनले १० बर्षमा कति पीडाका पर्खालहरु चढिन ? उनी ठीक भएपछि सायद बाहिर आउला । रजनी पनि स्नेही काख नामक सस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले राखिदिएको नाम हो । बसन्तपुर क्षेत्रका स्थानीयका अनुसार रजनी हरेक दिन सडकमा हिड्नेहरुबाट बलात्कृत हुन्थिन् । कति वच्चा जन्माइन् त्यो त पत्तो नै छैन । साधुको भेषमा भेटिएका पुजारीबाट पनि उनी बलात्कृत भइन । त्यो हेक्कात रजनीलाई पनि छ तर बलात्कार गरेको भनेर होइन श्रीमति बनाएर माया गर्यो भनेर । उनलाई त बलात्कारको अर्थपनि के थाहा ।

रजनी भेट्न जाँदा

rajani 1

बिहान ८ बजे म नेपाल स्नेही काखको त्यो घरमा पुग्दा थुप्रै महिलाहरु भेटिए अनी केही बालबालिकार । रजनीको कथा खोतल्न गएकाले मेरो आँखाले उनलाई खोजीरहेका थिए । तत्काल स्नेही काखमा बेसाहारा महिलालाई सम्हालेर राखेकी श्रीनेहा पोखरेलसँग भेट भयो । सामान्य जानकारी पाएपनि म रजनीका बारेमा जान्न आतुर थिए ।

हामी अर्काे कोठातिर लाग्यौं । श्रीनेहा र म कुरा गर्दै थियौं त्यहीबेला मलाई बसन्तपुरमा बोलाएको छ आमा (श्रीनेहा पोखरेल त्यहाँ उद्धार गरिएर ल्याइएका सबैका आमा हुन् उनीहरुले उनलाई आमा भनेर बोलाउछन्) भन्दै एकजना महिला हामी भएका कोठामा आईन् । श्रीनेहाले बसन्तपुरमा कसले बोलाको छ भनेर उनलाई सोधिन् । अनि उनले भनिन् मेरो आफन्तले । अनि ती आमा अर्थात् श्रीनेहाले हामी अब आउने शनिवार बसन्तपुर जानि है भनिन् । मलाई उत्सुक्ता लाग्यो र श्रीनेहासंग सोधें बसन्तपुरमा यीनका आफन्त ? अनि यीनको नाम चाहीँ के नी ? मेरो दुई वटै प्रश्नको जावफ एउटा उत्तरमा दिइन् श्रीनेहालले । हो यीनै हुन् तपाईले खोज्नुभएको रजनी । जसलाई हामीले बसन्तपुरबाट उद्धार गरेर ल्याएका थियौं तीन वर्ष अघि ।

बसन्तपुर दरबार स्थित कालो भैरवको दर्शन गर्न गएकी श्रीनेहा पोखरल त्यो बेला झसङ्ग भइन जुनबेला रजनीलाई निवस्त्र अवस्थामा देखिन् । यो कुरा तीन वर्ष अघिको हो ।

निवस्त्र अवस्थामा भेटिएकी रजनीका बारेमा उनलाई केही जानकारी लिन मन लागेर त्यहाँ वरपर बस्ने स्थानीयसंग उनले सोधिन । स्थानीयका कुरा सुनिसकेपछि ती स्थानीयले नै लिएर जानु बैनी यीनलाई तपाईसंग भए सुरक्षित त हुन्छिन् भनेपछि श्रीनेहाले रजनीलाई नेपाल स्नेही घरमा लिएर आइन् । सुरुमा बोल्नै नमान्ने रजनी पछि पछि उसको उपचार, हेरचाह गर्न थालेपछि अलिअलि बोल्ने र हास्ने भइन् रे । विस्तारै दिनहरु वित्दै जाँदा रजनीमा आफ्नो शरीरको मैलो माडेर खाने रजनीलाई खाना खानुपर्छ, नुहाउँनु पर्छ लुगा सफा लगाउँनु पर्छ, नाङ्गै बस्नु हुन्न भन्ने कुराको हेक्का हुन थाल्यो । तर रजनी अचानक डेढ वर्षपछि हराईन् । फेरि स्नेही परिवार रजनीलाई खोज्नमा लागि पर्यो र तीन दिनमा नै उनलाई भेट्न सफल भयो । उनी किन भागेर जान्छिन भन्ने पत्तो नलाग्दै फेरि एक वर्षपछि हराईन् । श्रीनेहाले १ सय ५० जना जति स्वयंसेवकहरुलाई परिचारलन गरेर शोभाभगवतीबाट रजनीले घरमा ल्याउन सफल भइन् ।

रजनीले श्रीनेहालाई अर्धचेतमै सुनाएकी छन् । ‘आमा मलाई एक जनाले २० रुपैंया दिएर श्रीमती बनायो अनि पछि मलाई नी छोड्यो मेरो २० रुपैंया पनि लेर गयो ।’ दश वर्ष सडकमा बस्दाको उनको अवस्था कस्तो थियो होला त्यो सोच्दा पनि आङ सिरिङ्ग हुन्छ ।

म जाने बित्तिकै उनले मलाई हेर्दै उनीले आमालाई भनिन् मलाई बसन्तपुर लैजान आउनु भाको हो ? जवाफ नदिदै उनले अर्को कुरा सुनाइन म महिनाबारी भएकी छु नी । मैले सोधे अनि महिनावारी हुँदा के गर्नुपर्छ नी उनको उत्तर आयो प्याड लगाउनुरपर्छ । नाङ्गै हिड्ने रजनीमा त्यो आएको परिवर्तन हो । रजनीसंग छुट्टिएर आउने बेलामा उनले मलाई सोधिन् तपाई को हो ? अनि मैले भने म तपाईको आमाको साथी ।
त्यसपछि उनले मललाई अंगालो हालिन् । आइ लभ यू पनि भनिन् । आँखा रसाए म निशब्द भए । उनले नदेख्ने गरि आँशु पुछे अनि हात हल्लाउँदै बाहिरिएं ।

रजनीको कथामा नाटक

बाँया श्रीनेहा दाँया रजनी

shreeneha

तीनवर्ष अघि बसन्तपुरमा स्नेही काखले उद्धार गरेर ल्याएको रजनीको जीवनीमा नाटक मञ्चन हुँदैछ । असार २१ गते मञ्चनहुने नाटकमा रजनीको सुझबुझ जीवन र क्षत्विक्षेत भएको जीवनका बारेमा दर्शाइनेछ । नेपाल स्नेही काखकी सञ्चालिका श्रीनेहा पोखरेल एउटा रङ्गकर्मि पनि हुन् उनै पोखरेलले रजनीको भूमिकामा आफुलाई प्रस्तुत गर्दैछिन् ।

537 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank