कथा- सन्तान चोट !

शनिबार, माघ १९, २०७५

- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र



” हेलो बाबू , के छ खवर ? तिमीहरू सबै सन्चै छौ नि ! केटाकेटी कता छन ? दुलही ठिक छन नि ? ” एकै स्वरमा  भगवतीले धेरै कुरा सोधिन ।

भगवतीको कुरा नसकिदै जेष्ठ पुत्रले  बज्रवाण प्रहार गर्यो,  ” किन चाहियो तपाईंलाई हाम्रो खवर ? खानु,बस्नु , अरूको मतलव नगर्नु राम्रो ! तपाईंलाई धेरै पटक भनी सकें, मलाई फोन गरेर दुख नदिनु भनेर । अब आइन्दा मलाई फोन नगर्नु ! राम्रो हुदैन नि ! विचार गर्नु होला  । ”  अधिकृत  भइसकेको छोराको कुरा सुनेर आमा ट्वाल्ल परिन ।

कस्तो अचम्म ! तिनै सन्तानका लागि  आमाले आफ्नो सम्पुर्ण जीवनका सुख त्यागि दिएका हुन्छन र त्याग गर्न  सक्छन् । अलिकति विसन्चो हुँदा सयौं रात निदाउन पाउदैनन् । एक रात घरबाट बाहिर रात विताउन सक्दैनन् । आमाहरूले सन्तानको सुखको लागि के मात्रै गर्दैनन् र ?

सन्तान टाढा हुँदा मातापितालाई जति मीठो खाए पनि नखाए जस्तो हुन्छ । त्यहि खाना सन्तानका लागि  सम्झेर भागमा  पस्केको पनि आधा  निकालेर तिनै सन्तानको लागि छोपेर राख्छन् । कहिँ कतै केही नयाँ कुरा देखे भने तिनै सन्तान सम्झेर रिन गरेर भए पनि किनेर ल्याउछन । अरूले कुनै कुरा  उनीहरूका सन्तानलाई दिएको या खुवाएको भन्दा सके सम्म राम्रै होस भन्ने ठान्छन् ।

आफू भोकै बसेर भए पनि सन्तानलाई खुवाउनु आमाको धर्म हो । सन्तानको सुख र उन्नति बाहेक आमाबाबुले अरू कुरा सोच्नै सक्दैनन् । तर पनि सन्तानले आमा बाबुको मर्म बुझ्दैनन् । किन होला नि यस्तो भएको ? बुवा हुँदा त कहिलेकाहीँ आउथ्यो । तर आजकाल त्यो पनि टुट्यो । सायद आमा आइमाई भएर हेपेको होला जस्तो ठान्थिन् ।

नाती र नातीनी नदेखेको पनि जुगै भयो । माया पनि कस्तो हो माथीकाको भन्दा तलैको लाग्ने  रहेछ !  बुढापाकाले भन्थे ; साँहुको भन्दा व्याजको माया ! हो रहेछ जस्तो लाग्थ्यो । तर पनि भगवती जेठो छोरालाई फोन गर्न छोड दिन थिइन् । आमा न हुन ।

हजारौ पटकको बज्रवाण सहेकी भगवती पतिको विछोड पछि एक्लिएकी थिइन् । शरीरमा अनेकौ रोग थियो । औषधी त भुटेको मकै जस्तो गरि नै खानु पर्थ्यो । तिनै छोरा छोरीकालागि बाचेकी थिइन । शरीर निकै कम्जोर भए पनि घरमा विहान  पाँच बजे देखि साँझको सात बजे सम्म भगवती काम गरिरहन्थिथ् । क्रियाशीलता जीवन फुर्तिलो हुन्छ भन्ने ठान्थिन ।

पचहत्तरको उमेर कट्दा पनि आफ्नो सामान्य खुद्रा व्यापार लगायत कुनै काम छोडेकी थिइनन् । अहिले सम्म कोही सन्तानसगँ एक पैसाको आशा राखेकी छैनन् तर पनि बेला बेलामा तिनै सन्तानले तथानाम गर्दा विरक्तिएर घरै छोडेर हिडौ हिडौ हुन्छ । आफुले बनाएको ढुगा विचैमा छोड्नु भएन भनेर मन थामेरै टिकेकी थिइन् ।

प्रत्येक दशैमा सबैका सन्तान घर फर्कदा उनी पनि  दिनभरि  जस्तै बाटो हेर्छिन । दोबाटो र साँझमा फर्कने सबै बसमा छोराछोरी आएकी भनेर आँखा नझिम्क्याई हेरछिन । निष्ठुरीहरू किन आउथे र । उनीहरूलाई खाना पुगेकै छ । मोजमस्ती गरेकै छन । उमेर ठल्केकी आमाको के मतलव र !

अघिल्लो साल दशैको पञ्चमी देखि नै छोरा बुहारी माइती ससुरामा आएका रहेछन् ।  दुलहीका दाजुले  अस्पताल जादा  बाटोमा भेटेको बेला भन्थे, ”  दशैमा हामी टीका लगाउन गएका थियौं ।जुवाइ बहिनी आएका रहेछन । तल झरेनन् ।  हामी जाँदै गरेको कुरा थाहा पाएर कोठा थुनेर बसेछन् ।छिमेकीले सुनाएको ”

भगवतीलाई कुरा सुन्दै ढलौ जस्तो भयो । आँखा भरि आँसु थाम्नै सकिनन् । हैन होला , आएका भए त घर पस्थे नि बाबू भनेर हिडि हालिन् । निकै दुखले हुर्काएका सन्तान सबै आ आफ्नै पौरखमा रमाएका छन । भगवती र सोमनाथको विवाह हुदा देखिका  जीवनका भोगाइका छुट्टै कथा बनिसकेका थिए ।  भगवतीले लेख्न जान्ने भए सन्तानले दिएको पिडाको त पीडा काव्य नै  लेख्थिन होला । सामान्य साक्षर मात्रै थिइन तर पनि विवेकशील र दानी थिइन् ।

सोमनाथका पिता निकै नाम चलेका विद्दान थिए । संस्कृतमा शास्त्रार्थ गरेकाले उनलाई भेट्न र कुरा सुन्न आउनेको खुइचो नै लाग्थ्यो भनेर पुराना मानिसहरूले भन्थें । सोमनाथ  आठ वर्षको मात्रै थिए रे ! उनका पिताको देहावसान हुँदा । पिता बितेको वर्षदिन हुने वितिकै  अंशबन्डा गरेको रे ।

गाँउलेहरूले भने अनुसार अंशबन्डामा पाथीले नापेर बतीस बतीस पाथी त सुन बाडेका रे । तर सोमनाथ र भगवतीको  विवाह गरेपछि एक वर्ष पछि हिड्दा पाँच सय  बाटो खर्चमा विदा भएका रे  ।  त्यस पछि दुवैले पैत्रीक पुँजीमा आशा राखेनन् । कहिल्यै खोजेनन् । खाली हात कहिल्यै भएन पनि ।जीवन भरि दिएर र बाँडेर खान पुग्यो सोमनाथलाई पनि ।

सोमनाथ र  भगवतीका जन्मेका नौ सन्तान मध्ये पाँच बाँचे । चारवटा छोरा एउटी छोरी सबै कोही भन्दा कम थिएनन् । सोमनाथ र भगवतीले सन्तानको शिक्षाको लागि के गरेनन् र ! पंडितको छोरो खान लाउन दुख थिएन । जता गए पनि सबैले आदित्य पंडितको छोरो भन्थें । मान नै राख्थे । सामाजिकआर्थिक प्रतिष्ठा पनि बाबुको कारणले प्रसस्तै थियो तर विवाह पछि भगवती र सोमनाथ  ती सब चटक्कै त्यागेर पहाड छोडे ।  पहाड छोडेको लगभग पैंतालीस वर्ष पछि  आर्जेको सम्पति ,श्रीमती र पाँच सन्तानलाई चटक्कै छोडेर संसारिक लिलाको मोहबाट विदा भए ।

यी सबै कुरा एकै पटक भगवतीले सम्झनै सक्दिन थिइन् । नसम्झेर पनि हुदैनथ्यो । उनको सबै छोराछोरीलाई बरावर अंश बन्डा गरेर मर्ने थोको पुरै नहुने होकी भनेर कहिलेकाही भर दिन नै रून्थिन । आफ्नु अंशमा परेको केही समाजमा दुख परेकालाई खर्छ गर्न र पतिको नाममा केही गर्न मन थियो । दुखले आर्जन गरेको उपभोग गर्न नपाउदा बेला बेला सारै रूने गर्थिन । कहिले काहिँ रूदारूदै प्रेसर बढेर अस्पताल लानु पर्थ्यो । ग्यास्टीक रोग बढेर अलसर भएर दशौं वर्ष देखि नित्य औषधी सेवन गर्थिन ।

sita ogha writer

साथमा हुने छोराको आम्दानी थिएन । खाने धान चामल बाहेक अन्य घर खर्च भगवतीले नै धानेकी थिइन् । वर्ष भरिको औषधी र नित्य स्वास्थ्य परीक्षण छोरीले गरिदिने गर्थिन । सम्पति भएर पनि गरीब हुनुपर्दो रहेछ भने लागेर पनि भन्न सक्दिन थिइन ।

आफ्नो जिन्सी सम्पती देखेर गाँउले छक्क पर्थे । बजार भरिको खाली जग्गा र ठूलो घर उनीहरूक कै थियो तर साथमा एक रूपैयाँ नियमित आमदानी थिएन । दानधर्ममा निकै अघि सर्ने भगवतीले रिन पान गर्दै थुप्रै मन्दिरमा सहयोग  गरेर  शिलालेखमा नाम लेखाइन । गाँउका हरेक सप्ताहमा पाँच हजार भन्दा कम भेटि राखिनन् तर पनि सन्तानबाट सुख पाइनन् । किन यस्तो भएको होला ? भनेर आफैले आफैलाई सोधि रहन्थिन । आफ्नै दशधारा दुधलाई सराप्थिन ।

आफुहरूले पैत्रिक सम्पतिमा लोभ नगरेको कारण जमिन जोड्दा जेठो छोरोको नाममा नै राख्न मन लाग्यो । अरू एकदुइ सन्तानको नाममा पनि थियो  तर निकै थोरै मात्रै ।  सोमनाथ हुँदै बराबरी भाग लागाइदिन खोजेका थिए तर द्वन्दको प्रभावले पुरै परिवार जुट्न सकेन । द्वन्द सकिएको वर्षको सुरूमै  बुढाले सदाकालागि छोडे । बुढाले छोडेको वर्ष पनि भगवतीले निकै दुख पाइन् ।  साथमा भएका छोरा बुहारीको हप्की दप्की र खाने बस्ने कुरामा देखाएको अपमान सम्झदा आत्महत्या नै गरौं कि जस्तो भएको थियो । तर पनि समालिएर नै अघि बढीन्

सहन गर्न कठिन भएपछि भगवती जेठो छोरा भएकै ठाँउमा गइन् । जादा आफुले सक्ने खानेकुरा सकि नसकी बोकेर  गइन ।  पुगेको दिन साँझ तिर नाति र नातीनीहरूसगँ बुढी खुबै रमाइन । स्कुलबाट फर्केको नातीसगैँ खेलिन नातीनीले गीत गाउदै नाँच्दै गरेर देखाउदा बुढीले तालि बजाएर मनोरञ्जन लिइन् । आफ्नो बालापनमा यति सुख थिएन भनेर नातीनीलाई सुनाइन । नातीनीलाई  राम्रो नाच्न तालिम लिनु है भनेर हौसला दिइन् । भगवतीले  साँझ परेको पतै पाइनन् ।

पुगेको दिन साँझमा मात्रै छोरा आइपुग्यो । कामबाट थाकेर आएको छोरो भनेर खास कुराकानी गरिनन् । तर घरबाट आफ्नै हातले पकाएर लगेको खुवा आफै मन तातो पारेर दिइन् । छोराले नबोलि खायो । आमातिर हेर्दै हेरेन । भगवती विहान सबेरै उठिन् । नुहाइ धुवाइ  लगायका नित्य कर्म सकेर पुजा गरिन् । फुल र प्रसाद नाति नातिनी र दुलहीलाई लगाई दिइन् र छोरालाई लाई दिन छेउमा गइन् ।

छोराले आँखा फर्काउदै पर्दैन लगाइ दिनु भन्यो । ”  बाबू तिमीहरू  घर जानै छाड्यौ  । गएर पनि आमा सम्झेर पसेनौ । म त्यति टाढाबाट  तिमीहरूलाई नै भेट्न घर सल्लाह आएकी छु  । विहान पुजा गरें फुलप्रसादलाई दिन खोज्दा रिसाउछस के तरीका हो यो ? ” ” एकछिन पछि अफिस हिडिहाल्छस । बेलुका थाकेको हुन्छस । बाबू म पनि धेरै दिन बस्दिँन । अंश बन्डा गर्नु पर्यो । ” त्यति भन्न नपाउदै जेठो छोराले आमालाई घुर्चियो । ठेल्यो ,पछार्यो ।

”  म गर्दिनँ अंशबन्डा । मेरो नाममा भएको मेरो हो । अरूलाई किन दिने ? तपाईंलाई किन  चाहियो । कमाउने खाने ! अब आइन्दा म सगँ अंशको कुरा नगर्नु , नबोल्नु भनेको हैन । किन फेरि त्यैहि कुरा ”  भन्दै भन्नू नभन्नु भन्यो । नजिकै भएकी बुहारी एक शब्द बोलिन । नाती र नातीनी  सानै थिए , आँखाभरि आँसु पारेर  निकै परबाट  टुलुटुलु हेरिरहे !

निकै बेर लगाएर बल्लतल्ल बुढी उठिन् । नाती र नातीनी बसेको ओछ्यानमा गएर भक्कानिएर रूइन । एकछिन पछि आँसु थामिए । धारामा गएर मुख धुइन् । लुगाफाटो झोलामा हालिन् । हिड्ने सुरसार गरेर नाति र नातिनीलाई पाँचपाँच सय निकालेर सुटुक्क हातमा हाली दिइन् ।  नातीले बाबुको मुखतिर हेर्दै सुटुक्क जमिट्रि बकस भित्र छिरायो । नातीनीले मुठीमा च्यापेर बिस्तारै पेन्टको खल्तीमा छिराई ।  भगवतीले झोला बोकिन र भनिन्, ”  बाबू अब म हिडे । मलाई नखोज्नु । म मरेपछि मेरो नाममा छाक नछोड्नु है । किरिया पनि बस्नु पर्दैन ”

बाटो भरि भगवतीका आँखा ओभाएनन् । बसका यात्रुहरूले के भयो आमा ? भनेर सोधे ,  ” मेरो आँखामा यस्तै आँसु बगिरहन्छ अनि पिर लाग्छ । मर्नु अघि अरूको  घरपरिवारको बोझ हुइन्छ कि भनेर हो नानी ।  ”  भनिन , मनको बह खोलेर समस्या समाधान हुने होइन भन्ने ठानेर कुरा चपाइन ।

बसबाट झरिन् र सरासर भगवती जिल्ला सदरमुकाम नजिकै आफन्तकोमा बाँस बसिन् । विहान चिनेको एक जना वकिलकोमा गइन् । सबै कागज पत्र बोकेरै हिडेकी भगवतीले कानुनी सरसल्लाह गरिन् र छोरासगँ अंशको दाबी गरेर अदालतमा मुद्दा दर्ता गरिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank