कथा -लकडाउन

बिहिबार, बैशाख ११, २०७७

- -सरोज धमला



मजदुरी गरेर खाने हाम्रो परिवार दिनभरि कमाउने साँझ खाने हाम्रो बचत केही थिएन । काम हुँदाहुँदै एकाएक लकडाउन भयो । साहु त दुई दिन अगाडी नै घर हिँडेछ । घरमा भएको रासनले दश दिन सम्म त जेनतेन चल्यो । रासन सकिएपछि वडा अध्यक्षले दश किलो चामल, दुई किलो दाल, एक पोका तेल, दुई किलो चिउरा र एक पोका नुन नदिएका पनि होइनन् । त्यसको नि धान्न सक्ने क्षमता एक हप्ता भन्दा रहेनछ  । घरमा आमाले यतै आऊ जसरी हुन्छ धानौला आफ्नो गाउँ हो भन्नु भो । बस पाउने कुरै भएन । साथमा पन्ध्र सय रुपैयाँ थियो । त्यही लिएर एक किलो चिउरा र अलिकति चामल लिएर हिँड्यौ । बिहान पाँच बजे तीनकुने बाग्मती किनाराको कोठाबाट हिँडेको,अहिले भर्खर थानकोट ओरालो आइपुगियो । कहिले होला ,कति दिनमा होला हामी दाङ पुग्ने । एक मनले भन्छ बेकारमा हिँडियो, अर्को मनले भन्छ काठमाडौँमै बसेको भए के खाएर बाँच्थ्यौ । बाटोमा अलिअलि मालवाहक ट्रक नचलेका होइनन् ।

एक हुल मानिस बोकेको मालवाहक ट्रक पछाडिबाट हुईकिदै आयो । मैले हात नदिएको हैन, मैले हात फैलाएको देखेर झन् खाली बाटोमा बायाँ चेप्दै एक मुस्लो धुवा र धुलो को एक भुमरी उडाउँदै नागढुंगाबाट ओरालो लाग्यो । म र मेरो ७ बर्से छोरीलाई त्यस धुलो र धुवाँबाट जोगाउन कम्मरमा बाधेको मजेत्रो को दुवै छेउको प्रयोग गर्दै उही ट्रक गएको दिशातिर अगाडी बढेँ । मेरो अर्को नानी भने पेट भित्रै सुरक्षित भएकोले मजेत्रोको आवश्यकता थिएन । मेरा श्रीमान् अलि चाँडो हिँड्ने भएकाले निकै अगाडी कटिसकेका थिए । पहिले घर फर्किदा र अहिले घर फर्किँदाको अवस्थामा एउटा मात्र समानता थियो त्यो हो गन्तव्य ।

 नागढुंगाबाट अगाडी बढ्दै गर्दा एक जना कधमा फुली र हातमा डायरी लिएका पुलिसले खुब घुरेर हेर्‍यो । उसको त्यो हेराइमा हामी प्रति सहानुभूति थियो या रिस मैले छुट्ट्याउन सकिन  । उनका छेउमा भुईँमा बसेका अरू ५/६ जना पुलिस चाही धमाधम चाउचाउ फोड्दै चिउराको पलाष्टिकमा मिसाउँदै थिए ।

 करिब एक घण्टाको लगातार हिडाईपछि बाटोको बायाँपट्टि रहेको धारोमा पानी खाएर फेरि अगाडि बढ्न लाग्दै थिए । हामी आएकै दिशाबाट एउटा सानो माईक्रो हुईकिदै आएर टक्क अडियो । हातमा क्यामरा बोकेका उनीहरू हेर्दा पत्रकार जस्ता देखिन्थे । उनीहरूमध्ये एक महिला मेरो अगाडि आइन र कहाँबाट आउनुभयो र कहाँ जान लाग्नु भएको सोधिन, सोध्नासाथ उनीहरू आफ्ना क्यामरा तेर्साएर केही बेर भूमिका बाँध्दै म तिर देखाउँदै विभिन्न प्रश्नहरू सोध्न थाले । तपाईँको नाम के हो ? तपाई कहा देखी आउनु भएको ? तपाईँको घर कहाँ ? कति दिनमा पुग्नुहुन्छ ? तपाई बाटोमा हिँड्दा कुनै गाडी भेट्नुभएन? तिनीहरूले रोकेनन्? यस्तै यस्तै । प्रश्नोत्तर सकिएपछि क्यामरा आफूतिर फर्काउँदै सरकारले यस्ता पीडितहरूको उदारमा ध्यान नदिएको र जो कहिले पनि बाटोमा कुनै पीडित देखिए मानवता देखाइदिनुहुन अनुरोध गरे । निकै बेर सरकारलाई गाली गरेपछि कुराकानीको लागी धन्यवाद दिँदै गाडी लिएर नौबिसे ओरालो लागे । उनीहरूले हामी र हाम्रो अवस्था प्रति देखाएको रुचिले गर्दा मन मा पलाएको झिनो आस पनि उनीहरू हिडेपछी लिलाम भयो । दुनियाँ यस्तै रहेछ सबैलाई आफ्नै ध्यान छ, सबैलाई आफ्नो दुनो सोझ्याउन भए पुग्ने रहेछ ।  मन भरी यस्तै सोच्दै पुनः वैशाखको चर्को घाम र महामारीलाई दोष दिँदै ओरालो लागेँ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments