कथा- छड्के 

शनिबार, माघ २६, २०७५

- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र



“हैन, के गर्ने हो यसरी ? यो त अति भयो ! यो कस्ले बनाउने ? म त सक्दिन ! कसैलाइ घरको मतलव छैन ” भन्दै भवानीले धाराको टुटी सहितको ठल्लो फुत्तै सुुवासीको अगाडि फालिदिइन् ।

सुवासी कलेज जान स्कुटी निकाल्दै थिइन । मास्टर डिग्रीको क्लास , तयारी गर्दा गर्दै राती पनि सुत्न ढिलै भएको थियो । सासूआमाको तरीका देखेर तीनछक्छ परिन् । कलेज टाढै थियो । राजधानीको जाम अनि बिहानैको सासू बजैको वाण बोली ! निकै भावुक हुँदै सुवासी कलेज निस्किइन्  ।  ट्राफिकले जाम खोल्न आउदा, ” साइडमा जानुस त !” भनेको पनि सुनिनन् ।  त्यहि निहुमा ट्राफिक प्रहरीले अटेर गरेको भनेर पाँच सयको चिट थमाइ दियो र लाइसेन्स नै लियो ।

सुवासी झन दनावमा परिन । बेला बेला स्कुटीमै आँसु झार्दै कलेज पुगिन् । कलेजको गेटबाट भित्र छिर्दा  आफ्नो पिरियडको घन्टी लाग्न पाँच मिनेट मात्रै बाँकी थियो । सहकर्मी श्यामले गेटमै भने , ” आज त छड्के छ है ! ढिला गर्नु भयो कि कसो ? ” तर पनि मन समालेर नै सुवासी कलेज भित्र छिरिन । सबै प्राध्यापकहरू जम्मा हुदा क्याम्पस प्रमुखको कोटा कोचाकोच नै हुन्थ्यो ।सुवासीले घडी हेरिन । क्लास शुरू हुने केला भएको ठानिन र आ हाजिर त पढाएर आएर गरेपनि हुन्छ भन्दै क्लासतिर गइन । उनका तीनवटा कक्षाहरू लगातार थिए । सबै क्लास सकेर सरासर  प्रमुकको कोठातिर गइन् । हाजीर गर्न खोज्दै थिइन । क्याम्पस प्रमुखले भने, ”  म्याडम आज तपाईं छड्केमा पर्नु भयो । हाजिरमा रातो चिनो लाग्यो । आजको तलव काटीन्छ । अलिकति ढिला गर्नु भयो । के गर्नु मैले बचाउन सकिन । यस्तै छ यहाँको चलन !”

सुवासी बल्ल बोलिन, सर म त पाँच मिनेट अघि नै आएकी थिएँ नि । कसरी चिनो लाग्यो र ? यहाँ भिड थियो , छिर्नै नसक्ने ! एकछिन यताउता हेरें अनि क्लासमा गएँ । म क्लास भित्र छिरेपछि मात्रै मेरो पिरियड शुरूहुने घन्टी बजेको थियो तर पनि हाजीरीमा चिनो लागेको ! ”

” मेडम यहाँ काम हेर्ने चलन छैन नि त ! के गर्नु ? आज यस्तै भयो । मेरो बुतोले भ्याएन । के गरौ त ? हाजिरीमा रातो चिनो छ मेडम !” भन्दै क्याम्पस प्रमुख पन्सिए । सुवासीलाई रिस त उठेको थियो तर उनको सालिनताले रिसको कुनै रङ्ग नै देखिएन । बाहिर निस्कदै थिइन । फेरि श्याम सर भेटिए र भनी हाले , ” मैले मेडमलाइ बाहिरै भनेको थिए नि , भित्र छड्के छ भनेर । आखिर पर्नु भो नि हैन ।”

श्यामको कुरामा पनि आफू समयमा नआएको जस्तो आभास देखियो । मिल्ने साथीले त समय भन्दा अगावै आएको भनि देलान भनेको उनले पनि अप्रत्यक्ष रूपमा मलाइ नै दोषी बनाउने प्रस्तुति गरेको देखेर सुवासी छक्क परिन । ” विनाकारण हाजिरीमा रातो चिनो लागेको कुराले सुवानीलाई निकै निरास बनायो । काममा लगाव हुनेले कामलाई प्राथमिकता दिनुको अर्थ देखिएन ।

सुवासीले श्याम र आफुमा कामको र जिम्मेवारीको तुलना गरिन् । श्याम क्याम्पस प्रमुखको निकट छन । हरेक विषयमा सरसल्लाह गरे जस्तै गरि हस्तक्षेप गरिरहन्छन । क्याम्पस चिफलाई भेट्न आउने सबैलाई चिया मगाउदा सगै भएर चिया पिउथे  । सगैँ बसेर  कुरा थपथाप पार्थे । यसो घन्टा घन्टामा बाहिर निस्केर गेट सम्म पुग्थे  । कोही भेटि हाले भने भका नभाका  कुराले च्वास पार्थे ।

” ए भर्खर पो ! अरू कसैको नाम जोडेर उहाँ आउनु भएन । सर हाजीर कपिमा चिनो लाउन विर्सनु भयो जस्तो छ , लाई हाल्नोस न ! ” आदी कुरामा नै उनको जागिरको दैनिकी  जस्तो देखिन्थ्यो । तर पनि  प्रशासनको नजरमा उनी नै बफादार देखिन्थ्ये ।सुवासीलाई  लाग्थ्यो आफू जस्तो कामलाई प्राथमिकता दिनेहरूको त  आजकाल काम हैन जागिर नै धरापमा पर्छ । उस्तै परे स्पष्टीकरण नै दिनु पर्छ । ”

” इमान्दार र कामकाजीको जमाना कहाँ छ र ? ” भन्दै  सुवासी बाहिरीईन् ।”  बाहिर आएर निकै बेर सम्म चउरमा उभिइन । कार्यलयीय काममा समर्पित मानिसहरूको खास गफ गर्ने फुर्सदै हुन्न ।  त्यस दिन यसो मनको बह पोख्ने खालको कोही साथी भेटिनन् ।  कलेजबाट बाहिरिने बेलामा गेटको दाइले, मेडम बिस्तारै जानू होला ! आज कलेजमा छडके आएको रे ! को को सर छड्केमा पर्नु भयो कुन्नि ? हजुर त छिटै आउनु भएको थियो धन्न जोगिनु भयो ” भने ।

वास्तवमै उनले सहि भने तर उनको कुरा कस्ले सुन्छ र ? तल्लो स्तरको कर्मचारी , सोधखोज गर्न को आउने र ? सत्य र तथ्य खोज्न हामी  तलतिर हैन मास्तिर र मन परेकालाई  सोध्छौ । समदृष्टि नभएकाहरूबाट  न्याय कसरी पाइन्छ र जस्तो ठान्दै मन बुझाउने कोसिस गरिन् । आफै आफै  हामीहरूले अरूलाई त न्याय गर्न जान्दैनौ । आफुलाई हुने र गरिने अन्याय पनि बुझ्दैनौ जस्तो मानिन र गेटको दाइलाई ”  हो त नी दाइ ! तपाइले ठिक भन्नू भयो ” भन्दै मुसुक्क हाँसिन । भए भरको पीडा त्यहि संवादमा विर्सेर घरतिर लागिन् ।

सुवासीले आज कलेजमा चिया खान पनि विर्सिइन । विहान पनि पानी सिवाय केही खाएकी थिइनन् । विहानको सबै काम गरेर , समयमै कलेज भित्र छिर्दा पनि छड्केमा परेकीले  अझै मन दुखेको थियो । अरू साथी भाइहरूबीच त्यो विषयमा संवाद पनि हुन पाएन । घर पुग्न हतार थियो ।  विहान सबैलाइ नास्ता तयार पारिदिएर  आफुले खान नभ्याएकोले हतारिदै भोकै कलेज हिडेकी सुवासीले बाटोबाटै कुखुराको मासु र खसीको मासु किनिन् ।

कुखुराको मासु  सबैको प्रिय थियो । तर सासुले कुखुरा नखाने भएकोले खशीको पनि लान्छु भनेर सासुको लागि नै भनेर एक केजी नै दिनु है  भनेर पसलेलाई भनिन् । कार्यलयीय समय डल्कीसकेकोले जाम पनि कम थियो । सुवासी चाडै घर पुगिन् ।  लुगा फेरिन र हात खुट्टा धोएर सोझै भान्सातिर लागिन । भोक निकै लागेको आभास भयो र चियाको तरखर गरिन्।  सासू पनि चियाको निकै पारखी थिइन । त्यसैले घरमा भएको सासू र आफुलाई दुई कप दुधकै मात्र  चिया पकाइन ।

आमा चिया खाँउ है भनेर चिया दिन गएकी सुवासीलाई  ”  तिमी नै खाउ भो म खान्न । म अब जान्छु । यहाँ बसेर के गर्नु  ? आफ्नो घरमा काम जति त्यसै छ । अरूको मोजमस्ति देखेर आफुलाई हुन्न । घरको धारा भाँचिएको महिनौ भइसक्यो । कसैलाई मतलव छैन । ” ” घरको वास्ता छैन । जसले जे गरे पनि हुन्छ । अर्काले कमाएको कसलाई माया हुन्छ र ? ” आदि भन्दै सासुले भित्र बाहिर गरेको देखेर सुवासीलाई अचम्म लाग्यो । ”

सुवासीका पतिले एक महिना अगाडि मात्रै  घरको मर्मत सम्भार गर्नु पर्छ होला भनेर दुइलाख छोडेको,पन्ध्रदिन अघि एकलाख पठाएको सम्झिन । जाबो धारालाई त त्यतिका पैसा  लाग्दैन थियो । के मा खर्च भयो र ? भन्ने सोचिन् ।  मेरै भए पनि घरपरिवारको खर्च त गर्नै पर्छ । आ !  उहाँकै छोराको कमाइ आफ्नै आमालाई दिएको के सोध्नु है ! उमेर ढल्के पछि न आफू पनि यस्तै हुने हो कि भनेर सोध्ने मनसाय पनि बदलिन ।

” खाना पाक्यो आमा खान आउनुस न भन्दै , सुवासीले सासुलाई बोलाइन । ” खान मन पनि त्यति छैन त्यै पनि बाच्नका लागि एक गाँस त खानु पर्यो ”  भन्दै थनथनाउदै सासू खाना खान टेवुलमा बसिन् ।  ” तिमीलाई थाहा हुदाहुदै कुखुराकै मासु ल्यायौ हैन, मलाई खशीको मासु मन पर्छ भन्ने थाहा पाएर पनि तिमीहरू कुखुराको नै ल्याउछौ भन्दै फेरि फत्फताइन ।

सुवासीले भनिन्, ” हैन आमा हजुरलाई मैले खशीकै मासु ल्याइ दिएकी छु । किन रिसाउनु भएको ?  मैले त बुझिन नि । छोराको अगाडि सबै ठिक छ बाबू । गर्दै छु , तिमीले दिएकै छौ नि ! भन्नु हुन्छ । ”   ” तर म मात्रै भए भने नाना भातिका कुरा निकाल्नु हुन्छ । किन हो र हजुरले यस्तो गर्नु भएको ? मैले त केही भनेकी छैन । व्यवहारमा पनि तलमाथि गरेकी छैन । त्यै पनि रिसाउनु हुन्छ मैले त हजुरको व्यवहार बुझ्नै सकिन ! ”

सुवासीले त्यति के भने भनेकी थिइन ! बुढीले त जात्रै गरिन् , ” म बुढीलाई अहिले देखि तिमीहरूले हेप्ने ? मैले कसरी घर व्यवहार धानेर यहाँ सम्म ल्याएँ होला ? ” “कति दुख भयो थाहा छ ? म एक जनाले के गरिन परिवार चलाउनलाई भन्दै उठ्दै बस्दै गरिन । झडै एक घण्टा त्यसै गरि भत्फताउदै झण्डै आधा जति खशीको मासु पनि सकिन् ।

सुगर,प्रेसर,युरिक एसिड,थाइराइ सबै रोगले बेला बेला निकै सिकिस्त हुने सासु यस पटक पनि प्रेसर र सुगरले चापेर नै प्लेनबाट काठमाडौं बोलाइएको थियो ,त्यो पनि बुहारीले नै हतारिँदै ।  सुवासीले प्रेम विवाह गरेकी भएर घरका सबैलाई निकै माया गर्थिन । जन्म घर भन्दा पनि कर्म घरलाई खुसी पारे अहिलेका पति आफ्ना खसम खुसी हुन्छन भन्ने सुवासीलाई लाग्थ्यो ।

शहरमा हुर्केकी सुवासी एक्ली छोरी र निकै लाड पियारमा हुर्केकी  भए पनि मानवताले ओतप्रोत स्वभावका कारण सबैकी प्रिय थिइन । सुवासीले घरमा पनि कोहि कसैलाई असमान व्यवहार कहिल्यै गरिनन् । आफ्नो र पतिको कमाइको चाँजो नपर्दा आमाले बनाएर दिएका गहना झण्डै दस तोला जति बेचिन र घर चलाइन । यहिले  भेटे पिछ्छे सासुले यस्तै छेडछाड गर्छिन् ।

तर अहिले यी सबै व्यवहारहरू  बुढीले बिर्सिछन् । के को रिस हो बरू स्पष्ट  भन्यो भने सजिलो हुने थियो ।  यस्ता तिखा र छड्के वचन अब कति सहनु भनेर मन निकै अमिलो पारिन् । सहन निकै गार्हो भयो । केही भनेर मनको बह पोखौ जस्तो त लाग्यो । बिरामी सासुलाई कसरी भन्ने भनेर चुपै लागिन् । सरासर छिडीमा बसेकी सुवासी चोटाको आफ्नो कोठा बन्द गरेर भक्कानिएर रूइन । आवाज बाहिर निस्किएला भनेर तौलियाले मुख टप्प पारेर रूएकी सुवासीको बेला बेलाको घुक्क घुक्क बाहिर सुनिन्थ्यो । तर कसैले के भएछ भनेर सोध्न आएन ।

बच्चामा कहिलेकाही आमासगँ घुर्कि देखाएर कोटा भित्र जादा जाँदै आमाले छोरी, ” तिमी किन रिसाएकी मामुसगँ सरी ल , छोरी !  भनेको सम्झना आयो । माइती र घरको तुलना गरिन् । जन्म र रक्त सम्बन्ध मित्रको अपनत्वले सहि नसक्नु भयो ।  अरूले थाहा पाउलान भनेर ट्याइलेट तिर छिरेर निकै बेर बह बोखिन । मन थामेर आफुमाथि घरेलु हिंसा भइरहेको कुरा महसुस गरिन् ।

यस्ता मनोबैज्ञानिक रूपमा हिंसा भइरहेका कति म जस्तै महिलाहरू होलान् भन्ने ठानिन् । किन  छोरालाइ नभनेर बुहारी माथी यस्तो गरिन्छ ? भनेर आफैलाई प्रश्न गरिन् । यसले आफुलाइ बिस्तारै निरास बनाएको कुरा महसुस गरिन । नबोल्नु पनि अपराध हो भन्ने कुरा थाहा पाएर पनि बोल्न नसक्ने अवस्थाहरूको विश्लेषण गरिन् । सुवासी घर सुन्दर र सुखी बनाउन चाहान्थिन् । आफुले मन परापर गरेर विवाह,  बोल्दा घरै विग्रला कि जस्तो लागेर चुपचाप भोलिको क्लासको तयारीतिर लागिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank